नेपालवाद नेपालको समाधानको बाटो

२४ बैशाख २०८१, सोमबार मा प्रकाशित

नेपाली राजनीतिको सबैभन्दा दुःखलाग्दो कुरा भनेको नेपालमा एक सय चार वर्षे जहानियाँ राणा शासनको समाप्तिपछि कुनै पनि सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन् । सदैव मुलुक अनिर्णीत र अनिश्चित भविष्य बोकेर हिँड्न अभिषप्त छ । सँगसँगै आधुनिकतामा प्रवेश गरेका र प्रजातान्त्रिक राज्यव्यवस्था आत्मसात गरेका भारत, चीन, दक्षिण कोरिया, मलेसिया, सिंगापुर आज कहाँबाट कहाँ पुगिसके, नेपाल भने दुःखको भुँवरीमा जेलिन बाध्य छ ।

राणा शासनपछि २००७ सालदेखि २०१५ सालसम्मको सङ्क्रमणकालमा मात्र होइन, जनमतबाट २०१६ सालमा गठन भएको वीपी कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई सैनिक ‘कू देताँ’ अर्थात् तख्ता पलटको कोपभाजनमा पारेपछि एकछत्र शासन गर्ने राजतन्त्रात्मक एकदलीय पञ्चायती व्यवस्थाको सम्पूर्ण कार्यकालमा पनि कुनै पनि प्रधानमन्त्रीले आफ्ना योजना र परिकल्पनाका साथ काम गर्न पाएनन् । राजाको गुलामी र त्रासमा काम गर्नुपरेको थियो हरेक पञ्चायती प्रधानमन्त्री र मन्त्रीहरूले ।

सबै प्रधानमन्त्रीहरूले निगाहाका भरमा छोटो–छोटो अवधि शासन गर्दै कुर्सीबाट थाहै नपाई वा अपमानजनक तरिकाबाट हटाइनुपरेको तीतो इतिहास छ । यस्तो राजनीतिक अस्थिरता र अस्तव्यस्तताको अन्त्य गर्दै मुलुकमा नेपालपक्षीय, जनपक्षीय काम गर्न २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपाले दुःखी, दरिद्र नेपालीको मुहारमा मुस्कान ल्याउन सकियोस् भन्ने महान सोचका साथ आफ्नो पार्टी घोषणापत्र सार्वजनिक गरेको थियो । त्यसै गरी, २००५ सालमा उदार लोकतन्त्र र प्रजातान्त्रिक समाजवादको पक्षधर दावी गर्दै नेपाली काङ्ग्रेस स्थापना गरिएको थियो ।

जनताबाट २०४६ सालको प्रजातन्त्रको पुनःस्थापनापछि २०४८ साल र २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसलाई आरामदायी बहुमत दिइएको थियो भने जनताले ठूलो आशाका साथ २०६४ सालको संविधानसभाको निर्वाचनमा दश वर्षे जनयुद्धको राप र तापबाट सतहमा आएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टी नेकपा (माओवादी) लाई प्रत्यक्षतर्फ स्पष्ट बहुमत प्राप्त भएको थियो । तर, जहिले पनि दिने भनेको जनताको भागमा परेको छ भने जनताको मतादेशलाई एमाले र मालेको अवतारमा होस्, चौरहत्तरे र छत्तीसेको आवरणमा अथवा नागरिक सर्वोच्चता ठूलो कि न्यायिक सर्वोच्चता ठूलोको बखेडामा होस्, व्यक्तिगत र गुटगत स्वार्थमा मतादेशलाई दुरूपयोग गर्दै विश्वासघात नेतृत्व तहबाट हुँदै आएको छ । आन्तरिक वा वाह्य शक्तिकेन्द्रको प्रत्यक्ष वा परोक्ष योजना र दबाबमा जनअभिमतलाई कुल्चँदै जनअपेक्षा माथि बर्फिलो पानी खन्याउने उपक्रमको पुनरावृत्ति निरन्तर भइरहेको छ ।

हामी हाम्रो देशको विकासलाई सिंगापुर वा दक्षिण कोरिया वा मलेसियाको जस्तै हाराहारीमा पु¥याउन चाहन्छौं । तर, त्यहाँबाट हामी सिक्दैनांै र सिकेका विषयवस्तुलाई नेपाली माटो अनुरूप लागू गर्न आवश्यक गृहकार्य गर्दैनौं । नेपालको संविधान २०७२ जारी भएपछिको पहिलो आम निर्वाचन, प्रदेश तह र स्थानीय तहका निर्वाचनमा मुलुकका बहुमत तह, प्रदेश र संसदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको थियो ।

त्यही सहकार्य अन्ततः पार्टी एकतामा रुपान्तरित हुन पुग्यो र नेपालको इतिहासमा पहिलो पटक आरामदायी बहुमत साथ जनअनुमोदित भएर जनताको अभिमतबाट श्रेष्ठता हासिल गरेर मात्र कम्युनिष्टहरुले शासन गर्नुपर्छ भन्ने शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने धार र बन्दुकको बलमा टिकेको राज्यसत्तालाई बन्दुककै बलमा परास्त गरी कम्युनिष्ट शासन स्थापना गर्नुपर्छ भन्ने सशस्त्र संघर्षमा विश्वास गर्ने मुख्य धारका बीच एकता सम्पन्न भई नेपाली कम्युनिष्ट आन्दोलन तथा नेपालको राजनीतिकै मूलधारका रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्न सफल भयो । तर, केही समय व्यतीत गरेपछि नेकपाभित्र विवाद, विग्रह र विखण्डनको अभ्यास शुरु भयो ।

आन्तरिक किचलो सैद्धान्तिकभन्दा पनि असैद्धान्तिक विषयवस्तुमा केन्द्रित थियो र कतिपय नेताहरु यो घरझगडालाई सिद्धान्तको माला पहि¥याएर चिनियाँ वा रुसी कम्युनिष्ट पार्टीहरुमा भएका विवाद र महाविवाद जसरी प्रस्तुत गर्न कोशिस गरे । एकताको ऊर्जा बचाउन आवश्यक सङ्क्रमणकालीन कार्यदिशा, नीति तथा सहमति र सहकार्यको आधारमा चल्ने सम्झौता लत्याउदै अल्पमतीय लघुताभाषबाट ग्रस्त हुने र बहुमतीय अहंकारको अग्निमा रापिँदै विजयको डङ्का पिट्ने दुर्भाग्यपूर्ण अवस्था सृजना भयो । यो भन्दा पनि दुर्भाग्यपूर्ण कुरा यो किचलो पार्टी हित विपरित छ भनेर शिर ठाडो पारेर सच्चाइ बोल्ने कार्यकर्ता हराउँदै गए । सङ्कटका बेला पार्टी एकता बचाउन इमानका साथ सत्य बोल्नेहरू पनि न्यून संख्यामा भए किनभने बहुसंख्यामा कार्यकर्ता गुटउपगुटको उपग्रह बनेर सही र गलत छुट्याउन नसक्ने भएका थिए ।

सपना एउटा काम अर्कै । यो कुरा नेपाली जनताको चाहना होइन । यो किचलो एकताबद्ध पार्टीलाई तहसनहस बनाउँदै राजनीतिक अस्थिरता सिर्जना गराउन गरेको चलखेललाई मद्दत गर्नु हो भनेर नबुझ्नु मुर्खता शिवाय केही थिएन । जसरी राजा वीरेन्द्र र उनको वंश विनाश गर्न राजदरबारभित्रकै अन्तरविरोधलाई उपयोग गरियो, त्यसरी नै मुलुकको राजनीतिक स्थिरता बिथोल्न र सङ्क्रमणको चक्रव्यूहमा मुलुकलाई फँसाएर आफ्ना अभिष्ट पूरा गर्न कम्युनिस्ट पार्टी एकतामा दरार पैदा गर्ने र मुलुकको स्थायी सरकारको रूपमा रहेको कर्मचारीतन्त्रलाई संक्रमणको मलिलो जमिन प्रदान गरेर विकास निर्माणका काममा ढिलासुस्तीको श्रृङ्खला शुरु गर्ने कुचेष्टा भयो, जुन दुःखद् पक्ष थियो । दुई तिहाइ हाराहारीको मतादेश र राजनीतिक स्थिरताको जग बसाल्ने जनादेश प्राप्त नेकपाको सरकार आफ्नै पार्टीका कारण जनअपेक्षाको सम्बोधनमा असफल भएर जनताबाट दण्डित पनि भयो । त्यसको मार नेपाली जनतालाई परिरहेको छ । त्यसपछि अस्थिरताले टाउको उठाएको छ ।

एउटा प्रधानमन्त्रीलाई असफल बनाउनु भनेको मुलुक असफल हुनु हो । हातगोडा बाँधेर सरकारलाई दौड प्रतियोगितामा भाग लिन बाध्य पार्नु गलत हो । सरकारलाई सहमति र सहकार्यको मार्गादेश अनुरूप पार्टीहरूले स्पष्ट दिशानिर्देश गर्नुपर्नेमा सरकार ढाल्ने र बनाउने खेल चलिरहेको छ । नेकपाका विभिन्न घटकको मात्र होइन, मुलुकको सबैभन्दा पुरानो भनी दाबी गर्ने पार्टी नेपाली कांग्रेसको पनि अवस्था उही छ । सरकार बनाउने र भत्काउने खेलाडीको रूपमा अग्रिम मोर्चामा आफूलाई उभ्याएर मुलुकमा अस्थिरताको बीऊ रोप्ने काम सबैभन्दा बढी नेपाली कांग्रेसबाटै भएको छ ।

आजको मूल प्रश्न भनेको विश्वकै उत्कृष्ट मानिएको नेपालको संविधान २०७२ ले देखाएको समाजवादउन्मुख राज्यव्यवस्थाको स्थापनाका लागि आवश्यक उपचरणका निम्ति आवधिक रूपमा पूरा गर्नुपर्ने कार्यभारका के योजना हुन सक्छन्, आर्थिक, सामाजिक, प्रशासनिक, शैक्षिक लगायतका क्षेत्रमा कस्ता योजना आवश्यक पर्छन् र ती रणनीतिक तथा कार्यनीतिक योजनालाई कार्यान्वयन गर्न कस्तो संरचना, संगठन र कार्यक्रम चाहिन्छ जस्ता मूलभूत प्रश्नको उत्तर मुलुकले खोजिरहेको छ ।

यस सम्बन्धी आवश्यक चिन्तन मुलुकको विकास र समृद्धि चाहनेले गर्न आवश्यक छ । प्रचण्डको सरकार बन्नु नै नेपालमा समाजवादी सत्ता स्थापना भएको मान्न सकिँदैन । आजको सरकार कम्युनिष्ट सत्ता पनि होइन र कम्युनिस्टको एकलौटी सरकार पनि होइन । राजनीतिको उद्देश्य सत्ता प्राप्ति मात्र होइन, सत्तामार्फत मुलुकको सकारात्मक रूपान्तरण हो । नेतृत्वको आँखा सिंहदरबारको कुर्सीमा मात्रै पर्नु हुँदैन । जुन पार्टीसँग समाजवादको आधार खडा गर्ने वैचारिक अस्त्र छैन, ठोस योजना छैन र आलोचनात्मक चेत भएका कार्यकर्ताको दस्ता छैन, त्यसले समाजवादको स्थापना गर्ने कुरा फगत भ्रम हो, सरकार परिवर्तन गर्नु भनेको कुर्सी साटासाटको तयारीको नौटंकी मात्र हो ।

यो सच्चाइलाई प्रधानमन्त्री हुनेले बुझ्न जति जरुरी हुन्छ, त्यति नै र अझ भन्ने हो भने अझ बढी सबै पार्टीका नेता र कार्यकर्ताले बुझ्न जरुरी छ । हरेक पार्टी एकता, संघर्ष र रूपान्तरणको अविच्छिन्न श्रृङ्खला आत्मसात गर्दै आत्मगत र वस्तुगत घटना रूपान्तरणको दिशामा अघि बढ्ने हुन्छ । यही इतिहासका घटना तथा परिघटनाहरुको सच्याइलाई बुझेर द्वन्दवादको आयामबाटै सबै विषयको छिनोफानो हुन्छ, यो आन्दोलनको अभिष्ट हो । तर, खास–खास घटना परिस्थिति अथवा सङ्क्रमणकालीन अवस्थामा निश्चित समयको लागि सहमति द्वन्द्ववाद अर्थात् निष्कर्ष र निर्णयको स्रोत पनि हो भन्ने भुल्नु हँुदैन । यिनै शाश्वत नियमहरुको जगमा टेकेर मुलुकको समस्या हल हुने निश्चित आधार निर्माण गर्न आवश्यक छ ।

नेपाल पक्षीय, नेपालवादी सोच, चिन्तन र कार्यक्रमले मात्र मुलुकको भलो गर्ने हो । हाम्रा देशका नेतागणको बीचमा देखापरेका विवादका आत्मकेन्द्रित र अवसरवादी सीमाहरु छरपष्ट भएका छन् । जुनसुकै कोणबाट सृजित विवादहरुको उचित समाधान सहमति कै विधिबाट गर्नुपर्ने प्रस्तावना तात्कालिक सच्चाइ हो । राजनीतिशास्त्रले कमजोरीबाट शिक्षा लिन र इतिहासले सार्वभौम नियम आत्मसात गर्न उत्प्रेरित गर्छ ।

मुलुकको राजनीतिलाई सही दिशानिर्देश गर्न दीर्घकालीन प्रकृतिको स्पष्ट र मूर्त राष्ट्रिय मार्गचित्र कोर्नुपर्छ र त्यसको आलोकमा सरकारले जनताको काम गर्नुपर्छ । यो युगीन दायित्वबाट नेतृत्व विमुख हुँदैछ । विचार, सिद्धान्त, दर्शनमा बहस छलफल, मतमतान्तर, वाद विवाद, खण्डनमण्डन हुनसक्छ । तर, निहित स्वार्थपूर्तिका लागि सिङ्गो मुलुकलाई षाडयन्त्रिक दुश्चक्रमा फँसाउने कमजोरी गर्नुहुँदैन । जिम्मेवारीबोध र जवाफदेहिताका साथ सिर्जनात्मक र सकारात्मक भूमिका खेल्दै प्रतिशोध तथा निषेधको राजनीति होइन सहमति र सहकार्यको समभावको बाटो अवलम्बन गर्दै इतिहासले सुम्पेका युगीन अभिभारा पूरा गर्ने मार्गबाट नेतृत्व विचलित हुनुहुँदैन ।

अब गुटको नेता होइन पार्टीको नेता बन्न र अन्ततः मुलुकको नेता बन्न आवश्यक छ । राजनेता बन्न सजिलो छैन । जनताजनार्दनको मनमा सजिन सिंहदरबारको भित्तामा फोटो झुण्ड्याएर हुँदैन । गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी प्रधानमन्त्री वा राष्टूपति भएनन्, तर उनीहरु जनजनका मनमनमा छन् । कति प्रधानमन्त्रीको नाम पनि जनतालाई स्मरणमा छैन । लोभलालच, महत्वाकांक्षा र कार्यशैलीका कारण विवाद, मनमुटाव वा स्वार्थ बढेर गएको हो । एकले अर्काको काँधबाट विरोधीतर्फ बन्दुक पड्काउँदै अर्को पक्षलाई तर्साउने, जुधाउने र जुधाएर लाभ लिने दाउपेचले मुलुक बन्दैन । अब सबैले जनमतको अपेक्षा वस्तुगत परिस्थितिको ठोस विश्लेषणका साथ राष्ट्रिय मार्गचित्र अनुरुप उचित विचार, सिद्धान्त, कार्यदिशा, कार्यनीति र रणनीतिको विकास जरुरी छ । अविवेक, अधैर्यता, आघात, असहिष्णुता, गैरजिम्मेवारी, असहयोग र विमति आजका हाम्रा शत्रु हुन् । हामी पराइ हावाबाट जोगिन आवश्यक छ । विकास र समृद्धिको लामो यात्राका यात्रीहरुलाई दिग्भ्रमित बन्ने छुट छैन । अहंकारको ऐठन र उल्का वर्षाबाट जोगिन आवश्यक छ ।

निष्कर्षमा भन्ने हो भने हाम्रा अग्रजका सोचले उज्यालो दिने हो, विश्वास दिने हो, साहस दिने हो, तर अगाडि बढ्ने बाटो आजको पुस्ताले तयार गर्ने हो । मूल विषय पार्टी आजका युगीन अभिभारा पुरा गर्न सिद्धान्त, कार्यनीति तथा रणनीति र कार्ययोजना तयार गर्ने हो । स्वदेश र विदेशका अग्रजका सन्दर्भबाट पाठ सिक्ने हो, वर्तमानमा उभिएर दूरदर्शी मस्तिष्क र कुशल हातहरुले भविष्यका योजना कोर्ने हो । यो अभिभारा आजका पुस्तामा आएको छ । तसर्थ, समृद्ध र समुन्नत नेपालको निर्माण गर्न नेपालवादी हुन आवश्यक छ, निःस्वार्थ र नेपालपक्षीय हुन जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here