विशिष्टता सङ्कटमा नपरोस्

0
6

पछिल्लो समय देशभरि नै सम्बन्धविच्छेदका घटनाहरु बढ्दै गएका छन् । संयुक्त राष्ट्र संघको आह्वानमा हिजो मात्र अन्तर्राष्ट्रिय परिवार दिवस मनाइएको थियो । आज विशिष्ट परिवारको मान्यता प्राप्त नेपाली परिवार सम्बन्धविच्छेदका कारण खण्डित र कमजोर हुँदै गएको समाचार प्रकाशित भएको छ । झापा जिल्ला अदालतमा पनि प्रत्येक वर्ष सम्बन्धविच्छेद गर्नेहरुको संख्या बढ्दै गएको छ । यसले हाम्रो विशिष्ट पहिचान, हार्दिक तथा संगठित पारिवारिक स्वरुपलाई कमजोर पार्दैै लगेको छ । जिल्ला अदालत झापाका से्रेस्तेदार किरणकुमार सिंहले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको यस अवधिसम्ममा दर्ता भएका तीन हजार पाँच सय ५६ वटा मुद्दामध्ये २६ प्रतिशत सम्बन्धविच्छेदका छन् ।

विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा पति–पत्नीबीच मनोमालिन्य बढेर सम्बन्धविच्छेद मै पुग्ने गरेको तथ्याङ्कले देखाएको छ । अहिलेसम्मका मुद्दाको प्रकृतिको विश्लेषण गर्दा सम्बन्धविच्छेदमा वैदेशिक रोजगारी, अन्तरजातीय विवाह, कम उमेरमा वा बहुविवाह गर्ने, परस्त्री वा परपुरुषसँग लागेको, विदेशबाट पठाएको रकम घरमा रहनेले हिनामिना गरेको, घरेलु हिंसा र पश्चिमा प्रचलनको देखासिकी गर्ने मानसिकता आदि जिम्मेवार छन् । पूर्वीय संस्कृतिमा विवाहलाई ‘सात जन्मको बन्धन’ मानिएको छ । त्यसै अनुसार ‘सँगै बाच्ने र सँगै मर्ने’ प्रतिबद्धता, सङ्कल्प र व्यवहार गरिन्थ्यो । जसका कारण खासगरी नेपाली विवाह संस्कार र वैवाहिक सम्बन्ध अनुपम मानिएको थियो ।

आज नेपाली समाज उदार, पठित र स्वतन्त्र हुँदै गएको छ । त्यसमाथि भएका परिवर्तन र अन्धाधुन्ध अरुको अनुकरण गर्ने मानसिकताले मानिसमा दम्भ बढ्दै गएको छ । स–सानो घटनालाई पहाड बनाउने कारणले असमझदारी र मनमुटाव गराएको छ । धैर्य, संयम, हार्दिकता र प्रेम हराउँदै गएको छ । यसले पारिवारिक एकता मात्र होइन दाम्पत्य जीवनमै विखण्डन आउन थालेको छ । यसले नेपाली पारिवारिक संरचना र सद्भाव खलबलिएको मात्र छैन, दम्पत्तिकै लागि प्रत्युत्पादक र समाजका लागि घातक बनिएको छ । सम्बन्धविच्छेद एउटा व्यक्ति, परिवार वा समाजका लागि मात्र होइन देशकै लागि समस्या हो । त्यसैले यसको निदानका लागि सूक्ष्म अध्ययन र विश्लेषण गर्न जरुरी छ । यसका लागि कुनै व्यक्तिलाई दोष दिनुभन्दा समाजको परिवर्तित मानसिकता र व्यवहारको अध्ययन गर्दै घरेलु हिंसा, वैदेशिक रोजगारी, मद्यपानको सेवन, उमेर नपुगी गरिने विवाह वा बहुविवाह लगायतबाट उत्पन्न परिस्थिति र त्यसको दुष्प्रभावबाट जोगाउनु पर्छ । त्यो दायित्व तीनै तहका सरकारको हो, अन्यथा हाम्रो पारिवारिक तथा सामाजिक संरचना र विशिष्टता सङ्कटमा पर्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here