सशस्त्रले बिलबिजक भएको कपडा लगेको व्यापारीको आरोप

0
11

भद्रपुर ।

सशस्त्र प्रहरीले बिलबिजक भएको लत्ताकपडा गोदाममा छापा मारेर लगेको व्यापारीले आरोप लगाएका छन् ।
झापाको कचनकवल गाउँपालिका–६ बनियानी बजारस्थित एके सप्लायर्सले जमनाल मियाँको घर भाडा लिएर पसलको सरसामान राख्दै आएको थियो ।

सोही गोदामबाट सशस्त्र प्रहरीले बिलबिजक भएको सामान जबरजस्ती उठाएर लगेको सञ्चालक अरुण साह बानियाले आरोप लगाएका हुन् ।

सोमबार दिउँसो करिब १ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित, सीमा सुरक्षा गुल्म घेरावारीका डीएसपी प्रभातकुमार गौतम नेतृत्वको टोलीले सामान राखिएको मियाँको घर गोदाम घेराउ गरेको बताइएको छ ।
बिलबिजक भएको लत्ताकपडा सशस्त्रले जबरजस्ती लैजान खोज्दा व्यापारीसँग विवाद भएको थियो । व्यापारी साहले राजश्व कर्मचारी नआएसम्म गोदामको ताला नखोल्ने अडान लिएपछि विवाद झन् बढेको थियो ।

लगत्तै सशस्त्र प्रहरीले आन्तरिक राजश्व कार्यालय भद्रपुरका कर्मचारीलाई बोलाए । राजश्वका कर अधिकृत तिलक थापा मगर र नायव सुब्बा विशाल काफ्ले घटनास्थल पुगे । त्यसपछि व्यापारी साहले गोदामको ताला खोलिदिए । साहले बिलबिजक देखाएपछि सोही अनुसार राजश्वका कर्मचारीहरूले सामान चेकजाँच गरे । बिलबिजक अनुसारको सामान यकिन गर्न नसकेपछि सशस्त्रलाई जिम्मा लगाएर हिँडेको कर अधिकृत थापा मगरले बताए । बिक्रेताको भ्याट बिल व्यापारीले देखाउनु भयो । ‘बिल अनुसारको सामान मिलाउन समस्या भयो, त्यसैले सामानको गन्तीपछि हामी हिड्यौैं– अधिकृत थापाले भने । यस्ता घटना राजश्व अनुसन्धानले हेर्नु पर्ने उनको भनाइ छ ।

बिलबिजक देखाउँदा– देखाउँदै पनि सशस्त्रले जबरजस्ती सामान लगेको व्यापारी साह बताउँछन् । मेरो बनियानी बजारमै कपडाको पसल छ, खुद्रा र थोक दुवै बिक्री गर्छु,– व्यापारी साहले भने –पसलको सामान राख्नलाई गोदाम भाडामा लिएको हुँ । गोदाममा अनुज टे«डिङ्ग एण्ड सप्लायर्स भद्रपुर र जय श्री दुर्गा भवानी स्टोर बिर्तामोडबाट लत्ताकपडा खरिद गरी ल्याएर भण्डारण गरी राखेका थियांै । दुवै बिक्रेताको भ्याट बिल देखाउँदा पनि सशस्त्रले आफूमाथि अन्याय गरेको उनले बताए ।

बिलबिजक भएको सामान राजश्व अनुसन्धान कार्यालय इटहरी लैजानु पर्नेमा सशस्त्रले मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाएको छ । बिक्रेताले भन्सारबाटै ल्याएर मेरो सप्लायर्सलाई बिक्री गरेको सामान कसरी भन्सारले बझ्योे ? भद्रपुर भन्सार छाडेर मेची भन्सार बुझाउनु पर्ने कारण के छ ? उनले प्रश्न गरे ।

सशस्त्रका डीएसपी गौतमले सबै सामानको उल्लेखित भ्याट बिलको ओसी लगेको उनको दाबी छ । भन्सारमा बिल बिनाको सामान बुझाएपछि डीएसपी गौतमले लगेको बिल कहाँ गयो ? यहाँबाट पनि सशस्त्रले ममाथि ज्यादती गरेको पुष्टि हुन्छ,– उनले भने ।

सशस्त्रले भारतबाट अवैध रूपमा चोरी तस्करी गरी लुकाइछिपाइ गोदाममा राखिएको भन्दै २३ पोका कपडा ४८ लाख १८ हजार ७०० मूल्य तोकेर सोमबार नै मेची भन्सार कार्यालयमा बुझाइसकेको छ । सशस्त्रले बेवारिसे अवस्थामा भेटिएको भनी सामान बुझाएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले बताए । सशस्त्रले सामान ल्याएपछि सामान बुझेको हो, सशस्त्रले बिलबिजक भने भन्सारमा बुझाएको छैन– सूचना अधिकारी कँडेलले भने,– प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी सर बिदामा हुनुहुन्छ, उहाँ आएपछि मात्र त्यस बारेमा थप अनुसन्धान गरिन्छ । व्यापारीसँग सामानको बिलबिजक छ भने सामान भन्सारमा राख्न मिल्दैन, यहाँबाट राजश्व अनुसन्धान पठाउनु पर्ने हुन्छ –उनले भने ।

यता सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित, सीमा सुरक्षा गुल्म घेरावारीका डीएसपी प्रभातकुमार गौतमले गोदामबाट लगिएको सामान बिलबिजक नभएको दावी गरेका छन् । भन्सार छलीको सामान गोदामबाट लगेर मेची भन्सार बुझाएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here