‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

0
3

सुरुङ्गा (झापा),

जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये २५ महिला समेत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । लागुऔषध कारोबारमा संलग्नमध्ये स्वदेशी तीन सय २५ पुरुष र २५ महिला तथा १८ विदेशी पुरुष र चार विदेशी महिला रहेका छन् ।

सोही अवधिमा झापामा लागुऔषधका दुई सय ४० मुद्दा दर्ता भएका छन् । खैरो हिरोइन एक हजार नौ सय ४४ ग्राम चार हजार छ सय ४० मिलिग्राम र गाँजा २६ किलोभन्दा बढी बरामद गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को साउन महिनामा ३४ पुरुषसहित ३७ जना लागुऔषधसहित पक्राउ परेका थिए । त्यस्तै भदौमा ४२ जनासहित १० किलो एक सय सात ग्राम गाँजा र चार सय ५५ ग्राम हिरोइन प्रहरीले बरामद गरेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

त्स्तै असोजमा ४१ जनासहित एक किलो ६ सय ७० ग्राम गाँजा र एक सय ७६ ग्राम चार सय ४० मिलिग्राम हिरोइन, कात्तिकमा लागुऔषधका १० मुद्दा दर्ता हुँदा १७ जना पक्राउ परेका थिए भने ३२ ग्राम सात सय मिलिग्राम हिरोइन प्रहरीले बरामद गरेको थियो ।

यसैगरी मङ्सिरमा १२ पुरुष, तीन महिला स्वदेशी र दुई पुरुष विदेशीसहित १७ जना पक्राउ परेका थिए । एघार लागुऔषधका मुद्दा दर्ता हुँदा प्रहरीले ७० ग्राम चार सय ७० मिलिग्राम हिरोइन बरामद गरेको थियो । पुसमा १४ जना पक्राउ पर्नुका साथै नौ लागुऔषधका मुद्दा दर्ता भएका थिए । सो अवधिमा एक सय ६२ ग्राम दुई सय ७० मिलिग्राम हिरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।

माघमा ३५ जना पक्राउ परेका थिए भने २६ वटा मुद्दा दर्ता भएका थिए । माघमा दुई सय ५० ग्राम गाँजा र ३९ ग्राम तीन सय २० मिलिग्राम हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । फागुनमा सबैभन्दा बढी लागुऔषध कारोबारी पक्राउ परेका छन् । सो अवधिमा ५१ स्वदेशी पुरुष, सात स्वदेशी महिला, दुई विदेशी पुरुष र एक विदेशी महिला पक्राउ परेका थिए । फागुनमा ३९ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । प्रहरीले सो अवधिमा ७० ग्राम पाँच सय मिलिग्राम गाँजा र तीन सय ३५ ग्राम नौ सय ९० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो ।

त्यस्तै चैतमा प्रहरीले ५५ स्वदेशी पुरुष, दुई स्वदेशी महिला र दुई विदेशी पुरुषलाई लागुऔषध कारोबारीका रुपमा पक्राउ गरेको थियो । चैतमा लागुऔषधका ३७ मुद्दा दर्ता भएका थिए भने प्रहरीले एक किलो चार सय ७९ ग्राम चार सय मिलिग्राम गाँजा बरामद गरेको थियो । वैशाखमा ४२ जना स्वदेशी पुरुष, दुई स्वदेशी महिला र पाँच विदेशी पुरुष पक्राउ परेका थिए । सो अवधिमा लागुऔषधका २९ मुद्दा दर्ता भएका थिए ।

लागुऔषध नियन्त्रणका लागि प्रहरीले दिनहुँजसो सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि भारतको पश्चिम बङ्गाल र विहारसँग झण्डै एक सय ४४ किलोमिटर क्षेत्र खुला सीमा भएका कारण लागुऔषध नियन्त्रणमा प्रहरीलाई समस्या भएको छ ।

दिनानुदिन लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको पाइएपछि जिल्ला प्रहरी कार्यालय झापाले अहिले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । अहिले जिल्लाका १५ वटै पालिकामा यो कार्यक्रम सञ्चालनमा छ । स्थानीय तहसँग साझेदारी गर्दै प्रहरीले टोल टोलमा पुगेर उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here