जैविक विविधता र मानवबीचको अनुपम सम्बन्ध

९ जेष्ठ २०८१, बुधबार मा प्रकाशित

गुलाबलाई देखेर राम्रो हे भाइ नछुनू ।
लोभले हे¥यो, मोहनी गयो जङ्गली नहुनु ।
सिर्जनाभित्र रचना राम्रा नजरका जुहार ।
ईश्वरको हाँसो पाएका फूल छोएर नमार ।
– महाकवि लक्ष्मीप्रसाद देवकोटा

मुनामदनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका माथिका कालजयी हरफहरुले प्रकृतिका सुन्दर सिर्जना फूलको संरक्षणको लागि आह्वान गरेका छन् । यहाँ जैविक विविधताको संरक्षणकै कुरा उठाइएको हो । प्रत्यक्ष सुन्दर बनेर देखिने फूलको महव भए जस्तै जिवजन्तु, वनस्पति तथा सूक्ष्मजीवी सबैको उत्तिकै महत्व रहेको हुन्छ । आज मे २२ तारिख अर्थात् अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको दिन हो । हामीले पृथ्वी सबैको साझा घर हो र सबै प्राणीको यहाँ बाँच्न पाउने उत्तिकै अधिकार रहन्छ, जति मनुष्यको हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । यसैको सन्दर्भ बनाएर यो आलेख तयार पारिएको हो ।

जीवजन्तु, वनस्पति तथा सूक्ष्मजीवीहरु मानव सभ्यताका एक महत्वपूर्ण अङ्गको रुपमा रहेका छन् । मानव जातिले गरेको उन्नति, प्रगति र समृद्धिमा यिनको महत्वपूर्ण हात रहेको छ । तर, विकासको क्रममा तिनको आवश्यकता र महत्व मानिसले बिर्सदै गएको देखिन्छ । आममानिसमा विभिन्न प्रकारका सजीव र तिनको महत्व बारे चासो उत्पन्न गर्न र सजगता वृद्धि गर्न प्रत्येक वर्ष मे २२ मा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस (इन्टरनेशनल डे फर बायोलोजिकल डाइभर्सिटी, आईडीवी) मनाउन थालिएको हो ।

सन् १९९३ को २९ डिसेम्बरमा जैविक विविधताको बिषयमा संयुक्त राष्ट्रसंघको साधारणसभाबाट पारित भई सन् २००० बाट मनाउन थालिएको यो उत्सवले कुनै न कुनै रुपमा धेरैको ध्यान खिच्न सकेको देखिन्छ । त्यसरी नै सन् २०१० लाई अन्तर्राष्ट्रिय जैविक विविधता वर्षको रुपमा संसारैभर विभिन्न कार्यक्रम गरी मनाइएको थियो । यो पर्वले मुख्य गरेर मानिसहरुमा सचेतना वृद्धि गर्ने, पारित योजना कार्यान्वयन गर्ने, एकीकृत कार्यक्रमहरू सञ्चालन गर्ने तथा चुनौतीहरु सम्बोधन गर्न सहयोग पुग्ने विश्वास संयुक्त राष्ट्रसंघले राखेको पाइन्छ । यो वर्ष २०२४ को अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको नारा ‘बि पार्ट अफ द प्लान (Be part of the plan) भन्ने रहेको छ । अर्थात् हाम्रा सबैखाले विकास योजनामा जैविक विविधता एक अभिन्न अङ्ग बन्नु पर्दछ ।

पृथ्वीमा सूक्ष्म जीव, जनावर तथा वनस्पतिका गरि लाखौं प्रजातिहरु रहेका छन् । जैविक विविधताभित्र प्रजाति विविधता, पारिस्थितिक प्रणाली विविधता तथा आनुवांशिक विविधता पर्दछन् । असंख्य जीवहरुको वंश तत्व आफैंमा एउटा ठूलो सम्पदा हो । यसको जर्गेना गरेर आधुनिक जैविक प्रविधिको प्रयोग गरी तिनलाई अन्य प्राणीमा अनुकूल प्रत्यारोपण गरी फाइदा लिन सकिन्छ । आज यस्ता अनेकौं प्रयोगहरु सफल भई हामीसम्म आइपुगेका छन् । प्रजाति विविधताले धेरै प्रकारका जीवजन्तु तथा वनस्पति एउटै थलोमा देख्न पाइने सम्भावना बोकेको हुन्छ । पारिस्थितिक प्रणालीको विविधताले संसारमा अनेकौं प्रकारका पर्यावरणको अस्तित्व स्वीकार्छ ।

नेपाल जैविक विविधताको क्षेत्रमा विश्वभरी चर्चित छ । किनभने धरातलीय विविधतासँगै जैविक विविधता जोडिएर जाने गर्दछ । समुद्री सतहबाट ५७ मिटरदेखि ८८४८.८६ मिटरसम्म चुलिएको धरातलमा हावापानीको विविधता तथा जैविक विविधताको अध्ययन एक चाखलाग्दो बिषयवस्तु बनेर रहेको छ । अध्ययनकर्ता तथा अन्वेषण गर्नेहरुको लागि यो सबै प्रकारका हावापानी र धरातल रहेको छ, उत्तरी तिब्बतीयन पठ्ठार र दक्षिणी गङ्गाको मैदानको संगम स्थल हो । दी थ्योरी अफ प्लेट टेक्टोनिक्स अनुसार पृथ्वीभित्र हेर्दा यो दुई प्लेटको सङ्गम हो । हिन्दू कुष हिमालय क्षेत्रमा यो पूर्व र पश्चिम हिमालयको संगमस्थल हो । त्यसकारण जैविक विविधताले यो सम्पन्न बन्न पुगेको हो ।

परापूर्वकालदेखि नै नेपाली सनातन परम्पराले विभिन्न वनस्पति तथा प्राणीलाई विभिन्न भगवानका रूपमा आस्था राखी पूजा गर्दै आएको छ । विशेषगरी सबै धर्मावलम्बीले वर, बेल, रुद्राक्ष र अशोकलाई भगवान् शिव, पीपल र बाबियोलाई भगवान् विष्णु, शमी र दुबोलाई गणेश, तुलसी र अमलालाई लक्ष्मी, कुश र पलाँसलाई ब्रह्मा अनि खयरलाई अग्निका रूपमा स्वीकारेको देखिन्छ । त्यसैगरी किरात–मुन्धुमलाई त पूर्ण रूपमै भूमि तथा जैविक विविधताका पुजारी मानिन्छ । यमपञ्चकका पाँच दिनमा काग, कुकुर, गाई, गोरु र अन्तिममा भाइ पूजाको चलनले जैविक विविधता र मानव संस्कृतिबीचको सम्बन्ध पुष्टि गर्दछ । नाग पञ्चमीमा सर्पको पूजा गर्ने, पानी नपर्दा भ्यागुताको विवाह गराउने, घरमा तुलसीको मोठ बनाउने, बाटोमा वर–पिपल रोपेर चौतारा निर्माण गर्ने, धान नाच गर्ने, दही, चामलको अक्षता बनाउने, कुभिण्दोको वलि चढाउने, फूलपातीको चलन आदिले नेपालमा रहेका विभिन्न जातजातिका मानिसहरु परम्परादेखि नै जैविक विविधतासँग कुनै न कुनै रुपमा जोडिएका छन् भन्ने प्रमाण दिन्छन् ।

धार्मिक, सांस्कृतिक, औषधि उपचार, खाद्यान्न, नगदेवाली, लत्ता कपडा आदि कुरामा वनस्पति तथा विविध जनावरसँगको सामिप्यता देख्न सकिन्छ । कृषि कार्यमा सहयोग पु¥याइरहेका गाई, गोरु, राँगा, भैँसी, भेडाबाख्रा, तिनको गोवरको महŒवको व्याख्या गरेर सकिन्न । चिया कफी पिउनेदेखि अभिजालो र चरीअमिलो माडेर खोकीको औषधि गर्ने हाम्रा हजुरबा र हजुराआमाबाट सिकेका हौं । जथाभावी उम्रने आँकका पातले सेक्नेदेखि घोड्ताप्रेका पातको पानी खान हामीले अघिल्लो पुस्ताबाटै सिकेका हौं । आमाले तोरीको तेलले मालिस गरेका हातहरुले यो लेख लेख्न भ्याइरहेका छन् । राडीपाखीको स्रोत भेडाको महव र रेशमी कपडाको स्रोत रेशमी किराको जीवनचक्र अहिले विद्यालयका पुस्तकहरुमा पढ्न पाइन्छ । मौरीको मह र उखुको रस जतिमिठो लाग्छ त्यति नै कागतीको चुक र तित्रीको अचारको अमिलो प्रिय लाग्दछ । गौँथलीले दलिनमा गुँड लाएर नाचेको र माछा पौडिएको हेर्ने इच्छा कसलाई हुँदैन र ? रङ्गीन पुतलीहरु ननाचीकन फूलबारीको सौन्दर्यले पूर्णता पाउँदैन ।

नेपालमा करिब बाह्र हजार प्रजातिका वनस्पतिहरु सूचीकृत छन् । त्यस्तै एक सय १७ प्रजातिका सरिसृप, दुई सय १८ प्रजातिका स्तनधारी, दुई सय ३० प्रजातिका माछा, छ सय ५३ प्रजातिका पुतली, आठ सय २२ प्रजातिका ढुसी र च्याउ, तीन सय ८३ प्रजातिका ऊनिउँ, तीन सय ६३ प्रजातिका सुनाखरी, आठ सय ९१ प्रजातिका चराहरु सूचीकृत भएका छन् ।
नेपालमा उच्च पहाडी र हिमाली पर्यावरणमा रमाउने, कम सूर्यको ताप र प्रकाश रुचाउने सिओफाइट्स वनस्पति समेत पाउन सकिन्छ । सन् २०१८ मा अल्पाइन बोटानी जर्नलमा सेड्रिक डेन्टण्टले ‘दि हाइएष्ट भास्कुलर प्लान्ट्स अफ अर्थ’ नामको अनुसन्धानात्मक लेख लेखेका छन् । जसमा सगरमाथा तथा तिब्बतको ६४०० मिटरको उचाईमा सौसुरीया नाफालोड्स प्रजातिको फूल फुल्ने वनस्पति पाइएको कुरा उल्लेख छ । त्यस्तै ८४०० मिटर उचाईमा जिओडर्माटोफिल्स अब्सकुरस प्रजाति तथा एभरेष्टी उपप्रजातिको ब्याक्टेरिया पत्ता लागेको छ । यसले संसारमै दूर्लभ सर्वोच्च क्षेत्रको जैविक विविधताको प्रतिनिधित्व गर्नेकुरा जैविक विविधताका अध्येता कमल मादेनले बताएका छन् ।

मानिसले सर्वोच्च प्राणी आफूलाई ठान्दै अरुको अस्तित्व नस्वीकार्दा धेरै अप्ठेराहरु देखापर्ने गरेका छन् । पृथ्वी सबैको हो । यो साझा फूलबारीमा धेरैखालका फूलहरु हाँस्न पाउनुपर्दछ, नाच्न पाउनु पर्दछ भन्ने भावना सबैमा हुनु पर्दछ । जैविक विविधता र जीव विकासक्रमको ज्ञानले मानिसलाई अहिङ्सक बनाउँछ, सबै प्राणीलाई माया र सम्मान गर्न सिकाउँछ । यो ज्ञानले मानिसलाई हामी सबै प्राणीका पुर्खा एकै भएकाले हामी सबै दाजुभाइ जस्ता हौं भन्ने तथ्य बुझाउन सक्छ । सबै मानिसमा प्रेम गरौं, सबै प्राणीको बाँच्न पाउने अधिकारको सुनिश्चित गरौं । आफू बाँचौ, अरुलाई बाँच्न दिऔं, जैविक विविधता बारे आफू पनि बुझौं र अरुलाई बुझाऔँ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here