देवी पाथीभरामा ऐतिहासिक मिनी संग्रहालयको प्रदर्शनी

0
3

अमित खम्बू,
अर्जुनधारा ।

झापाको अर्जुनधारा–६ कप्तानवारीस्थित देवी पाथीभरा अङग्रेजी विद्यालयमा मंगलबार ऐतिहासिक मिनी संग्रहालयको प्रदर्शनी गरिएको छ ।

बुद्धशान्ति–४ स्थित ऐतिहासिक मिनी म्यूजियम प्रा.लि.सँगको समन्वयमा विद्यार्थीहरुलाई इतिहाससँग जोड्दै उनीहरुलाई त्यस सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको विद्यालयका संस्थापक राजेशकुमार आचार्यले जानकारी दिए ।

म्यूजियमका सञ्चालक एवम् स्थानीय मुना मदन एकाडेमीका संस्थापक चेतन ढुङ्गेलका अनुसार प्रदर्शनीमा पुरातत्व विभागले सूचीकृत गरेको सबै सामग्रीसहित जम्मा ३०३ वटा वस्तु प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा विभिन्न जातजातिले प्रयोग गर्ने मौलिक सामग्रीहरु, परम्परागत कृषि सामग्रीहरु, परम्परागत हातहतियारहरु, विभिन्न काठ र बाँसबाट तयार गरिएका हस्तकलाका सामग्रीहरु, बत्ती बाल्न तथा नापतौलमा प्रयोग हुने सामग्रीहरु, धार्मिक एवम् विद्युतीय सामग्रीहरु, पुस्तकहरु आदि राखिएका छन् ।

त्यसैगरी प्रदर्शनीमा नेपालमा शासन गर्ने शाह वंशका राजाहरु, राष्ट्रिय विभूतीहरु, शहीदहरु आदिको तस्वीर पनि राखिएको थियो । ‘इतिहास र परम्परासँग परिचित हौं’ भन्ने मुख्य नारासहित स्थापना भएको उक्त म्यूजियमका लागि सबै सामग्रीहरु जुटाउन आफूलाई चार महिना लागेको सञ्चालक ढुङ्गेलले जानकारी दिए । “यस किसिमको प्रदर्शनीलाई सबै विद्यालयमा सञ्चालन गर्ने हाम्रो लक्ष्य रहेको छ ।”–उनले भने ।

प्रदर्शनीका सहभागीहरुलाई म्यूजियमकातर्फबाट सहजकर्ताहरु राम महत, नारायण दाहाल, मनिकुमार भूजेल, मनोज थपालिया र कृषला केदेम लिम्बूले सहजिकरण गर्ने गरेका छन् । यस किसिमको कार्यक्रमले विद्यार्थीहरुमा प्रोजेक्ट बेस्ड लर्निङको सिकाइ प्राप्त हुने हुँदा उनीहरुलाई सहज हुने निजी तथा आवासिय विद्यालय संगठन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलाले बताए । उनले यस किसिमको क्रियाक्लाप संस्थागतसँगै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पनि आवश्यक हुने दावी गरेका थिए ।

त्यसैगरी प्रदर्शनीमा सहभागी कक्षा–७ का १३ वर्षीय छात्र योजन सापकोटाले पुर्खाहरुले चलाएको सामग्रीहरु बारे प्रत्यक्ष हेर्न र बुझ्न पाउँदा खुसी लागेको बताए । त्यस्तै अर्का सहभागी कक्षा–५की ११ वर्षीया छात्रा युना शेर्पाले पुस्तकबाट भन्दा धेरै ज्ञान प्राप्त भएको हुँदा आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरुलाई विद्यालयले निरन्तरता दिनुपर्ने बताइन् ।

विद्यार्थी, अभिभावक, प्याब्सनमा आबद्ध पदाधिकारी तथा सदस्यहरु गरि जम्मा ३५० जनाले उक्त प्रदर्शनीको अवलोकन गरेको विद्यालयका संस्थापक आचार्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here