उखुको जुस बेचेर मनग्य आम्दानी

0
9

कैलाली,

धनगढी उपमहानगरपालिका– ३ की पुजा शर्माले धनगढीको सहिद गेट नजिकै उखु जुसको व्यवसाय गर्दै आउनुभएको छ । उहाँले जुस बिक्री गरेर जीविकोपार्जन गरिरहनुभएको छ ।

शर्माले थोरै लगानीमा भए पनि स्वरोजगार बन्नुपर्छ भन्ने मनसायबाट प्रेरित भई उखु जुसको व्यवसाय सुरु गरेको बताउनुभयो । “पहिले अर्काको पसलमा काम गर्थे । अर्काको काम गर्दा जानीनजानी कहिलेकाहीँ गल्ती भयो भने अनावश्यक कुरा सुन्नु पर्दथ्यो । आजभोलि आफैँले व्यवसाय सञ्चालन गरेपछि कमाएको जति खर्च गरेर बचत पनि हुन्छ”, उहाँले भन्नुभयो ।

धनगढीस्थित स्थानीय बजारबाट रु ६० हजारमा उखु पेल्ने मेसिन खरिद गरी व्यवसाय सुरु गरेकी भन्दै शर्माले मासिक रु ७० हजार बराबरको उखु जुसको कारोबार हुने गरेको बताउनुभयो । उहाँका अनुसार बालबच्चाको लालनपालन, शिक्षा र घरपविारको सम्पूर्ण खर्च कटाएर रु ३५ हजार जति बचत हुने गरेको छ । उखु जुस प्रतिगिलास रु ३० मा बिक्री गर्दै आएको उहाँले बताउँनुभयो ।

धनगढीको जुगेडाबाट प्रतिक्विन्टल रु एक हजार पाँच सयमा उखु खरिद गरेर शर्माले जुस व्यवसाय गर्दै आउनुभएको हो । केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै जुसको व्यवसाय पनि राम्रो हुँदै आएको उहाँको भनाइ छ ।

लामो समयदेखि उखु जुस व्यवसाय सञ्चालन गरी जीवन निर्वाह गर्दै आउनुभएका छोटु गुप्ताले पनि यही व्यवसायबाट जीविकोपार्जन भइरहेको बताउनुभयो । कैलाली र कञ्चनपुरको सीमास्थित डोके बजार नजिकै व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले मासिक रु एक लाख बराबरको कोरोबार हुने गरेको जानकारी दिनुभयो ।

करोबारको पचास प्रतिशत जति फाइदा हुने गरेको गुप्ताको भनाइ छ । उहाँले धनगढीका तीन स्थानमा उखु जुस पेल्ने मेसिन राखेर व्यवसाय गर्दै आउनु भएको छ ।

उखु जुसको व्यवसायले जीविकोपार्जनका साथै आम्दानीको स्रोत बन्दै गएको अर्का व्यवसायी अमरबहादुर चौधरीले बताउनुभयो । उहाँले जाडो याममा ज्याला मजदुरी गर्ने र गर्मीमा प्रत्येक वर्ष जुसको व्यवसाय गर्दै आएको बताउनुभयो । मासिक रुपमा रु ९० हजार जति कारोबार हुने गरेको भन्दै सबै खर्च कटाएर रु ३५ हजार फाइदा हुने उहाँको भनाइ छ ।

थोरै लगानीमा राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय यो व्यवसायप्रति धेरैको आकर्षण बढ्दै गएको छ । धनगढीमा हिजोआज अत्यधिक गर्मी बढ्ेसँगै चिसो पेय पदार्थको व्यापार बढेको स्थानीय व्यापारीको भनाइ छ । धनगढी बजारलगायत आसपासका क्षेत्रमा झण्डै एक सय उखुको जुस बिक्री गर्ने व्यवसायी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here