पोखरा विमानस्थलमा महंगो ऋणको खेल पर्दाफास गरेपछि पत्रकार बुढाथोकीलाई चिनियाँ राजदूतको धम्की

0
8

काठमाडौं ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ऋण दिएको चीनले नेपालबाट ५ प्रतिशत ब्याज लिइरहेको खुलासा भएको छ ।

चीन र नेपालबाट सार्वजनिक गरिएका दस्तावेजमा २ प्रतिशत ब्याजमा ऋण दिएको भनिए पनि ५ प्रतिशत महंगो ब्याज लिइरहेको पत्ता लागेको हो । ५ प्रतिशतको दस्तावेज लुकाएर २ प्रतिशत ब्याज देखाइएको तथ्य सार्वजनिक भएपछि नेपालका लागि चिनियाँ राजदूत चेन सोङ धाकधम्कीमा उत्रिएका छन् ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न नेपाल सरकारले एक्सपोर्ट इम्पोर्ट बैङ्क चीनबाट आर. एम. बी. १ अर्ब ३७ करोड ८७ लाख ऋण प्राप्त गरी ५ प्रतिशत ब्याज तिर्ने गरी नेपाल नागरीक उड्डयन प्राधिकरणलाई उपलब्ध गराएको छ । उक्त ऋण मध्ये रू.२ करोड १० लाख सावाँ फिर्ता भई रू.१९ अर्ब ३० करोड ४३ लाख बाँकी रहेको छ’ तथ्य सार्वजनिक गरेपछि आर्थिक मामिलामा कलम चलाउने वरिष्ठ खोज पत्रकार गजेन्द्र बुढाथोकीले थप अनुसन्धान गरी लुकाइएको ५ प्रतिशतको दस्तावेज फेला पारेर ट्वीटर उजागर गरेका थिए ।

‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ,’ पत्रकार बुढाथोकीले ट्वीटरमा लेखेका छन्, ‘महालेखा प्रतिवेदनको कुरा त एक झलक हो, नेपाल सरकारकै आधिकारिक निकायको दस्तावेजमै ५ प्रतिशत ब्याज भनेर लेखेको छ । यसका अरु विवरण छन् । पोखरा विमानस्थल बनाउनका लागि ५ प्रतिशतका ब्याजदरमा ऋण लिएको हो ।‘

आफूले राष्ट्र र जनतालाई घात गरिएको दस्तावेज फेला पारेको र त्यसको समाचार सामग्री तयार पारिरहेको जानकारी ट्वीटरमार्फत दिँदा चिनियाँ राजदूत सोङ कुटनीतिक मर्यादा नाघेर वादप्रतिवाद तथा माफी नमागे ठिक नहुने धम्कीमा उत्रिएका हुन् ।

एक कुटनीतिज्ञ भन्छन्, ‘राजदूतहरू सामाजिक सञ्जालमा त्यस्तो व्यक्तिगत स्तरमा संलग्न हुँदैनन् । यो कूटनीतिक मर्यादाभन्दा बाहिरको कुरा हो । दुखद छ ।‘ राजदूत जस्तो पदमा बसेर सामाजिक सञ्जालमै बाझाबाझमा उत्रिएपछि चिनियाँ राजदूतको आलोचना भएको छ । स्पष्टीकरण सोधेर फिर्ता पठाउन आवाज उठेको छ ।

पत्रकार बुढाथोकी र राजदूत सोङको ट्वीटरमा वादप्रतिवाद:

पत्रकार बुढाथोकी: पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ ।

राजदूत: मैले देखेको सबैभन्दा खराब झूट । यो सार्वजनिक जानकारी हो, तर तपाईं यसको बारेमा झुट बोल्न हिम्मत गर्दै हुनुहुन्छ ।

पत्रकार बुढाथोकी: पर्खनुहोस् म प्रमाण सहित प्रकाशित गर्छु ।

राजदूत: यदि तपाईसँग प्रमाण छ भने प्रकाशित गर्नुस् । यदि छैन भने प्रमाण खोज्न त समय लाग्छ । यो कस्तो नियत हो, पहिले झुट फैलाउने, फेरि चर्चा कम हुनसम्म पर्खिने र फेरि झुट फैलाउने ?

पत्रकार बुढाथोकी: म मेरो म्यागजिन पत्रिकामा प्रकाशित गर्नेछु । 

राजदूत: हामी तपाई र तपाई जुन मानिसहरुको प्रतिनिधित्व गर्नुहुन्छ, उनीहरुबाट औपचारिक माफी माग गर्छौं । 

पत्रकार बुढाथोकी: मलाई धम्की नदिनुहोस्, तपाईलाई आफ्नो मर्यादा ख्याल गर्नुहोस् मिस्टर चेन । मसँग नेपाल सरकारको प्रमाण छ ।

मर्यादा नाघेर राजदूतले दिएको धम्कीको सर्वत्र विरोध भएको छ । काठमाडौं पोस्टका वरिष्ठ पत्रकार अनिल गिरीले राजदूतले धम्क्याएकोमा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । ‘हेल्लो पररास्ट्र मन्त्रालय, एउटा देशको राजदूतले एउटा इमान्दार, कर्मठ र साहसी नेपाली पत्रकारलाई सामाजिक संजालमा टोले गुण्डा शैलीमा थर्काउन पाउने हो ? के हामी दास हो ?’ परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र अधिकारीहरुको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस युवा नेता विकाशकुमार ठाकुरले चिनियाँ राजदूतलाई स्पष्टीकरण सोध्न माग गरेका छन् । ‘एक कर्मठ र साहसी पत्रकारलाई चिनियॅा राजदूतले टोले गुण्डाको शैलीमा थर्काईरहेको देख्दा सार्वभौम देशको नागरिकको नाताले लज्जित भएको छु,’ उनले भनेका छन्, ‘परराष्ट्र मन्त्रालयले राजदूतलाई तुरुन्त स्पष्टीकरण सोधियोस् । होइन भने जनताले कारवाही गर्नेछ । हामी कसैको दास होइन ।’

ठाकुरले कुटनैतिक मर्यादा विपरीत चिनियाँ राजदूतले पत्रकारलाई टोले गुण्डाको शैलीमा थर्काउनु अति भएको भन्दै सरकारले तुरुन्त माफी माग्न लगाएर कारवाही गरी फिर्ता पठाउन माग गरेका हुन् । ‘हामी सबै पत्रकार बुढाथोकीको साथमा छौं । दूतावास घेर्नु पर्ने अवस्था सृजना नहोस,’ उनले चेतावनी दिएका छन् ।

देशराज सोनिक, पीएचडीले लेखेका छन्, यदि यो बयान भारतीय राजदूतको हुन्थ्यो भने अहिलेसम्म स्क्रिनसट भाइरल भइसक्थ्यो । साथै भारतीय दूतावास अगाडि प्रदर्शन भइसक्थ्यो ।

अन्य ट्वीटर प्रयोगकर्ताले पनि राजदूत सोङको तल्लो स्तरको टिप्पणीको विरोध गरिरहेका छन् । नेपालपाना बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here