चिकित्सकमाथि आक्रमण गर्ने दुई जना पक्राउ

0
5

बिर्तामोड ।

मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई भद्रपुरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति ३६ वर्षीय सुमन श्रेष्ठ र मंगलबारे युवा क्लबका अध्यक्ष ४६ वर्षीय पिपलराज गिरी रहेका छन् । प्रहरीले श्रेष्ठ र गिरीलाई भद्रपुर ४ बाट बिहीबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

चिकित्सक कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा तीन जनाविरुद्ध उजुरी दर्ता भएको थियो । घटनामा संलग्न अर्का एकजना सानु रोक्का फरार छन् । उनीहरुले अस्पतालमा कार्यरत मेडिकल अधिकृत मोरङ पथरी शनिश्चरे –१ का २५ वर्षीय डाक्टर ब्रोमिस बुढाथोकीलाई कुटपिट गरेको आरोप छ । जेठ ३ गते दिउँसो खाजा खाएर फर्किने क्रममा डक्टर बुढाथोकीमाथि सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको बताइएको छ ।

उनीहरुले डाक्टर बुढाथोकीमाथि पुरानो रिसिइबीलाई लिएर आक्रमण गरेको जाहेरीमा उल्लेख छ । त्यसैगरी, जेठ ७ गते आकस्मिक कक्षमा सेवा दिइरहेको अवस्थामा डाक्टर अनिल यादवलाई आक्रमण गरेको बताइएको छ । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरिनु पर्ने र शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका थिए ।

आन्दोलन अन्तर्गत बुधबार अस्पतालको ओपिडी सेवा ठप्प पारेर उनीहरु आन्दोलनमा उत्रिएका थिए । चिकित्सक कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेकाले चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here