पथरीशनिश्चरेका १३ वटा विद्यालयलाई कक्षा घटुवाको पत्र

0
6

पथरी शनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या थोरै भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवा हुने पत्र दिइएको छ ।

पथरीशनिश्चरे नगर शिक्षा विभागले आगामी शैक्षिक सत्रसम्ममा विद्यार्थी संख्या नवढे कक्षा घटुवा हुने पत्र प्रदान गरेको हो। नगरका शिक्षा विभाग प्रमुख शालिग्राम काफ्लेले जानकारी दिए अनुसार पथरी शनिश्चरे नगरपालिकामा २ वटा माध्यमिक तह, १० वटा आधारभूत विद्यालय (कक्षा १-८) र एउटा संस्कृत विद्यालयलाई घटुवाको पत्र पठाईएको छ।

वडा नं. ४ को सिद्धार्थ आविमा विद्यार्थी संख्या कम भएको कारण यसै वर्षदेखि ५ बाट घटाएर ३ सम्म मात्र पठन पाठन गर्न घटुवाको पत्र दिइएको शिक्षा विभागले जनाएको छ ।
अन्य विद्यालयहरुलाई केही हप्ता अघि तोकिएको विद्यार्थी संख्या नपुऱ्याए घटुवा गरिने पत्र दिइएको हो ।

वडागत हिसावले हेर्दा घटुवाको पत्र पाउनेहरुमा वडा नं. १ बाट एउटा, २ नं. वडाका २, ३ बाट १, वडा नं. ४ बाट २ वटा, ५ नं. वडाबाट १, ६ नं. वडाबाट ३ वटा, ७, ८ र ९ नं. वडाबाट १-१ वटा विद्यालय रहेका प्रमुख काफ्लेले बताएका छन्।

विद्यार्थी संख्या कम भएर कक्षा घटुवाको पत्र पाउने विद्यालयहरु क्रमशः सरस्वती आवासीय विद्यालय, विश्वनाथ संस्कृत पाठशाला, सामाजिक आवि, जनकल्याण आवि, सिद्धार्थ आवि, जनता आवि, दुर्गा आवि, शिक्षा सदन आवि, सहिद रामलक्ष्मण आवि,मिलन आवि, सिरीजंगा आवि, सुनाखरी मावि र दुर्गा मावि रहेका छन्।

हाल नगरपालिकाभित्र २७ वटा विद्यालय, ३ वटा बाल विकास केन्द्र र एउटा संस्कृत पाठशाला गरेर ३१ वटा सरकारी शैक्षिक संस्थाहरू रहेका छन् । सो विद्यालयहरुमा गत शैक्षिक सत्रको तथ्याङ्क अनुसार ९ हजार ७ सय ३८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन भने नगरभरी २ सय ६४ जना शिक्षक रहेका शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here