भद्रपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाइने

0
5

पार्थ मण्डल,झापा ।

देशभर क्रिकेटको क्रेज बढिरहेको बेला भद्रपुर क्रिकेट क्लबले मेची बहुमुखी क्याम्पस परिसरभित्र अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने कसरतमा जुटेको छ।

यसैबीच मेची बहुमुखी क्याम्पस परिसरभित्र पुस्तकालय भवन उत्तर पूर्वमा रहेको खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा स्तरोन्नतिका लागि २५ वर्षसम्म भाडा (लिज) लिने भनी भद्रपुर क्रिकेट क्लब र क्याम्पसबीच सहमति भएको हो।

क्याम्पसमा आयोजित कार्यक्रममा क्लब र क्याम्पसका पदाधिकारीबीच १९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता पत्रमा क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुली र क्याम्पस प्रमुख जीवनकुमार पोखरेलले हस्ताक्षर गरेका हुन्।

क्याम्पसका तर्फबाट सम्झौता पत्रको रोहवरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पृथ्वीविक्रम राई, विद्यार्थी कल्याण प्रमुख डम्मरप्रसाद रेग्मी, स्ववियू सभापति सन्देश धमला र क्लबका तर्फबाट उपाध्यक्षहरू नितेश वर्मा र मनोज श्रेष्ठ, वडाध्यक्ष गौरव सुब्बा (मनोज), सल्लाहकार दीपेश ढकालले हस्ताक्षर गरेका थिए।

सम्झौता पत्र अनुसार खेल मैदान २५ वर्षका लागि क्लबलाई भाडामा दिने तथा प्रत्येक ५/५ वर्षमा हरेक ५ वर्षमा भाडा पुनरावलोकन र लिज नवीकरण गर्नुपर्ने, क्लबले खेल मैदान प्रयोग गरे बापत क्याम्पसलाई वार्षिक ५० हजार रुपैयाँ भाडा शुल्क बुझाउनुपर्ने, खेल मैदानको व्यवस्थापन, संरक्षण, सुरक्षा एवम् सरसफाइ दुवै पक्षको दायित्व तथा जिम्मेवारी हुनेछ, प्रतियोगिता भएको बेला विद्यार्थी, शिक्षक र कर्मचारीको प्रवेशमा छुट हुनुपर्ने, क्याम्पसले आफूलाई आवश्यक पर्दा उक्त मैदान निःशुल्क प्रयोग गर्न पाउनुपर्ने लगायत बुँदामा सम्झौता भएको क्लबका अध्यक्ष पराजुलीले बताए।

समग्र नगरको विकासका लागि दुवै पक्षबीच भएको यो सम्झौता ऐतिहासिक भएको क्यानका पूर्व केन्द्रीय सदस्य छत्रप्रसाद अधिकारी र भद्रपुर नगर प्रमुख गणेश पोखरेललगायतले जिकिर गरेका छन्। यसअघि २०६५ जेठ २१ गते नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच क्याम्पस परिसरमा क्रिकेट मैदान सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको थियो।

संघको तर्फबाट सदस्य छत्रप्रसाद अधिकारी र क्याम्पसको तर्फबाट तत्कालीन क्याम्पस प्रमुख टिका प्याकुरेलले हस्ताक्षर गरेपश्चात् क्रिकेट संघले क्रिकेट पिच बनाइदिएको थियो। २०६७ फागुनमा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगितासमेत सोही मैदानमा सञ्चालन भएको थियो।

सो प्रतियोगिता नेपाल सशस्त्र प्रहरी बलले जितेको थियो। विगत १३ वर्षदेखि ओझेलमा पारिएको क्याम्पसको क्रिकेट मैदानलाई पुनः सञ्चालनमा ल्याउन यहाँका खेलप्रेमि लागि परे र क्रिकेट क्लब नै गठन गरेर अघि बढेको भद्रपुर-८ का वडाध्यक्ष गौरव सुब्बाले बताए। सोही बमोजिम लामो कसरतपछि क्याम्पससँग पुनः सम्झौता गरिएको उनले बताए।

क्रिकेट मैदान काँसघारीमा परिणत भएको थियो। २०८० वैशाखदेखि श्रमदानमार्फत मैदान मर्मत–सम्भारको काम सुरु गरेको बताउँदै वडाध्यक्ष सुब्बाले भने, ‘एक वर्षभित्र मैदानको काँसको झार काटेर, आगो लगाएर, डोजर लगाई जोतिएर सम्म्याउने काम गर्‍यौं।’

अहिले मैदानलाई चाहिने उपयुक्त माटो ल्याउने काम तीव्र गतिमा भइरहेको छ। ‘मैदानलाई चाहिने दुबो (घाँस) भारतबाट मगाउने प्रक्रियामा छौँ,’ उनले भने। कोशी प्रदेशमा विराटनगरबाहेक उपयुक्त क्रिकेट मैदान भद्रपुरकै रहेको उनको दाबी छ।

यस मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन क्लबका पदाधिकारीहरू लागि परेको क्लबका अध्यक्ष पराजुलीको भनाइ छ। क्रिकेट मैदानको स्तरोन्नतिका लागि स्थानीय तह, प्रदेश र संघसहित क्यानसँग पनि आवश्यक बजेट माग गरिने उनको भनाइ छ।

नेपाल क्रिकेट संघ १ नम्बर प्रदेश समितिले क्याम्पसको क्रिकेट मैदानको सम्भाव्यता र अवस्थाका बारेमा स्थलगत निरीक्षण समेत गरिसकेको क्लबका सल्लाहकार दीपेश ढकालले जानकारी दिए। क्लब छिट्टै नेपाल–भारतबीच मैत्रीपूर्ण क्रिकेट खेलाउने तयारीमा जुटिसकेको उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here