२८ साल उपन्यास लेखनमा नयाँ प्रयोग

५ जेष्ठ २०८१, शनिबार मा प्रकाशित

२०८० सालमा ‘२८ साल’ प्रकाशित भयो । कुमार भट्टराईको संकलन र लेखनमा । अलिकति नयाँ सोच, प्रविधि र नितान्त मौलिक संरचनामा आधारित पुस्तक । यसको काया कैरन अलि लामै छ । भन्नलाई उपन्यास भनिएको छ । तर, ओैपन्यासिक परम्परागत विशेषता यसले कति बहन गरेको छ ? पाठकले निक्र्यांैल गर्ने नै छन् । म सरसर्ती पढेर यसलाई लेख्न लेखकले गरेका केही नितान्त नौला उपायतिर पस्न खोजेको छु ।

पढेको हप्ता दिन भइसक्यो सबै कुरा त सम्झेर पनि साध्य छैन, सम्झना रहनै पर्ने कति कुरा फेरि पनि छुटन सक्छन् । पैलो कुरा त उपन्यास भनिएकै बारेमा केही सोच्न बाध्य बनाउँछ यो पुस्तकले । के यो उपन्यासकै साँचामा ढालिएको छ ? के यसमा उल्लेख भएका ऐतिहासिक तथ्य र संवादहरूमा औपन्या सिकता छ ? उपन्यासको कुन परिभाषा अन्तर्गत यसलाई लिन सकिन्छ ? साहित्य रचनाका परम्परागत मान्यतामा यसले नयाँ संरचनाको संकेत गरेको त छ । तर, यसलाई उपन्यास भनि दिँदा पुस्तकमा उल्लेख गरिएका सत्य–तथ्य बकपत्रहरू साँच्चै हुन् भन्ने मानिएला कालान्तरसम्म र यी पात्रहरु हाम्रा आफ्नै पुर्खा थिए भन्ने पनि मानिदेलान् हाम्रा सन्ततिले ?

उपन्यास त प्रतीकहरूद्वारा सम्झाइने लेखकको कल्पनाले कल्पित, चिन्तनाले चित्रित र भावनालले भावित एउटा कुनै सामाजको शब्दचित्र त हो । तर, यसमा त लैखक केही बोल्दैन न उसको मुखपात्र कोही छ, न उसको भनाइ केही छ । लेखक सुरुमा छ र लेखक अन्त्यमा छ । ४४० पृष्ठको यो पुस्तक भरी जम्मा ४० पृष्ठमा छ लेखक । हो उपन्यासमा पनि लेखक आफू बोल्दैन, तर उसको आफ्नो मुखपात्र हुन्छ र त्यसको माध्यमबाट लेखकले आफ्नो कुरा भनिरहेको हुन्छ ।

मौलिक देखिन गरेको यो कसरत साँच्चै नयाँ र अनौठो छ । उसो त विधा भञ्जनलाई अचेल अनौठो मानिँदैन । साहित्यमा अनेकौं प्रयोगहरु भइरहेका छन्, भइरहने छन् । पुराना मान्यताहरू तोडिँदै र छोडिँदै गइरहेका छन् । उत्तर आधुनिक भनिने नयाँ धारको विकासले साहित्यिक संरचनाको धरातलमा एक प्रकारको अराजक स्थिति पैदा गरेको छ, तर अराजकताभित्र पनि राजकता लुकेको हुन्छ भन्ने सम्भावित मान्यतालाई बिर्सन नहुने हुनाले पक्ष प्रतिपक्ष दुबैलाई सँगै उभ्याउएर दुबैका कुरा सुन्दै न्यायाधीशले सत्यासत्य निरुपण गर्नुपरे जस्तै उत्तर आधुनिकताले ल्याएको अराजकताभित्र पनि प्राच्याधुनिकतामा भए जस्तै मूल्यहरू छन् कि भनी त्यसको पनि उपस्थिती गराएर सुनवाइ त हुनैपर्ने रहेछ । मौलाइरहेको उत्तर आधुनिकताको साहित्यिक जङ्गलभित्र यथेष्ठ मलजल पुगेको अर्काे अलग्गै बिरुवाकोे रुपमा यो ‘२८ साल’ कृति देखापरेको छ । बिरुवा यसअर्थमा कि यो पहिलो कृति हो यस प्रकारको संरचनामा रचित ।
नेपाली साहित्यमा विधा भञ्जन हुन थालेको लीला लेखन नाम दिएर इन्द्रबहादुर राईले ३० को दशकदेखि नै संकेत गरेका हुन् । त्यसको व्यापक असर पर्दै गएर सत्तरीको दशकसम्म आइपुग्दा अनेकानेक कृतिहरु आएका छन् । लीला सम्बोधी सैद्धान्तिक र प्रयोगिक लेखन त इन्द्रबहादुर राईसँगै बितेर गएको भए पनि त्यसको असरले कृष्ण धराबासी, रत्नमणि नेपाल, कृष्ण बराल जस्ता लेखकहरु लीलाचेत र लीलाबोधको सरल प्रयोगमा निरन्तर कृति रचना गरिरहेका छन् ।

विधा भञ्जन अन्तर्गत इतिहासलाई आधार बनाएर औपन्यासिक जलप दिँदै, इतिहसका हुबहु प्रामाणिक तथ्यहरुलाई समेटेर लेखिएको सर्वथा नौलो संरचनामा यो कृति आउनु कतै लीलाबोध र लीलाचेतद्वारा नै निर्देशित कृति त होइन भन्ने कुरा पनि यसैलाई आधार बनाएर पुष्टि गर्न सकिने अनेक प्रमाणहरु यसमा पाइन्छन् । तर, यो लेखको विषय त्यो नभएको र एउटा दुश्शापित कालखण्डलाई इतिहासको पानाबाट मेटिन र बाङ्गोटिङ्गो हुन नदिन अनि समाजलाई त्यो इतिहासको सत्यतथ्य जानकारीबाट सुसूचित गर्न साहित्य श्रष्टाहरुले कसरी पनि सोच्नुपर्छ र कस्तोसम्म प्रयोग पनि गर्नुपर्छ भन्ने विषयमा चाहिँ केही भन्नैपर्ने हुन्छ ।

हो २८ साल रक्त रञ्जित इतिहास बोकेको साल बनेको छ नेपालको झापा जिल्लाका लागि । ख्याल–ख्यालमा, सनकका भरमा, आहारिसेहरुको एउटा जत्थाले ठूलो कष्ट उठाएर, धेरै दुःख खेपेर दुर्नाम हुने काम गरेको साल हो– २८ साल । धेरैलाई त बर्बाद नै गरेको छ । खासगरी भूमिपुत्रहरु मानिने राजवंशी र चौधरी जाति माथि जति अन्याय शोषण र अत्याचार भएको छ त्यो अपूरणीय छ । पहाडेहरुले उकासेका भरमा राजवंशी र चौधरीहरु मान्छे मार्ने अभियानमा सामेल भए । सोझो जाति । सामन्तहरु सकिएलान् र हामीले केही सुविधा पाउँला नै भन्ठाने उनीहरुले तर यो सब दुस्साहस थियो । सुविधा पाउनुको साटो उनीहरुले सास्ती पाए, बासउठ्ठा भएर अन्त्यमा विलापोन्मुख जातिको रुपमा चित्रित भएर रहनुपरेको छ ।

भूमिपुत्रहरु आफ्नै पसिनामा रमाउने, आफ्नै बिरादरीको सहयोगमा सामुहिक जीवन बाँच्न रुचाउने, आपसी विश्वासमा कहिल्यै घात नगर्ने र नेतृत्वको अधिनस्थ रहन रुचाउने जातिको रूपमा चिनिने जाति हो । जे–जस्तो आवश्यकता पनि कृषिजन्य व्यवसायाट आपूर्ति गरेर खाई खेली रमाएर बाँच्ने जाति । यो जाति माथिको शोषणको पराकाष्ठा थियो त्यो आन्न्दोलन, जति सेल्टरहरु थिए यिनै गरीब र निमुखा जातिकामा धेरै थिए । डरले र करले उनीहरुले आफूलाई भोकै राखेर टाउको काट्ने सिद्धान्तमा दीक्षित भएका आन्दोलनकारीलाई खुवाए, लुकाएर राखे । पहाडी मूलका सेल्टरदाताहरु पनि नभएका होइनन् । तर, तिनीहरू रहरले नै सेल्टर दिन्थे, कुरा बुझेर नै दिन्थे, बद्लामा भोलि केही सुबिधा पाइएला भनेर नै दिन्थे भने भूमी पुत्रहरु र तिनका परिवारलाई न त्यस्तो कुनै ज्ञान थियोे न कुनै आशा नै थियो । उदाहरणको रूपमा बिरेन राजवंशीकी बहिनीको बयान लिन सकिन्छ, उद्रलाल राजवंशी र बुटन चौधरीका छोरा र तिनका परिवारको बयानबाट प्रष्ट हुन्छ ।

यताका यी सोझा जातिलाई हात लिन पारी भारतबाट निमुसिंह राजवंशीलाई ल्याइएको रहेछ । १३ जनाको कमिटिमा दुई जना मात्रै यहाँका रैथाने भूमिपुत्रहरुको संलग्ता भएको देखिन्छ । बिरेन राजवंशी, भीष्म धिमाल । यही तहबाट हेर्दा भूमिपुत्रहरू माथि तत्कालको आन्दोलनले पुर्याएको ज्यादतीपूर्ण शोषण प्रष्ट देखिन्छ । काटिनेमा बुटन चौधरी र उद्रलाल राजवंशी दुबैले शोषण भनेको केहो भन्ने जानेका थिए भन्ने उनीहरुको जीवन इतिहासले पक्कै बताउने छैन । किनकि उनीहरु व्यवस्थाले निर्देश गरेको नियमभन्दा एकपाइला अघिपछि गर्न डराउँथे । तर, बुटनको संरक्षणमा रहेको धर्म भकारीको धान शिवप्रसाद शिवाकोटीले आवश्यक पर्दा दिने शर्तमा अरुलाई दिँदा हुन्छ भनेर विश्वास पारेका र आफूले समेत लिएकाले होला भन्ठानेर धर्म ढिकुटीको धान गैर संकलकलाई पनि दिन लाएका थिए, पछि धान लानेले बेइमानी गरेकाले संकलकहरुले बीऊ राख्ने बेलामा समेत धान नपाएकाले उजुरबाजुर र पुलिससँगको झडप समेत भएको थियो ।

यो रहस्य नबुझेका केही स्थानीय सहित पुलिस प्रसाशन यसरी चौधरीसँग रुष्ट भएको अवसरमा चौधरीलाई शिवप्रसादले नै बेइमानी गरेको भनी काट्ने र मार्ने सिफारिस गरेका थिए भन्ने कुराबाट यो सम्भावना सत्यमा परिणत भएको छ । यो पुस्तकमा शिवप्रसादको त्यो अपराध खुलेको छैन । तर, बुटन चौधरीले मारिनुपर्ने अपराध गरेका थिए भन्ने कुरामा विश्वास गर्ने ठाउँ पनि छैन । किनकि उनले यस्ता अपराध पहिला पनि गर्ने गरेका थिए भनेर कुनै सबुत दिइएको छैन । त्यसै साल मात्रै गरेको त्यो अपराध उनको ज्यानै लिनुपर्ने गरी थियो त ? प्रश्न सबै मारिनेहरुका वारेसले यसरी नै उठाएका छन् ।

यो कुरा त्यो कालखण्डको इतिहास खोज्नेले फेरि पनि केलाउलान् । तर, मैले यो पुस्तकको बारेमा भन्न खोजेको विषय र क्षेत्र यो होइन । म लेखकले यो पुस्तक तयार गर्न अख्तियार गरेको नयाँ प्रवधि र विधा भञ्जन सम्बन्धि कुरामा मात्र सिमित हुन खोजेको छु र लेखकले मौलिक देखिन गरेको प्रयत्नको वा चतु¥याइँको मात्रै यहाँ चर्चा गर्नुभन्दा पहिला मौलिकता के हो अथवा मौलिक के हुन्छ भन्ने बारेमा मलाई लागेका कुरा गर्छु ।

मेरो विचारमा मौलिक सिर्जना शब्दमा अथवा कुनै कलामा पेस गर्न सक्दिनँ । संगीत, नृत्य, गायन, चित्ररकारिता कुनै क्षेत्रमा पनि मौलिक कोही हँुदैन । किनकि शब्दमा, चित्रमा बाँधिनुभन्दा पहिला त्यो कुरा वा त्यो चित्र लेखक वा चित्रकारको भावनामा सोच विचारमा मनमा प्रवेश भएर रहेको वा बनेको हुन्छ । सक्कली वा मौलिक भन्नु त मनमा नै रहन्छ, बाहिर निस्केको, देखिएको, अरुले जान्ने बुझ्ने भएको चिज त लेखकले लेखेको वा कलाकारले बनाएको उसका मनमा बनिएका वस्तुको नक्कल मात्रै हो । यो कुरा वेदान्तले पनि सिद्ध गरेको कुरा हो । वेदान्तले भन्छ– मन आत्माको आश्रय स्थल हो । आत्मा अजर, अमर, अदृश्य, अस्पृष्य, हुन्छ र यो मौलिक अर्थात् सधैँको नयाँ मानिन्छ, सबैमा नयाँ भएको अनुभूति गराउँछ, तर प्रकट हुन सक्दैन, व्यक्त गर्न सकिँदैन ।

यस अर्थबाट हेर्दा उपन्यासकार कुमार भट्टराई पनि मौलिक हुने हक राख्दैनन् । तर, अरू लेखकहरु भन्दा फरक त छन् । हो, फरक त सबै अर्काेभन्दा फरकै हुन्छन् । तर एउटा दुर्दान्त कालखण्डका खलनायकहरुको खलनाकत्वले समाजमा नृशंस हत्याको शृङ्खला कायम राखेको अवस्थालाई उनै खलनायकहरुको मुखबाट बोल्ने परिस्थिति बनाएर बोल्न लाउनु कति र कस्तो चिन्तन, योजना र साहसको उपज हो ? यद्यपि ५० वर्षपछि घटना बयानको रुपमा आइरहेको छ । तथापि पात्रहरु त उनै छन् । सम्बन्धित पात्रहरुसँगको चिनारी, खोजी र उनीहरुसँगको वार्ताले अहिले निम्त्याउन सक्ने खतरा मोल्न तयार हुने साहस सबै लेखकहरुले गर्छन् भन्न त सक्दिनँ । निम्त्याउन सक्ने खतरा भन्नाले हत्या गरिएका हरुका शाखा सन्तानले बदलाको भावनाले ती वार्ताकारहरु जो विशेष सुरक्षाको व्यवस्था बिना नै बसिरहेका छन् । तिनसँग बद्ला लिने उद्योगतिर नलाग्लान् भन्न सकिन्छ र ?

फेरि सम्बन्धित पार्टीका नाइकेहरु जो हाल विशेष सुरक्षामा छन् उनीहरुको मखुण्डो त यस पुस्तकले उतारिसकेको छ यस्तो अवस्थामा हाल सो पार्टीले पाइरहेको जनसमर्थन अनुसार लेखकप्रति पनि त पार्टीका कार्यकर्ताले प्रतिसोध को भावना नलेलान् भन्न सकिन्छ र ? यो सूक्ष्म अध्ययनको विषय हो । परिस्थिति समयले जस्तो पनि ल्याउन सक्तो रहेछ भन्ने कुरा त यसै पुस्तकले प्रमाणित गरेकै छ ।

अर्काे–

पुस्तकलाई नौलो संरचनामा प्रस्तुत गर्ने विचार अनुसार लेखक कुमार भट्टराईले सम्बन्धित टाउको काट्ने अभियानको स्वर्ण महोत्सवको परिकल्पना गरेका छन् । पार्टीको भन्दा एक पाइला अगाडि उनको सोच दौडिएको छ । त्यो बेलाका सबै पात्रहरु एकै ठाउँमा भेला गराएका छन् । एकपछि अर्काे गर्दै बयान गराएका छन् । प्रतिवादलाई पनि ठिक ठाउँमा उपयोग गरेका छन् । कृति सम्पादनको एकदम क्लिष्ट मोड हो यो । यसरी बयान सम्पादन गर्ने व्यवस्था मिलाउने, परिकल्पना गर्ने विशेष नौलो तरिका नेपाली आख्यान साहित्यको परम्परामा कुमार भट्टराई ले पहिलो पटक उपयोग गरेको देखिएको छ ।

अर्काे –

सारा बयानहरु सुनेर समीक्षा गर्ने पात्रको उपस्थिति छ पुस्तकको अन्त्यमा । मुख्य–मुख्य घटनाहरुको संक्षेपमा टिप्पणी गराएका छन् माथि लेखकको मुख पात्रको कुरा उठाएको छु मैले र लेखकको मुखपात्र छैन भनेको छु । तर, समीक्षकको टिप्पणी लेखकको मुख हो भन्ने ठाउँ यहाँ पाउन सक्छन् । पाठकले तर यसो भनिरहँदा टिप्पणी गर्ने पात्रको मान हानी हुने, अवमूल्यन हुने त छँदै छ उसमाथि यस कृतिमा भएका सबै अरु पात्र यथार्थ र सबै पात्रको बयान यथार्थ मान्नुपर्दा टिप्पणीकारलाई मात्रै अयथार्थ र झुट मान्न मिल्ने स्थिति देखिँदैन । त्यसकारण लेखक स्वयम् बोलेको छ भन्न मिल्दैन ।

अर्काे–

इतिहासलाई उपन्यास बनाउने कलामा लेखकको विशेषता झल्कन्छ, यसलाई नौलो प्रयोग मान्नुपर्छ किनकि आजसम्म धेरै ऐतिहासिक उपन्यासहरु लेखिइसकेका छन् । तर, तिनमा यो खालको प्रयोग छैन । यसरी कुमार भट्टराई सामान्य लेखकको रुपमा मात्रै नभएर नौलो तरिका अख्तियार गर्ने लेखकका रुपमा प्रस्तुत हुन सफल भएका छन् । यद्यपि उनका अरु आख्यानात्मक कृति नभएका होइनन्, ती सबै पारम्परिक लेखन शैलीमा छन् यो ०२८ साल कृति मात्र यस्तो हो जसले कुमार भट्टराईलाई सर्वथा नयाँ संरचनामा साहित्य सिर्जना गर्ने, सिर्जनामा नयाँ प्रविधि भित्र्याउने, रिस्की कामलाई पनि लेखकले लेख्न पछि पर्नु नहुने, समाजको अन्योललाई साहित्यका माध्यमबाट कसरी हटाउने, इत्यादि विषयमा बडो जिम्मेवार भएर लेख्ने लेखकको रुपमा चिनाएको छ ।

निकै लामो समयको खर्चिलो प्रयास र अटुट परिश्रम यो कृति सिर्जनामा लागेको कुरा खुलस्त छँदैछ । कुमार भट्टराई अब नौलो प्रविधिक लेखकमा दरिएका छन् । उत्तर आधुनिकता के हो भन्ने प्रश्नको जवाफ पनि सायद यो कृतिको पुर्पक्ष चर्चा भएपछि साहित्यका विद्यार्थीले प्राप्त गर्न सक्ने छन् । र, अब साहित्य कसरी कसरी कस्ता–कस्ता विषयमा पनि प्रवेश गर्न सक्तो रहेछ र इतिहासको सीमा अतिक्रमण गरेर अथवा इतिहासलाई पराजित गरेर साहित्य कसरी स्थापित हुन सक्तो रहेछ भन्ने उदाहरण पनि यो भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here