नेपालको पर्यटन र व्यपारको विषयमा युएईमा चिन्तन

0
8

रामप्रसाद ढु्गेल,
अबुधाबी ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, पर्यटन विकास र लगानी भित्र्याउने सन्दर्भमा युएईमा कार्यरत नेपालीहरुले के योगदान गर्न सक्छन् भन्ने विषयमा नेपाली दूतावास अबुधावीले पहल शुरु गरेको छ ।

दूतावास परिसरमा आयोजित कार्यक्रममा युएईमा लामो समयदेखि व्यापार, पर्यटन र लगानीको क्षेत्रमा प्रत्यक्ष रूपमा काम गरिरहेका करिब ४५ जना नेपालीहरु सहभागी भएर आफ्नो अनुभव साटेका थिए ।

कार्यक्रममा दूतावासका नियोग उपप्रमुख विशाल भट्टराईले नेपाल र यूएई बीचको व्यापार, लगानी र पर्यटन प्रवर्द्धन सम्बन्धी एक रिपोर्ट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपस्थित व्यवसायीहरुले नेपालको व्यापार, लगानी र पर्यटनको क्षेत्रमा रहेका चुनौति र समाधानका उपायहरुवारे आ–आफ्ना विचार तथा सुझाव दिएका थिए । कार्यक्रममा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले सरकारले हालैका दिनहरुमा अबलम्बन गरेका नीति र कार्यक्रमहरुबारे जानकारी दिए ।

राजदूत क्षेत्रीले नेपालको व्यापार, लगानी र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावनाहरु रहेकाले युएईमा लगानी गरेका नेपाली व्यावसायीहरुलाई आ–आफ्नो क्षेत्रबाट नेपालको समृद्धि र विकासमा सहयोग गर्न अनुरोध गरे ।

नेपाल सरकारले गएको महिना मात्रै लगानी सम्मेलन गरेको र लगानी सम्मेलनमार्फत् अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बाधक देखिएका भनिएका केही कानुन अध्यादेशमार्फत् संशोधन गर्ने निर्णय समेत गरेको थियो । कार्यक्रमको संचालन दूतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले गरेका थिए ।

यसैबीच भन्सार विभागको एक तथ्याकअनुसार युएईसँग दुई अर्ब ५० करोड ४६ लाख नौ हजार रुपैयाँ व्यापार घाटा छ । यही व्यापार घाटा अन्तरलाई न्यूनीकरण गर्न समेत यस्ता कार्यक्रम सहयोगी बन्ने दुतावासको बुझाई छ । नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेका १० देश अन्तर्गत भारत, चीनसहित युएई छैठौं नम्बरमा छ ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका मुलुकहरु मध्ये भारत, अमेरिका, जर्मनी, युके, चीन, फ्रान्स, युएई, जापान, अष्ट्रेलिया, क्यानडा, इटाली टर्की, हङकङ (चीन) र डेनमार्क प्रमुखरुपमा रहेका छन् ।

नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, युएई, युक्रेन, मलेशिया, अष्ट्रेलिया, इण्डोनेशिया, मोरोक्को, जर्मनी, अमेरिका, ओमान, थाइलेण्ड, अर्जेन्टिना र फ्रान्स प्रमुखरुपमा रहेका छन् ।

नेपालको व्यापार, लगानी र पर्यटनका क्षेत्रमा प्रचुर सम्भावनाहरु रहेकाले सवै नेपाली व्यावसायीहरुलाई आ–आफ्नो क्षेत्रबाट नेपालको समृद्धि र विकासमा सहयोग गर्न दूतावासले नेपाली व्यावसायीहरुलाई अनुरोध गरेको छ ।

नेपालको आर्थिक विकासका लागि यस्ता कार्यक्रमहरुले दीर्घकालीन रूपमा सकारात्मक सहयोग मिल्ने धारणा राख्दै सहभागी धेरैले दूतावासको पहलको लागि आभार व्यक्त गरेका थिए । दूतावासले पनि प्राप्त सुझावलाई लिखित रूपमा संकलन गरी सम्बन्धित मन्त्रालयमा पठाउने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here