अन्तर्बोधको अन्तःशक्ति

0
42

१ उठान

कवि बिन्दु दहाल ‘मूकदर्शक’ (२०२३)द्वारा रचित कविता सङ्ग्रह हो– अन्तर्बोध । शिक्षण पेसामा आबद्ध उनी साहित्यिक विधाका कथा, कविता र हाइकु लेखनमा सक्रिय छन् । त्यसमा पनि शास्त्रीय छन्दका कविता रचना चाहिँ उनको सबभन्दा बलियो चिनारी बनेको छ । साहित्य क्षेत्रका विभिन्न संघ–संस्थामा सक्रिय रहेका उनले यसअघि नै पाँच वटा कृतिको रचना प्रकाशन गरेका छन् । तसर्थ यो उनको छैटौँ कोसेली हो । प्रस्तुत कृति मिति २०८०÷०८÷१६ गतेका दिन दमकमा विमोचित भएको थियो ।

१.१ संरचनात्मक स्वरूप

छरितो आकारको प्रस्तुत कृति २९४ पृष्ठको आयाममा संरचित छ । इन्दिरा दहालद्वारा प्रकाशित यस कविता सङ्ग्रहमा कवि बिन्दु दहालको ‘मनका कुरा’ बाहेक कसैको भूमिका छैन । यसमा दुई सय ८७ वटा कविताहरू संग्रहित छन् । यहाँका हरेक कविताहरू छन्दको संरचनामा बाँधिएर रचना भएका छन् । कृतिमा विशेषतः शास्त्रीय छन्द अन्तर्गत वार्णिक, मात्रिक छन्दको प्रयोग पाइन्छ भने लोकछन्दभित्रको झ्याउरे छन्दलाई पनि कविले समेटेका छन् । मात्रिक छन्दका पादाकुलक, चौबोला छन्दको प्रयोग भएको यस सङ्ग्रहमा वार्णिक छन्दको प्रयोगाधिक्य पाइन्छ ।

कविले यहाँ वार्णिक छन्दको त बाढी नै चलाएका छन् र अधिकाधिक छन्द प्रयोगगत विविधताका दृष्टिले यो कृति एउटा विशिष्ट इतिहास निर्माण गर्न सफल बन्ने निश्चिित छ । एउटा कविता सङ्ग्रहभित्र फरक–फरक दुई सय २४ हाराहारीका छन्दको प्रयोग गर्नु भनेको सामान्य चर्चा मात्र गरिने विषय होइन । हरेक छन्दोबद्ध रचनामा कविको कवित्व उत्तिकै ललित्यपूर्ण, गम्भीर, भावमय, सरस र पठनीय बनेर देखा परेको छ ।

कम अक्षरको दुई अक्षरे ‘स्त्री’ छन्द र बढी अक्षरको अठ्ठाइस अक्षरे ‘तिलका’ जस्तो शास्त्रीय छन्दको प्रयोग यस सङ्ग्रहको उच्चतम प्राप्ति हो । कविले यहाँ समस्यापूर्ति शैलीका ४५÷४६ वटा कविता समावेश गरेका छन् भने अन्य कविता समस्यापूर्तिभिन्न छन् । शार्दूलविक्रीडित, मन्दाक्रान्ता आदि केही छन्द दोहोरिए पनि यामिनी, प्रेमाश्रु, इन्द्राणी, विद्रुम जस्ता पुनरावृत्त नभएका छन्दमा अधिक कविताको रचना भएको पाइन्छ । एउटा रोचक कुरा त छन्दोबद्ध रचनाका दौरानमा कविले वार्णिक छन्दभित्र एउटा नयाँ छन्दको आविष्कार गरेका छन् । म, भ, य गण र एउटा गुरु हुने संरचनाको छन्द उनले जन्माएका छन् । यसलाई कविले मौलिक छन्द भनेका छन् तर यसलाई ‘बिन्दु’ छन्द भनिदिए हुने देखिन्छ । त्यसैले नेपाली कविता परम्परामा छन्दगत विविधता यस कृतिको ऐतिहासिक प्राप्ति हो ।

१.२ विषय सन्दर्भ

विषयगत विविधता अन्तर्बोधको चर्चाको अर्को पाटो हो । यहाँ प्रयुक्त विषयगत वैविध्यले समग्र सङ्ग्रहलाई निकै रोचक र फरक स्वादको बनाएको पाइन्छ । विषय सन्दर्भलाई आधार मान्दा कविको झुकाव मूलतः प्रकृति चित्रणमा रहेको देखिन्छ । उनले प्रकृतिलाई आनन्दको स्रोत मान्दै हिमाल, पहाड, तराई, वन, नदी, पशु, पक्षी, जडीबुटी जस्ता सूक्ष्म तथ्यको वस्तुपरक चित्रण गरेका छन् । प्रकृतिको खास वैशिष्ट्यमा आधारित ऋतुवर्णन वसन्त, वर्षा, हेमन्त, शिशिरको चर्चा गर्दै कतै उनको मनमय प्रस्तुति पनि पाइन्छ । यस सङ्ग्रमा देशभक्तिको भावना पनि जीवन्त बनेर आएको छ ।

इतिहास चेतना, वीरताको गौरव गान, युवा पलायनको विरोध, पोशाक सम्मान, छिमेकीप्रति आशंका, झन्डा, प्रकृति, भूगर्भ गौरव, मुलुकको विपत्तिमा चिन्ता, नेपाली जातिप्रति प्रेम, भाषाप्रेम, एकतामा जोड जस्ता पक्षबाट देशभक्तिको धार प्रकट भएको छ । यहाँ कवि दहालले आफ्नो कर्मवादी चिन्तनलाई निकै जोडदार रूपमा उठाएका छन् । आलस्य त्यागी कर्मको पीयूष पिउन आग्रह गर्दै स्वाभिमानी बनेर हरेक नेपालीले कर्मबाटै अग्रगमनको आधार निर्माण गर्नुपर्ने कुरा उनले सङ्केत गरेका छन् । ईश्वर स्तुतिलाई मिथ्या ठान्दै उनले श्रमरूपी कर्मको पसिनामा जीवन फुल्छ भन्ने मान्यतामा भाग्यवादको विरोध र कर्मवादी चेतनाको जागरण गरेका छन् ।

यसै कर्मशील उदात्त चरित्रमा उनले जीवनवादी सोचको सम्प्रेषण गरेका छन् । सामाजिक, राजनीतिक र मानवीय विकृति, विसङ्गतिको विरोध गरिएको यस सङ्ग्रहका कवितामा उनले गरिबप्रति सहानुभूति प्रकट गर्दै कतिपय मानिसका स्वार्थी, घुसखोर र भ्रष्ट चरित्रप्रति कडा व्यङ्ग्य कसेका छन् । सहिदप्रति नतमस्तक बनेका कवि दहाल मातृमहिमा, धर्तीमहिमा, पुस्तकमहिमा, शिक्षामहिमा, कलममहिमा, प्रेम र भाषामहिमा जस्ता महिमा कविताका लागि पनि अब्बल बनेर यहाँ देखा परेका छन् ।

अन्तर्बोधमा मानवीय अन्तर्कलहलाई कविले निकै निन्दा गरेका छन् । बस्ती वियोग, मदिरा प्रभाव, धनसँग जोडिएको स्वार्थान्धता र कुलतको निन्दा गर्दै उनले हरेक मानिसलाई सभ्य समाजको निर्माणमा जुट्न आग्रह गरेका छन् । कविले यहाँ सामाजिक जनजीवनमा व्याप्त शोषण उत्पीडनको सूक्ष्म निरीक्षण त गरेका छन् । तर, शोषणतन्त्रको जालो भेट्ने गरी भित्र पस्न सकेका छैनन् । विद्रोहलाई उच्चता दिन नसके पनि शालीन विद्रोह भने उनका कविता पाइन्छ नै । श्रमिक कवितामा विद्रोहको फिलिङ्गो भेटिन्छ । उनको विद्रोही शैलीलाई जागरणको चेतनाले यहाँ कमजोर बनाएको पाइन्छ ।

यसै सन्दर्भमा उनले सबै शोषित, श्रमिक, किसान वर्गलाई जागृतिका निम्ति आग्रह गरेका छन् । कविले कतै कतै नैराश्य प्रकट गर्दै कुण्ठा, दुःख र निरुपाय अवस्थाको चित्रण गरेका छन् । उनका कविताको मूल विषय अन्तर्गत मानवतावादी चेतना समेत व्याप्त बनेर आएको छ । उनी मानवहित र मानव कल्याणका निम्ति जागरणको शाब्दिक सहनाई बजाउन आतुर भएको पाइन्छ । कतिपय कवितामा रतिरागात्मक चेतनाको पनि उल्लेख गर्दै प्रेमिल विषयवस्तुलाई कविले निष्ठा साथ अभिव्यक्त गरेका छन् ।

१.३ अलङ्कार र रस

अलङ्कार र रस प्रयोगका दृष्टिले यो कृति निकै चर्चायोग्य छ । यहाँ त्यसको सङ्केतसम्म गरिन्छ । यसमा अर्थालङ्कारका व्याजोक्ति, व्याजस्तुति, अर्थापत्ति, सन्देह, समासोक्ति, रूपक, उपमा, काव्यलिङ्ग, र शब्दालङ्कार अन्तर्गत अनुप्रासका विविध स्वरूपको प्रयोग पाइन्छ । रसअन्तर्गत वीर, करुणा, शृङ्गार, रौद्र जस्ता रसको प्रयोग पाइन्छ ।

१.४ सारसङ्क्षेप

समग्रतामा कवि बिन्दु दहाल ‘मूकदर्शक’को अन्तर्बोध कविता सङ्ग्रह देशभक्ति, प्रकृति चित्रण र कर्मवादको संयोजनले पठनीय छ । यो श्रमप्रति सम्मान र बेथितिप्रति शालीन विमति प्रकट गरिएको कृति हो । छन्दज्ञान र प्रयोग सिक्नेलाई यो कृति ऐतिहासिक दस्ताबेज हो । पौराणिक, ऐतिहासिक, सामाजिक र प्राकृतिक स्रोतबाट विम्बप्रतीकको चयन गरिएको यो कृति परिष्कारवादी शैली र आदर्शवादी विचारले सज्जित छ । त्यसो त यहाँ धेरै ठाउँमा यथार्थको गहिरो निरीक्षण पनि पाइन्छ र कतै स्वच्छन्दताको उन्मुक्तता पनि पाइन्छ ।

नैतिक मूल्यमान्यतामा जोड दिइएको यस कृतिमा प्रकृतिको प्रयोग परम्परागत बनेर आएको छ । अर्थात् यहाँ समकालीन पर्यावरणमैत्री लेखनको प्रयोग हुन सकेको छैन । आधुनिक नेपाली कविता परम्पराको इतिहासमा यसको स्थान छन्दप्रयोगको विचित्रमय विविधताका आलोकमा विषयगत अनेकता र शालीन, सुललित लेखन, सुबोध्य र रुचिपूर्ण आकर्षण जस्ता दृष्टिले उच्च रहन सक्ने निश्चित छ । यसैले कवि बिन्दु यहाँ सिन्धुका रूपमा छचल्किएका छन् । छन्दोबद्ध कविता रचना परम्परामा यो कृति २०८० सालको उच्चतम् प्राप्ति हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here