प्रधानमन्त्री र राष्ट्रपति नबनी जननेता बनेका भण्डारी

७ जेष्ठ २०८१, सोमबार मा प्रकाशित

नेपाली वाम प्रजातान्त्रिक आन्दोलनका विचारक र नेपाली जनताका प्रिय नेता मदन भण्डारी र उनका प्रिय मित्र नेकपा एमालेका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको योगदानका सम्बन्धमा भर्खरै विभिन्न मञ्च र डबलीमा स्मरणका साथ चर्चा गरियो । मदनलाई नेपाली जनताले साँच्चै मनमस्तिष्कमा राखेका छन् । यसको प्रमुख कारण मदनका विचार र सोच जनताको भावनासँग गाँसिएर रहेका छन् । त्यसैले उनलाई जीवन्त राख्ने काम गरेको यथार्थ हो । सत्तामा पुगेका नेताले देखाउने व्यवहार तथा अपनाउने जीवनशैलीले जनताको हृदयमा रहने कि नरहने कुरा निर्धारण गर्नेछ । ताप्लेजुङको ढुङ्गेसाँघुको ठोट्नेमा देवीप्रसाद र चन्द्रकलाको माइलो सन्तानका रूपमा २००९ साल असार १४ गते रातको १२ः०० बज्न लाग्दा जन्मेका र पण्डितबाट मोतीराज भण्डारी नाम पाएका व्यक्ति नै पछि मदन भण्डारी बनेका हुन् ।

शितलनिवास, सिंहदरबार र पार्टी कार्यालयका भित्तामा राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षका फोटाहरू झुण्ड्याइएका छन्, तर जनताको हृदयमा थोरै राजनेताको मात्र फोटा सजिएका हुन्छन् । महात्मा गान्धी न भारतका प्रधानमन्त्री भए, न राष्ट्रपति नै । तर भारतीय जनताका लागि महात्मा गान्धीको नाम आज पनि उत्तिकै प्यारो छ । भारतका धेरै प्रधानमन्त्री र राष्ट्रपतिको नाम जनताको स्मरणमा छैनन् । नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्षपुरुषका रूपमा जनजनका हृदयमा रहेका मदन आफ्ना अनन्य मित्र जीवराज आश्रितसँग निधन भएको तीन दशक बितिसक्दा पनि नेपालीका हृदयमा बाँचिरहेका छन् । ‘नेताले आउनै लागेको चुनाव हेर्छ, तर राजनेताले मुलुकको भविष्य हेर्छ’ भन्ने महान्वाणी मदन भण्डारीमा हुबहु लागू हुन्थ्यो । उनी छोटो समयको स्वार्थमा थिएनन्, उनी त विश्व कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिएर जनताको पक्षमा समाजवादको निर्माण गर्न चाहन्थे ।

मन्त्री र प्रधानमन्त्रीको पदभन्दा धेरै माथि रहेर विचार दिने नेताका रूपमा सम्झना गरिने मदन भण्डारीलाई नेकपा एमालेभित्र एक सिद्धहस्त सिद्धान्तकार, कुशल सङ्गठनकर्ता, प्रभावशाली वक्ता, कम्युनिष्ट आन्दोलनभित्र मौलिक सिद्धान्तका प्रतिपादकको रूपमा उच्च सम्मानका साथ हेरिन्छ । एमालेको २०४९ मा सम्पन्न पाँचौं महाधिवेशनमा भण्डारीबाट प्रस्तुत र बहुमतले पारित गरेको जनताको बहुदलीय जनवादका कारणले उनी कम्युनिष्ट आन्दोलनको इतिहासमा अमर छन् । मालेको २०४६ को भदौमा भएको चौथो महाधिवेशनमा कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिष्पर्धालाई स्वीकार्ने प्रस्ताव राखेर पारित गराए पनि त्यतिबेला त्यसले उति चर्चा पाएन । जनताको बहुदलीय जनवाद जननेता क. मदन भण्डारीले प्रतिपादन

गरेको नेपाली क्रान्तिको मौलिक कार्यक्रम हो । पाँचांै राष्ट्रिय महाधिवेशनद्वारा अत्यधिक बहुमतद्वारा जनताको बहुदलीय जनवाद पारित गरेपछि त्यसको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा संसारबाट कम्युनिष्ट सकिए भनेर होहल्ला भइरहेको बेलामा पनि नेकपा (एमाले) मुलुकको सर्वाधिक जनआधारित र लोकप्रिय पार्टी बन्न पुगेको छ । ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सृजनात्मक प्रयोग गरा’ैं भन्ने उद्घोषका साथ सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित जनताको बहुदलीय जनवादको कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा पार्टीले पटक–पटक केन्द्रीय सरकार सञ्चालन गर्ने अनुभव हासिल गरेको छ । स्थानीय निकायमा पार्टी मुख्य सञ्चालक बन्न सफल भएको छ । प्रतिनिधिसभामा पार्टी मुलुकका दुई ठूला दलमध्ये एक पार्टीका रूपमा कार्यरत छ ।
यसबीचमा पाँचौं राष्ट्रिय महाधिवेशनद्वारा पारित सिद्धान्त, नीति र कार्यक्रमको व्यावहारिक परीक्षण भएको छ । अहिले जनताको बहुदलीय जनवादको कार्यक्रम आफ्नो विशिष्टता र मौलिकताका कारण जनता माझ र पार्टी पङ्क्तिमा अत्यन्त लोकप्रिय बन्न पुगेको छ । राष्ट्रिय राजनीतिमा पार्टीले प्राप्त गरेका महत्वपूर्ण सफलता र उपलब्धिहरूले यसको समय सापेक्षता र औचित्यलाई पुष्टि गरेको छ ।

जीवनका निम्ति उपयोगी हुन नसक्ने सिद्धान्त फेरिन्छन र फेर्नु पर्दछ । जीवनको रङ्ग हरियो हुन्छ र सिद्धान्तको रङ्ग खैरो हुन्छ । तसर्थ, सिद्धान्तले सदैव जीवनलाई पछ्याउनुपर्छ भन्नेमा मदन स्पष्ट थिए । जीवनका निम्ति आवश्यकपर्ने नयाँ सिद्धान्त निर्माण गरिन्छ र गर्नुपर्दछ । माक्र्सद्वारा प्रतिपादित जीवन र जगत्को अस्तित्व र विकासको नियमलाई बोध गराउने दृष्टिकोण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो ।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्छ भन्ने मदन दूरदर्शी, परिपक्व र निडर नेता थिए । जनताको बहुदलीय जनवाद अहिले नेपाली क्रान्तिको सिद्धान्तका रूपमा स्थापित हुनुका साथै यो नेपाली विशिष्टतामा आधारित र आफ्नै विशेषता भएको नेपाली क्रान्तिको कार्यक्रम, कार्यदिशा, कार्यनीति र रणनीतिलाई निर्देशित गर्ने नेतृत्वकारी विचार बन्न पुगेको छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा नेकपा एमाले २१औं शताब्दीलाई नेपाली जनताको मुक्ति र समृद्धिको शताब्दिका रूपमा अघि बढाउन सफल हुने कुराको अपेक्षा गरिएको छ । माक्र्सवाद–लेनिनवादको मार्गनिर्देशनमा जनताको बुहदलीय जनवादको आलोकमा र विगतमा भएका जनान्दोलन, जनसङ्घर्ष र जनयुद्धको जगमा नेपालमा समाजवादको विकास कसरी गर्न सकिन्छ भन्ने आजको मूल प्रश्न भएको छ ।

कुनै बेला मदन भण्डारीले राजालाई महाराज आँखा नचम्काइ बक्सियोस्, हात नलम्काइ बक्सियोस् भनी भाषण गर्दा सभामा उपस्थित जनसमुदायले गडगडाहट तालीले समर्थन गरेका थिए । २०४७ सालको संविधानले राजालाई निश्चित अधिकार मात्र दिएको थियो । त्यसैले मदन भण्डारीले राजालाई चाहिनेभन्दा बढी कुरामा चासो राख्ने र अधिकार लिन खोज्दा भोग्नुपर्ने परिणामका बारेमा सचेत गराएका थिए । राजाले जनतालाई साथ दिन नसक्ने हो भने राजतन्त्रको औचित्य छैन भनेर सबैले आ–आफ्ना सीमाभन्दा बाहिर जान खोज्नु कसैका हितमा पनि हँुदैन बरु सीमा नाघ्न खोजियो भने त्यसबाट आउने परिणाम भोग्न तयार हुनु पर्ने र त्यो परिणाम जस्तो पनि हुन सक्नेतर्फ सङ्केत गरिएको थियो । मदन भण्डारीले दरबारिया व्यवहार र शैलीप्रति जसरी सङ्केत गर्दै धारणा राखेका थिए, गणतन्त्र जनताको पक्षमा हुन सकेन भने गणतन्त्र पनि घातक हुनसक्छ भन्नेमा मदन प्रष्ट थिए । राजतन्त्र फालेर गणतन्त्र ल्याइसकेपछि जनताले शासन सत्तामा तात्विक भिन्नता पाउन सकेनन् भने त्यो झनै घातक हुन्छ भन्ने उनको दृष्टिकोण थियो । देशमा आएको गणतन्त्रले जनताको जीवन शैलीमा कुनै सकारात्मक बदलाव ल्यायो कि ल्याएन भन्ने अर्को महत्वपूर्ण प्रश्न हो ।

जनताका लागि राजतन्त्र र गणतन्त्रमा फरक हुनुपर्छ । राजनीतिक शून्यतामा मुलुकलाई लैजान हुँदैन, तर नेताहरूले पु¥याउनुपर्ने विवेक गुमाए भने कसको के लाग्छ र ? मदन भण्डारीको भावनालाई कति आत्मसात गरिएको छ कि छैन, त्यसको वस्तुनिष्ठ ढङ्गले समीक्षा हुन आवश्यक छ । सिंहदरबार गाउँ–गाउँमा आउने सङ्घीयताको मर्म अनुसार काम भएको छैन, बरु दरबार केन्द्रमा रहेर सिंहहरू मात्रै स्थानीय क्षेत्रमा वा गाउँमा देखिएको जनताको बुझाइ रहेको छ । श्रीपेचधारी राजाको ठाउँमा टोपी ढल्काउने दर्जनौं राजा चाहिएको होइन । वास्तवमा गणतन्त्र जनताको व्यवस्था हुनुपर्ने हो, तर राजा फाल्न लागेका नेताहरू आफैंलाई राजा सम्झने, त्यही खालको व्यवहार जीवनशैली र सोच राखेर हिँड्ने गरिरहेका छन् ।

माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्दै जनताको बहुदलीय जनवादका प्रतिपादक तथा नविन विचारक जननेता मदन भण्डारी नेपाली राजनीतिक आकासमा ज्वाज्वल्यमान ताराका रूपमा उदाएका थिए । उनी जसरी उदाएका थिए, त्यसरी नै द्रुत गतिमा बिलाए । राष्ट्रवादी भण्डारी कम्युनिष्ट आन्दोलनका निधि र सम्पदा हुन् । विपक्षीलाई तर्कसहित ललकार्न सक्ने, नैतिक साहस भएका, मनोहारी भाषणकलाका धनी भण्डारीले विश्व कम्युनिष्ट आन्दोलन र विशेष गरी नेपाली कम्युनिष्ट आन्दोलनको गहिरो संश्लेषण गरी कम्युनिष्ट आन्दोलनको मौलिक बाटोको खोजी गरी जनताको बहुदलीय जनवादको रूपमा प्रस्तुत गरे । कम्युनिष्टहरूले पनि श्रेष्ठता कायम भएको पुष्टी गर्न र शासन गर्न जनताबाट अनुमोदित हुन आवश्यक छ र क्रान्ति पूर्व पनि कम्युनिष्टहरू सरकारमा जाने, क्रान्ति पूर्व बनेका सरकारले सुधारका कामहरू गर्दै जनवादी क्रान्ति सम्पन्न गर्ने भण्डारीको जबजको सार हो ।

माक्र्सवादी सिद्धान्त त निरन्तर जनताको माझमा दैनन्दिन जीवनमा आइरहने जीवनोपयोगी सिद्धान्त हुनुपर्छ भन्ने जबजको स्पष्टोक्तिलाई एमालेले दह्रोसँग पक्रिन सकिरहेको छ कि छैन, यो गम्भीर प्रश्न हाम्रासामु छ । बरु क्रान्ति पूर्व क्रान्ति सम्पन्न गर्न सघाउ पुग्ने गरी सरकार बनाउन सकिन्छ भन्ने विचारलाई टेकेर यथास्थितिमा चक्कर लाउने र जनताको बहुदलीय जनवादको रट पनि लगाइरहने डरलाग्दो परिस्थिति विकास हुने खतरा पनि छ । जनताको तहको तलबाट उठेको सङ्घर्षलाई माथिको सङ्घर्षसँग जोडी बलपूर्वक फड्को मार्ने र क्रान्ति सम्पन्न गरी समाजवादमा प्रवेश गर्ने जनताको बहुदलीय जनवादको मूल मर्म हो । सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक सम्बन्ध हुने भएकाले सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर हुनु भएन । जबजलाई जनताको जीवनमा खुशहाली ल्याउने सिद्धान्त हो भनेर मानिन्छ । तर, यही जबजकै आधारमा एमाले संसदीय व्यवस्थालाई आफ्नो अभिष्ट मान्ने पार्टीको रूपमा परिणत भएमा मदनको सोच र विचार पूरा होला र भन्ने प्रश्न उठ्छ ।

‘नेपालमा माक्र्स जीवित छन्’ शीर्षकमा अमेरिकाबाट प्रकाशित हुने प्रसिद्ध ‘न्यूजविक’ पत्रिकामा अन्तरवार्ता छापिएपछि र भारतको कलकत्तामा सम्पन्न कार्यक्रममा विचार प्रस्तुत गरेपछि मदनको लोकप्रियता अन्तर्राष्ट्रिय स्तरमा ह्वात्तै बढेको थियो र उनको जीवनमा खतरा पनि बढेको थियो । छोटो सार्वजनिक जीवन व्यतित गरे पनि आमजनका मनमनमा आजसम्म मदन भण्डारी जीवित रहनुमा प्रखर वक्तृत्वकला एक कारण हुन सक्छ, तर त्योभन्दा धेरै महत्वपूर्ण चाहिँ कम्युनिष्ट आन्दोलनलाई दिशाहीनता र जडताबाट बाहिर निकाल्ने उनको पहलकदमी नै हो ।

मदन भण्डारीको अर्को महत्वपूर्ण प्रस्थापना भनेको उनको अन्तरपार्टी जनवादसम्बन्धी धारणा हो । मदनलाई सम्झँदा उनको अन्तरपार्टी जनवादका बारेमा अघि सारेका दूरगामी सोचका बारेमा पनि बुझ्न आवश्यक छ । जनताको बहुदलीय जनवादले सैनिक वा राजकीय पार्टीको दृष्टिकोणलाई अस्वीकार गरेको छ । रुसी नेता स्टालिनले अघि सारेका कठमुल्लावादी सोच र व्यवहारबाट पार्टीलाई मुक्त गर्न उनले अपिल गरेका छन् । पार्टी जहिले पनि राजनीतिक पार्टी नै हुनुपर्ने कुरामा जोड दिएको छ । नीति र नेतृत्व निर्माणमा कार्यकर्ता र जनताको भूमिका निर्णायक हुने गरी जनआधारित कार्यकर्ता पार्टीको अवधारणालाई आत्मसात् गरेको छ । माथिबाट नियुक्त गरिएका नेता–कार्यकर्ता होइन, जनता तथा कार्यकर्ताबाट अनुमोदित नेता–कार्यकर्ताको अवधारणालाई आत्मसात् गरेको छ । यी मान्यताहरू आज पनि आधारभूत रूपमा सही छन् ।

हरेक लोकतान्त्रिक पार्टीले यी मान्यताहरूलाई निरन्तरता दिनु पर्दछ र समयोचित ढङ्गले विकसित पनि गर्दै जानुपर्दछ । विचारको स्वतन्त्रता, राजनीतिक प्रतिष्पर्धा, बालिग मताधिकार, आवधिक निर्वाचन, संसद्को सर्वोच्चता, कानूनी राज आदि हामीले आत्मसात् गरेका राज्यसत्ता सङ्गठित गर्ने र परिचालन गर्ने विधिहरू हुन् । यी विशेषताहरूलाई जनताको बहुदलीय जनवादमा मात्र होइन, समाजवादमा पनि उत्तिकै महत्वका साथ आत्मसात् गर्नुपर्दछ । मदनले भनेका थिए– ‘वर्गहरू रहेसम्म तत्तत् वर्गको स्वार्थ पक्षपोषण गर्ने पार्टीहरू रहन्छन् ।’ तसर्थ, जनवादी र समाजवादी दुवै चरणमा बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अवलम्बन गर्नुपर्दछ भन्ने मदनको स्पष्ट दृष्टिकोण थियो । उनको यो विचारलाई उग्रवामपन्थीहरूले काउत्स्की र बन्र्सटाइनको विचार मानेर ‘युरो कम्युनिज्म’ भनी आलोचना पनि गरे । तर भण्डारीले बहुदलीय प्रतिष्पर्धालाई अस्वीकार गर्नेर अन्य दललाई प्रतिबन्ध लगाउने कुरा कम्युनिष्ट आन्दोलन असफल हुने प्रमुख कारण माने ।

यस सन्दर्भमा हामीले पूर्वी युरोप र सोभियत सङ्घको अनुभवबाट पनि शिक्षा लिन जरुरी छ । ७० वर्षको सोभियत संघ र दशकौं पुरानो पूर्वी युरोपको समाजवादी सत्ता, पटकासम्म पनि नपट्काई बालुवाको घर झैं ढल्न पुग्यो र ती मुलुकहरू पुँजीवादमा फर्किए । यस निम्ति साम्राज्यवादको प्रयत्नले जरुर काम गरेको छ । तर, मुख्य कारण भने त्यहाँका कम्युनिस्ट पार्टी र समाजवादी सत्ताका गल्ती–कमजोरीहरूले उत्पन्न गरेको जनआक्रोश नै हो । जनताको असन्तुष्टिलाई सङ्गठित गरेर समाजवादी सत्तालाई पल्टाउने काममा त्यहाँका पुँजीवादपन्थीहरू सफल भएका हुन् । किन कम्युनिष्ट सत्तालाई बचाउन जनता सडकमा निस्केनन् ? यसको स्पष्ट जवाफ छ– कम्युनिष्ट पार्टी जनताबाट अलग भएर हो, शासकहरू पार्टीबाट कटिएर हो ।

अन्तरपार्टी जनवादको कमीबाट अधिनायकवादी सोचको उदय भयो र नेतृत्व जनताको सेवक नभएर शासक भए । यसबाट नेपालका सबै पार्टीले र विशेषगरी कम्युनिस्ट र समाजवादीहरूले शिक्षा लिन आवश्यक छ । वास्तवमा मदन भण्डारी स्पष्ट सोच भएका दूरदर्शी राजनेता थिए । सन् १९१७ मा १० हजार पार्टी सदस्य भएको रसियाली कम्युनिष्ट पार्टी बोल्सेभिकको नेतृत्वमा अक्टोबर क्रािन्त सम्पन्न भयो भने सन् १९८९÷०९० मा एक करोड पार्टी सदस्य भएको रसियाली कम्युनिष्ट पार्टीले समाजवादी सत्तालाई बचाउन सकेन । त्यति मात्र होइन, मिखाइल गोर्वाचेभको नेतृत्वमा ग्लानोस्ट र पेरेस्ट्रोइकाको बलमा एक जना जनता पनि समाजवादी सत्ता रक्षार्थ सडकमा निस्केन ।

‘नेपालमा माक्र्स जीवित छन्’ शीर्षकमा अमेरिकाबाट प्रकाशित हुने प्रसिद्ध ‘न्यूजविक’ पत्रिकामा अन्तरवार्ता छापिएपछि र भारतको कलकत्तामा सम्पन्न कार्यक्रममा विचार प्रस्तुत गरेपछि मदनको लोकप्रियता अन्तर्राष्ट्रिय स्तरमा ह्वात्तै बढेको थियो र उनको जीवनमा खतरा पनि बढेको थियो । छोटो सार्वजनिक जीवन व्यतित गरे पनि आमजनका मनमनमा आजसम्म मदन भण्डारी जीवित रहनुमा प्रखर वक्तृत्वकला एक कारण हुनसक्छ तर त्योभन्दा धेरै महत्वपूर्ण चाहिँ कम्युनिष्ट आन्दोलनलाई दिशाहीनता र जडताबाट बाहिर निकाल्ने उनको पहलकदमी नै हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here