पोलियोविरुद्धको राष्ट्रिय ‘आईपीभी खोप’ अभियान झापामा जेठ १६ गतेदेखि शुरु गरिने

0
4

भद्रपुर ।

स्वास्थ्य कार्यालय झापाले पोलियोविरुद्धको राष्ट्रिय आईपीभी खोप अभियान २०८१ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय आईपीभी खोप अभियान देशब्यापी रुपमा जेठ १३ देखि २६ गतेसम्म सञ्चालन भइरहेको भएपनि झापामा आगामी जेठ १६ देखि २२ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालय झापाको आयोजनामा आज (सोमवार) भद्रपुरस्थित कार्यालयमा सञ्चारकर्मीहरुसँग एकदिने अभिमूखिकरण गोष्ठी गरेर अभियानको तयारीका बारेमा जानकारी दिइएको हो । खोप अभियानका क्रममा झापाका १५ वटै पालिकामा जम्मा ४५ हजार ६४८ जना बालबालिकालाई खोप दिइने भनिएपनि बिद्यालय तथा बिभिन्न तथ्याङ्क अनुसार ५८ हजार ३२६ जना कुल लक्षित समुह रहेका स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार झापामा खोपका लागि ५५२ वटा खोप केन्द्र, ४९४ जना खोप दिने स्वास्थ्यकर्मी र ८३६ जना स्वयमसेवकको तयारी गरिएको छ । खोप लगाउने क्रममा कुनै बालबालिकामा समस्या देखिएमा तत्काल उपचारको ब्यवस्थासमेत मिलाइएको बताइएको छ ।

आईपीभी खोप २०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई मात्र दिइने खोप अधिकृत पोखरेलले बताएका छन् । उक्त तोकिएको समयमा खोप लिनबाट बन्चित समुहलाई मात्र खोप प्रदान गरिने उनको भनाई छ । पोलियो खोप बिरुद्धका मुखबाट खुवाइने र सुईबाट लाइने दुई प्रकारका खोप रहेका र तोकिएका बिद्यालयहरुमा सुईबाट लगाइने खोप लगाइने खोप अधिकृत पोखरेलले जानकारी दिए ।

अभियान अन्तरगत झापाका १५ वटै स्थानीय तहका तोकिएका सामुदायिक तथा संस्थागत बिद्यालयहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीद्धारा खोप लगाइने पोखरेलले बताए । त्यस्तै बिद्यालय बाहिर रहेका तोकिएका उमेश समुहका बालबालिकालाई पनि नजिकको खोप केन्द्रमा लगेर खोप लगाइने छ । खोप लगाउने लक्षित बर्गले खोप लगाइसकेपछि अनिवार्य अभियान खोप कार्ड पाउनेछन् र उक्त कार्ड सुरक्षित राख्नु पर्ने उनले बताए । पोलियो भाइरसले जुनसुकै उमेर समुहका मानिसलाई संक्रमण गर्न सक्ने तर, ५ बर्ष मुनिका बालबालिका बढी जोखिममा रहने पोखरेलले बताए ।

उनका अनुसार पोलियो भाइरस दूषित पानी, खानेकुराबाट एकबाट अर्को ब्यक्तिमा सर्ने, संक्रमित २०० जना मध्ये एकजनामा पक्षघात हुने, प्राय गरेर खुट्टा र हातमा हुने, पोलियोबाट पक्षघात भएका मध्ये ५ देखि १० प्रतिशतमा स्वासप्रस्वास माक्षपेशी नचल्ने र मृत्यु हुनेछ । नेपालमा सनु २०१० देखि पोलियो शुन्य अवस्थामा रहेको र नेपालले सन् २०१४ मार्च २७ गते पोलियो मुक्त प्रमाणपत्रसमेत प्राप्त गरेको छ ।

जेठ १३ गतेदेखि शुरु भएको अभियान अन्तर्गत देशभरका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइदैछ । अभिमूखिकरण गोष्ठी कार्यक्रममा जनस्वास्थ्य अधिकृत प्रकाश पाठक, जनस्वास्थ्य निरिक्षक अधिकृत विश्वनाथ श्रेष्ठलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन नसिङ अधिकृत सुनिता राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here