सुन्दर पहाडी जिल्ला इलामका धेरै स्थानहरूमा वार्षिक मेला लाग्ने गर्छ– माईबेनी, गजुरमुखी, माईपोखरी, नयाँबजार, पुर्नेडाँडा । प्रत्येकको आ–आफ्नै गरिमा छ । तर, पुर्नेडाँडामा लाग्ने झ्याम्टे मेलाको अरुभन्दा भिन्न र विशिष्ट ऐतिहासिक र सांस्कृतिक महत्व पाइन्छ । सन् १८१६, मार्चको सुगौलीको सन्धिले इस्ट इण्डिया कम्पनी र नेपालबीचको झन्डै दुई वर्ष लामो लडाइँ टुङ्ग्यायो । सन्धिको एउटा सर्त थियो– नागरी किल्लामा रहेका सेनासहित नेपाली प्रशासनले मेचीपारिको सम्पूर्ण भू–भाग ४० दिनभित्रमा छोडिदिनुपर्ने । पूर्वी मोर्चामा एउटा बन्दुकसम्म ठ्याङ्ग नपारी टिस्टादेखि मेचीसम्मको क्षेत्र परित्याग गर्नुपरेको इख बोकेका नेपाली कमान्डरहरुले समयसीमाभित्रै सेनालाई मेचीवारि ल्याए र करफोक पुर्नेडाँडामा गढ़ी तुल्याएर राखे ।
सेनाको ठूलो संख्या त्यहाँ स्थायीरूपमा बसोबास गरेपछि त्यहाँको चहलपहल बढ्न थाल्यो । ठूलो संख्याका जवानहरुलाई दैनिक आवश्यकतासहित रसदपानीको आपूर्ति गरिरहनुपर्ने हुँदा मानिसको आउजाउ बढ़ायो र आइतबारे–फिक्कल जस्ता बजारहरुको प्रारूप तयार भयो होला । युद्धै नगरी मेचीपारीको भू–भाग आफूभन्दा कमजोर राज्य सिक्किमलाई छोडी तत्काललाई सन्धि गर्नुपरे पनि नेपाल पूर्णतः निर्भय–निरापद भइहाल्ने अवस्था थिएन । नेपाली सार्वभौमसत्ताको परिधि नाघेर अंग्रेजी राहु मेचीवारी आउँदैन भनी ढुक्क निदाउने बेला थिएन ।
यस्तो परिस्थितिमा करफोकमा बसेको सेना नै पूर्वी सिमानाको एकमात्र पहरेदार थियो । सिंहलीला पर्वत पानीढलो नाघेर आउनेको चियोचर्चा गर्ने चौकीदार थियो । मुलुकको स्वतन्त्रता नै चरम सङ्कटमा परेको त्यस घडीमा राहत र भरोसाको एक मात्र केन्द्र थियो । र, सेना बसेको त्यही स्थान वरिपरि सम्भवतः सेना बस्न थालेकै समयदेखि लाग्न थालेको झ्याम्टे मेलाको ऐतिहासिक महत्वले अरुलाई उछिनेको हो ।
मध्यकालमा माईपूर्वको इलामे भू–भाग कहिले सिक्किमका लाप्चे राजाको अधिनमा त कहिले विजयपुरका सेन राजाका (लिम्बुवान) मातहत शासित थियो । जे भए पनि पूर्वी इलाममा किरातहरूको उल्लेखनीय बसोबास थियो । करफोक वरिपरि पनि यिनको बाक्लो उपस्थिति थियो । किरातहरूको बहुलता भएकैले सेना बसेको अग्लो डाँडाको फेदीतिर उधौली–उभौली जस्ता आफ्ना परम्परागत चाड सार्वजनिक रूपमा नाचेर मनाउन थालियो होला । पर्यावरणीय अनुकूलतामा काम गर्न खप्पिस किराती पुर्खाले ब्याँसीतिर झर्नै अवसरमा उँधौली र लेकतिर चढ्ने समयमा उँभौली चाडका रुपमा मनाउन थालेका हुन् । छेत्री–बाहुनमा यी दुवै समय गोठधुप गर्ने परम्परा छ । अँ… उँधौली प्रमुख अन्न भित्र्याउने समय पनि हो । नयाँ अन्न चाख्नु–चलाउनुअघि देवता र पितृसँग अनुमति माग्नु र रमाइलो गर्नु यस पर्वको मुख्य र सार कुरा हो ।
त, पुर्नेडाँडामा मंसीर पूर्णिमा र बैशाखे पूर्णिमा गरी वर्षमा दुई पटक मेला लाग्ने गर्छ । मेलाको प्रथम दिन जातीय पोशाक र गहनामा सजिएका किराँत जातिका सबै उमेर समूहका व्यक्तिहरु भेला हुन्छन् । कुखुरा, सुँगुर, जाँडरक्सी, केराको पात, धुपअक्षता, अदुवा, पाती, सेउली, धनुकाँढ, ढोल, भ्याम्टासहितले चुल्होको पूजाबाट शुरु गरेको कर्मकाण्ड साकेला थानमा बली चढाएपछि धर्मगुरुको आदेशले साकेला नाच शुरु गर्छन् । पछिल्ला दिन ठाउँ फेरिफेरि यो नाच नाचिन्छ । नाचमा भ्याम्टाको ताल र आवाज विशेषको भूमिका रहन्छ । सम्भवतः यसैकारण यहाँ लाग्ने मेलाको नाम नै भ्याम्टे मेला रहन गएको हो । अनि वर्षका दुईवटा पूर्णिमामा मेला लाग्ने भएकाले डाँडालाई पुर्नेडाँडा नामले चिन्न थालिएको हुनुपर्छ । यी कारणले पनि भ्याम्टे मेलाको सांस्कृतिक विशिष्टता गहन बनेको हो ।
त्यस समय ब्यारेकको सेनाले छाउनी नजिकै रहेको पञ्चकन्या मन्दिरलाई विशेष महत्व दिई देवीको पूजा–अर्चना गरी बली दिने परम्परा शुरु गरेको थियो । पछि सेनाले नामसालिङ हुँदै इलाममा स्थायी गढ़ी कायम गरेपछि पनि बडा दशैं र चैते दशंै दुबैको नवमीमा करफोकको पञ्चकन्या देवीको विशेष पूजा गरेपछि मात्र माईस्थानको पूजा समापन भएको मानिन्थ्यो र तोप पड्काइन्थ्यो । र, यो पञ्चकन्या मन्दिर मेला लाग्ने स्थानमै भएकाले पनि ‘झ्याम्टे मेला’को महत्व बढेको हो ।
२०२० दसकको शुरुदेखि नै इलामका विभिन्न हाई–स्कूलहरुलाई प्रधानाध्यापकीय नेतृत्व दिनुभएका गुरु नरहरि शर्मा अधिकारी भन्नुहुन्छ– ‘हामी केटाकेटी हुँदा किल्लाको फेदको गाह्रो सबुत नै थियो । किल्ला निर्माणमा चाहिने इँटा बनाउन खनिएको खाडलमा बर्खामा पानी भरिएर बनेको पोखरीलाई हामी ‘किल्लाको आहाल’ भन्थ्यौँ । किल्लाका ढोकका चौखट माघेसुन्तलेमा अझै सबुत छन् । त्यसो त किल्ला निर्माणमा प्रयोग गरिएका इँटा अहिले पनि डाँडामा भेटिन्छन् ।
त्यो बेला विश्वविजयी साम्राज्यवादी अंग्रेजी शक्तिसँग सिङ जुधाउन तयार नेपाली सेना बसेको थियो यस डाँडामा । सेना फेरि बस्न आइपुग्यो वि.सं. २०५४ सालमा । यसपाली वाह्य शक्तिसँग भिड्न होइन तर आन्तरिक कारण– माओवादी हिंसात्मक विद्रोहले । अनि १८१ वर्षअघिदेखि अविच्छिन्न लाग्दै आएको ’झ्याम्टे मेला’ रोकियो– असुरक्षाको कारणले । २०६५ सालमा विद्रोही र संस्थापनवीच शान्ति सम्झौता भएर पनि मेला पुनर्सञ्चालनमा केही समय लाग्यो । आखिर २०७८ को मंसीर पूर्णिमामा मेला लाग्न शुरु भयो– श्रीनाथ पल्टनको सौर्य स्मरण गराउँदै । किरात जातिको मानिल्याएको नेपाली राष्ट्रिय चाडको सामान्यीकरणको महत्व झल्काउँदै । यो मेला इलामले बाँकी जिल्लालाई लोभ्याउने मात्र होइन आह्रिसेसम्म बनाउने सम्पदा हो ।
इलामको मात्र होइन टिस्टासम्म नेपाली पुगेको गौरव स्मरण गराउने राष्ट्रिय प्रतिक हो । तर, चिन्ताको विषय– यो स्थान निजी स्वामीत्वभित्र परेको छ । सांस्कृतिक र धार्मिक मात्र होइन, ऐतिहासिक महत्व समेत बोकेको ‘झ्याम्टेमेला’ लाग्ने स्थल पुरातात्विक दृष्टिले मूल्यवान छ । स्थानीय समाजसेवी दीपक अधिकारीका अनुसार यसको स्वामीत्व तेस्रो÷चौथो व्यक्तिमा पुगेको छ । उहाँ भन्नुहुन्छ– ‘यस्ता पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक महत्वका स्थल सार्वजनिक सम्पत्ति हुनुपर्ने हो । राष्ट्रिय चासोभित्र पर्नुपर्ने हो । दुई सय छ वर्षअघिको गढीको पुनर्निर्माण गरी इतिहास सुरक्षित पार्नुपर्ने हो । यसले पर्यटनको विकास समेत हुनेछ । राज्यले क्षतिपूर्ति गरेर यो जमिन आफ्ना प्रत्यक्ष निगरानीभित्र राख्नुपर्ने हो । तर, सुनुवाइ कहाँ गर्ने ?
अधिकारीजीले भने अनुसार गर्न बितेन र ? स्थानीय पालिकाले उदयपुर गढी पुनर्निर्माणमा अग्रसरता देखाए झैं सूर्योदय नगरपालिका यो किल्लाको संरक्षणमा लागिपर्ला ? पाल्पाको तानसेनमा झैं युद्ध सामग्री पुरिएका पो छन् कि ! के नेपाली सेनाले यसमा चासो देखाउला ? या पुरातत्व विभागका अघि सर्ला ? अथवा प्रदेश वा संघीय सरकारको चेत खुल्ला ?