पोखराको प्राण बनेका भारतीय पर्यटक

0
4

पोखरा ।

हिजोआज पोखरामा भारतीय नम्बर प्लेटका जीप, कारको संख्या अधिक देखिन्छ, ठाउँ–ठाउँमा भारतीय नम्बर प्लेटका बसहरु पनि भेटिन्छन् । लेकसाइड, फेवाताल किनारलगायत मुख्य पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकहरुको संख्या नेपाली पर्यटककै हाराहारीमा छ ।

पोखराको फेवातलामा डुंगा चढ्ने, रात्रीकालीन क्लब, डान्स बारमा झुम्ने, प्याराग्लाइडिङमा रमाउनेदेखि पोखरा आसपासको हिलस्टेसन पुगेर चिसो हावापानीको आनन्द लिनेहरुमा अहिले आन्तरिकपछि दोस्रो स्थानमा भारतीय पर्यटक छन् ।

हनिमुन मनाउनदेखि साहसिक खेलको मज्जा लिनसम्म भारतीयहरु पोखरा आइरहेका हुन्छन् । उनीहरुको बढ्दो संख्याका कारण पर्यटन व्यवसायीहरु सन्तोष मानिरहेका छन् ।

गर्मी होस् वा जाडो, अहिले पोखरामा सबै सिजनमा भारतीय पर्यटक आइरहेका छन् । ठूला बस रिजर्भ गरेर, साना गाडी आफैं चलाएर र मोटरसाइकलमा समेत भारतीय पर्यटक पोखरा आइरहेका छन् । हवाइ यात्राबाट आउने संख्या पनि उल्लेख्य छ ।

उत्तरप्रदेशको कानपुरबाट राजु चाँचडको परिवार जेठ पहिलो हप्ता पोखरा घुम्न आएको छ । भारतमा गर्मीका कारण छोरीहरुको स्कुल बिदा भएका बेला उनी कार्यालयमा छुट्टी लिएर सपरिवार पोखरा आएका हुन् । ‘तालमा डुंगा चढ्न मज्जा छ, नजिकका हिल स्टेसनहरुमा पुग्दैछौं’, चाँचडले भने, ‘हामी खुब रमाइलो  गरिरहेका छौं ।’

पोखराको लेकसाइड घुमिरेहका लखनउका जाबेद मिया र उनका साथीहरुलाई पनि पोखराको सौन्दर्यले तानेको छ । ‘पहाडमा जानु हाम्रो त सपनाजस्तै हो, झन् गर्मी मौसममा पहाडको चिसोले यति आनन्द दिन्छ भन्ने मलाई थाहा थिएन’, मियाँ भन्छन्, ‘पहाडको हरियो जंगल, हिमालबाट आएको नदी र तालहरु हेर्दा मात्रै पनि धेरै मज्जा आइरहेछ ।’

विहारबाट मोटरसाइकल लिएर पोखरा घुम्न आएका सन्देश यादवले सडक यात्रामा भने केही कठिनाइ भोग्नुपर्‍यो । पोखरा आएपछि सबै अप्ठेरा बिर्सेको बताउने उनले भने, ‘पोखरा यति सुन्दर ठाउँ होला भन्ने मेरो कल्पनामै थिएन ।’

भारतमा यतिबेला लोकसभा चुनाव चलिरहेको छ भने भारतीयहरु अधिक रुचाउने स्पोर्ट्स इभेन्ट इन्डियन प्रिमियर लिग पनि चलिरहेको थियो । त्यति हुँदा पनि पोखरामा भारतीय पर्यटकको उपस्थिति उल्लेख्य छ । यसले भारतीय पर्यटकहरु प्रतिकुल अवस्थामा पनि पोखरा आइरहेको देखाउने व्यवसायीहरु बताउँछन् ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार हिजोआज पोखरामा कुल पर्यटकको ३० प्रतिशत भारतीय छन् । ‘भारतीय र आन्तरिक पर्यटक नआउने भने अहिले होटल धान्न मुश्किल हुन्थ्यो’, उनी भन्छन्, ‘अघिपछि आन्तरिक पर्यटक धेरै हुन्थे, अहिले ५०–६० वटा भारतीय टुरिस्ट बस देखिँदा नेपाली बसहरु १० वटा मात्रै देखिन्छन् ।’

२०७५ वैशाख २८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ दर्शन गरेपछि पोखरा र यही बाटो हुँदै जानुपर्ने मुक्तिनाथको भारतमा थप प्रचार प्रसार भएको थियो । त्यही कारण पोखरा हुँदै मुक्तिनाथ पुग्ने र आफ्नै गाडीसमेत लिएर आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको नेपाल पर्यटन बोर्ड पोखराका पूर्वप्रमुख काशीनाथ भण्डारीले बताए ।

मोदीको जन्म सहर गुजरातबाट गत वर्ष असोजमा एकै पटक ७०० जनाको समूह पोखरा हुँदै मुक्तिनाथ पुगेको थियो । निलकण्ठवर्णी स्मृतियात्रा नाम दिएर उनीहरु तीर्थयात्रामा निस्किएका थिए ।

करिब २०० वर्षअगाडि भारतका स्वामीनारायणले मुक्तिनाथ भ्रमण गरेका थिए । मुक्तिनाथ जाँदा–आउँदा पोखरा र वरपरका ठाउँहरुको उनले आफ्नो आत्मकथामा उल्लेख गरेका छन्  । आत्मकथा अध्ययन गरेका वुद्धिजीवि विश्व सिग्देलका अनुसार कालीगण्डकीको तिरैतिर आएर मुक्तिनाथमा तपस्या गरी ज्ञान प्राप्त गरेर पोखरा, काठमाडौं हुँदै स्वामीनारायण भारत फर्केका थिए । ‘आफ्ना गुरुलाई पछ्याउँदै मोदी मुक्तिनाथ आएपछि फेरि एकपटक दुनियाँलाई आकर्षित गर्‍यो’, उनले भने ।

तिनै स्वामीनारायणलाई पछ्याउँदै उनका भक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धार्मिक स्थल मुक्तिनाथ आएपछि पोखरा र मुस्ताङले भारतीय पर्यटकलाई आकर्षित गरेको पोखरेली व्यवसायीहरुको पनि भनाइ छ ।

पोखरा र मुक्तिनाथमा भेटिने पर्यटकमध्ये समूह समूहमा पुग्नेको ठूलो संख्या भारतीयकै छ ।

पोखरेली पर्यटनको प्राण

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा भारतबाट मात्र ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल आएका थिए । सन् २०२४ को पहिलो ४ महिनामा भारतबाट हवाई मार्ग भएर १ लाख १० हजार ५७३  पर्यटक आएका छन् ।

सरकारले स्थलमार्गबाट आउने भारतीय पर्यटकको गणना गर्दैन । त्यसैले भारतीय पर्यटकको यकिन संख्या पत्ता लाग्दैन । महामारी सुरु हुनुभन्दा अघि सन् २०१९ मा २ लाख ५४ हजार १५० जना भारतीय पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए । हिजोआज भने त्यो संख्या बढेको तथ्यांकले देखाउँछ ।

स्थलमार्ग भएर नेपाल घुम्न आउनेहरुको संख्या पनि बढ्दै गएको छ । यसको लाभ भारतीयको मुख्य पर्यटकीय गन्तव्यमध्येको एक पोखराले उठाइरहेको छ ।

पोखराका स्थानीय व्यवसायीहरुले सन् २००६ यता हरेक वर्ष ‘चलिये पोखरा’ अभियान सञ्चालन गर्दै आएका छन् । विहारको पटना, उत्तर प्रदेशको लखनउ र गोरखपुर क्षेत्रमा  कानपुर, बनारस, इलाहाबाद र फैजाबादजस्ता क्षेत्रसम्म व्यवसायीहरु पुगेरै पोखरामा पर्यटकलाई निम्तो दिने गरेको होटल संघ पोखराका पूर्वअध्यक्ष तथा होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले जानकारी दिए । ‘यो अभियानले निकै राम्रो नतिजा दिँदैछ, सिजन–अफसिजनमा पनि भारतीय पर्यटक आइरेहका छन्, आन्तरिक पर्यटकपछि उनीहरूको संख्या नै ठूलो छ,’ पूर्वअध्यक्ष पराजुलीले भने,‘ भारतीय पर्यटककको उपस्थितिविना पोखराको पर्यटन अधुरो अपुरो छ ।’

नेपालका सीमावर्ती भारतीय शहरहरुमा पुगेर पोखराको प्रचारप्रसार गर्दै आएका होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् । ‘हामीले चलाएको अभियानले पनि भारतीय पर्यटकको संख्या बढाउन भूमिका खेलेको छ’, उनले भने, ‘व्यवसायी आफैंले भारतीय पर्यटकको संख्या बढाउन पहल र प्रयास गर्दै आएका छौं ।’

भारतीय पर्यटकले पोखरामा सरदर २ दिन बिताउने गरेका छन् । उनीहरुको बसाइ लम्ब्याउन पोखरा नजिकका अरु गन्तव्यहरुसम्म पनि पुर्‍याउनुपर्ने व्यवसायीहरु बताउँछन् । ‘अहिले पुम्दीकोटमा एउटा विशाल शिव मूर्ति बन्दा धेरै भारतीय पर्यटकहरु त्यहाँ दर्शनका लागि पुगिरहेका छन्’, सुवेदीले भने, ‘के के गर्दा भारतीय पर्यटकलाई पोखरामा बढी घुम्न, रमाउने र उनीहरुको बसाइ अवधि लम्ब्याउन सकिन्छ, ती कामहरु गर्न सबै पक्ष लाग्नुपर्छ ।’

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य रहेको बासु त्रिपाठी पछिल्लो समयमा भारतीय पर्यटकले नै पोखराको पर्यटनको प्राण धानेको बताउँछन् । अझ भारतीय सीमासँग जोडिएका राजमार्ग विस्तारको काम सकिएपछि भारतबाट आउने पर्यटकको संख्या उच्चदरमा बढ्ने उनको आश छ ।

अहिले सुनौली नाका जोड्न महत्वपूर्ण खण्डका रुपमा रहेको बुटवल–नारायणगढ सडक खण्डसहित जनकपुर–भिठ्ठामोड मोहनापुल–अत्तरिया, बुटवल–बेलहिया, वीरगन्ज–पथलैया, नेपालगन्ज–कोहलपुर, रानी–विराटनगर–इटहरी–धरान काँकडभिट्टा–पानीट्यांकी सडक निर्माणको अन्तिम चरणमा छन् ।

नेपालगञ्ज–कोहलपुर र काँकडभिट्टा–पानीट्यांकीको काम सकिएको छ । नाकासम्म फराकिलो बन्दै गरेका सडकले पर्यटक तान्न थालिसकेका छन् । वीरगञ्ज, भैरहवा, बुटवल, नेपालगञ्ज, झापा लगायतका क्षेत्रमा भारतीय पर्यटकको उपस्थिति बढ्दो छ र उनीहरु पहाडी क्षेत्रका विभिन्न हिलस्टेसनतर्फ आकर्षित छन् ।

‘भारतीय पर्यटकहरुमा विविधता छ, उनीहरुको व्यवहारमा पनि समानता छैनन्’, अध्यक्ष सुवेदी भन्छन्, ‘पोखराको पर्यटनमा उनीहरुको स्थान महत्वपूर्ण छ, उनीहरुले हाम्रो पर्यटन उद्योग जोगाउन र फैलाउन सघाएका छन् ।’

गर्मी छल्न मात्र होइन, वर्षैभरि

भारतीय पर्यटकहरु बढीजसो स्थलमार्ग भएर नै पोखरा आउँछन्, तर भारतीय सीमाबाट पोखरासम्म आइपुग्ने सडकहरुको अवस्था बेहाल छ ।

विस्तारका क्रममा अलपत्र परेको बुटवल–नारायणगढ सडकले सुनौली नाका भएर भित्रिने पर्यटक हैरान छन्, मुग्लिन–पोखरा सडकको अवस्था पनि उस्तै खराब छ । अहिले पोखरा आउने बाटोमा हिलो र धुलोको साम्राज्य छ । पर्यटकका लागि यात्रा कठिन र कष्टकर छ ।

सिद्धार्थ राजमार्गको यात्रा भारतीय पर्यटकका लागि रुचिकर छैन । घुमाउरो र साँघुरो सडक भएकाले उनीहरु यसलाई जोखिमयुक्त मान्छन् । सिद्धबाबाको पहिरोका कारण पनि पर्यटकहरु पहिलो रोजाइमा पर्दैन ।  ठाउँ–ठाउँमा सडक मर्मतको काम चलिरहेकाले यात्रा कष्टकर छ ।

‘अहिले बिग्रिए पनि सीमा नाकाबाट पोखरासम्म आउने विभिन्न राजमार्ग र सडक खण्डहरु ४ र ६ लेनको बन्दै छन्’, व्यवसायी त्रिपाठी भन्छन् ।

पोखराका व्यवसायीको चाहना त पोखराबाट भारतका शहरहरुसँग सीधा हवाइ सम्पर्क हो । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको छ । यहाँबाट भारतका शहरहरुमा सिधा उडान भइदिए भारतीय पर्यटकको संख्यामा अझै ठूलो वृद्धि हुनसक्थ्यो ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान शून्य भएकाले व्यवसायीहरु निराश त छन् । तर, भविष्यप्रति उनीहरु आशावादी छन् ।

‘बाटो छिटो र राम्रो बनदिएको भए हप्ताका २ दिन त आन्तरिक पर्यटक प्रशस्तै आउने अवस्था थियो । भारतको गोरखपुर र बनारसदेखि पर्यटकहरु पोखरा ठूलो संख्यामा आउने थिए’, व्यवसायी त्रिपाठी भन्छन् ।

हरेक वर्ष मार्चदेखि जुनसम्म र अगस्टदेखि डिसेम्बरसम्म पोखरामा भारतीय पर्यटकको संख्या धेरै हुन्छ । पहिले भारतीय पर्यटकहरु गर्मी सिजनमा मात्र आउँथे । अहिले वर्षभरि नै आउन थालेका व्यवसायी त्रिपाठी बताउँछन् । यसले पोखरामा पर्यटकीय ‘लो सिजन’मा पनि व्यवसायीले उल्लेख्य ग्राहक पाइरहेका छन् ।

होटल माउन्ट कैलाशका सञ्चालक, रेवान पोखराका अध्यक्ष नरेश भट्टराई पोखरामा आउने भारतीय पर्यटकहरु क्यासिनोमा समेत रमाउने गरेको बताउँछन् । ‘पोखरा विमानस्थलबाट भारतका शहरहरुमा सिधा उडान हुने हो र नेपालका भारतीय सीमा नजिकका विमानस्थलहरुबाट पोखरामा थप उडानहरु हुने वातावरण बनाउने हो भने आगमन अझै बाक्लिंदै जान्छ’ उनले भने ।

अब भारतीय पर्यटकहरुको आगमन र खर्च बढाउने गरी पर्यटकीय पूर्वाधारहरु तयार गर्नुपर्ने भट्टराईको भनाइ छ ।

अहिले पोखरामा भैरहवा र नेपालगञ्जबाट मात्रै सीमित संख्यामा क्षेत्रीय उडान भइरहेको छ । भारतसँगको सीमा नजिकका विराटनगर, जनकपुर, भद्रपुर, सिमरा, धनगढी  विमानस्थलबाट पनि पोखरामा क्षेत्रीय उडान भए भारतीय पर्यटकहरु सजिलै पोखरा आउने भट्टराईको भनाइ छ ।

सास्ती भोग्छन् भारतीय

भारतीय पर्यटकहरु थोरै खर्च गर्नेदेखि अत्यधिक सुविधा खोज्नेसम्मका छन् । पोखरामा सस्तो सेवा खोज्ने भारतीय पर्यटकका लागि त्यही तहका धेरै होटलहरु पनि उपलब्ध छन् ।

नाम उल्लेख नगर्ने सर्तमा एक पर्यटन व्यवसायी भन्छन्, ‘यहाँ क्या–क्या मिलेगा भन्दै यौन पर्यटनको मज्जा लिने भन्दै आउनेदेखि सपरिवार आएर महँगो होटलमा हप्तादिनसम्म बस्ने र मन खोलेर खर्च गर्नेसम्मका भारतीय पर्यटक आउँछन् ।’

पोखरामा आउने भारतीय पर्यटकहरु मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री पनि छन् । प्रायः उनीहरु गाडी रिजर्भ गरेर आउँछन् र पोखरामा बास बसेर उत्तरतर्फ लाग्छन् । मुक्तिनाथबाट फर्किएर पनि पोखरामै बास बस्छन् ।

तर, बसमा आउनेहरुसँग पोखराका व्यवसायी खुशी छैनन् । जथाभावी बस रोकेर बाटोमै खाना पकाएर खाने र बसमै सुत्ने गरेको भन्दै उनीहरु यस्ता पर्यटकबाट मुलुकलाई फाइदा नहुने बताउँछन् ।

‘चामल र दाल समेत भारतबाटै किनेर ल्याउने र बाटोबाटोमा खाना पकाएर खाँदै फोहोर मात्रै छाडेर जाने गर्दा पर्यटकबाट हामीले पर्याप्त लाभ लिन सकेका छैनौं,’ युवा होटल व्यवसायी सौगात थापा  भन्छन्, ‘यो खालको अवस्थालाई हटाउने गरी नीति र विधिहरु बन्नुपर्छ ।’

तर, भारतीय पर्यटक यस्ता मात्र छन् भन्ने होइन । पछिल्लो समय धेरै खर्च गर्ने भारतीय पर्यटकहरु पनि आइरहेका लेकसाइडमा रेस्टुरेन्ट चलाइरहेकी सुप्रभा बस्याल बताउँछिन् । ‘भारतीय पर्यटक भनेर नाक खुम्च्याउने अवस्था छैन, अहिले त नडराई खर्च गर्ने भारतीयहरुको संख्या पोखरामा बाक्लिंदै गएको छ’, उनले भनिन् ।

पोखराको पर्यटन व्यवसायमा एउटा साझा मत के छ भने पर्यटन बजार चलायमान राख्न भारतीय पर्यटकको ठूलो भूमिका छ । जति धेरै भारतीय पर्यटकले पोखरा भ्रमण गर्छन्, त्यसकै बलमा थप पर्यटक भित्रिने लेकसाइडका होटल सञ्चालक शालिकराम सापकोटा बताउँछन् । ‘टिकटक र फेसबुकको रिल्समा राखेको भिडियो देखेरै आएको बताउने भारतीय पर्यटकहरु धेरै छन्’, उनले भने, ‘जति धेरै भारतीय पर्यटक यहाँ झुम्मिन्छन्, त्यसबाट हुने प्रचारले पोखरालाई नै लाभ मिल्छ ।’

पोखरामा भारतीय पर्यटक लक्षित गलत व्यवहार पनि देखिएका छन् । पर्यटकलाई विभिन्न प्रलोभन देखाएर आफ्नो होटल लैजान खोज्ने धेरै व्यवसायी छन् ।

गत १० फागुनमा पोखराका पर्यटन व्यवसायीले पर्यटकलाई बीच बाटोबाटै पिछा गरेर दुःख दिएको भन्दै उनीहरुलाई कारवाही गर्न माग राखेर प्रहरीमा ज्ञापन पत्र समेत बुझाएका थिए । ४ दिनअघि पर्यटकलाई दुःख दिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । उनीहरु होटल सञ्चालक र कमिसन लिएर काम गर्ने विचौलियाहरु थिए ।

विचौलियाहरुले पोखरा प्रवेश गर्ने मुख्य नाकामा बसभित्रै गएर पर्यटकलाई आफ्नो सम्पर्कको होटलमा लैजान जोडबल गर्ने गरेका छन् । पर्यटक आकर्षित गर्न उनीहरुले कानुनले निषेध गरेका सुविधा पनि पाइने आश्वासन दिने गरेका छन् ।

विचौलियाहरुले आफूले भनेकै होटलमा लैजान जबर्जस्ती गर्ने, झोला तान्ने, जान राजी नभएमा धम्क्याउनेसमेत गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकारीहरु बताउँछन् । पोखरा बसपार्क, पृथ्वीचोक, अमरसिंह चोक, बिरौटा, छोरेपाटनलगायत ठाउँमा गौंडा कुरेर दुःख दिनेहरु अझै सक्रिय छन् ।

नेपालमा पथ प्रदर्शक र ट्याक्सी चालकले पनि ठग्ने गरेको गुनासो भारतीय पर्यटकको छ । भारतीय पर्यटकहरुले राजमार्गमा खाल्डाखुल्डी धेरै भएको, शौचालय नभएको, स्वस्थ र राम्रो खानाखाजाको प्रबन्ध नभएको गुनासो गर्ने गरेका छन् । खुला सीमा भए पनि भारतीय सीमामा आएपछि सवारी पास लिन घण्टौं रोकिनुपर्ने लगायतका बाध्यताले समेत पर्यटकहरु हैरान हुने गरेका छन् ।

गाडी लिएर आउने पर्यटकलाई अनेक बहानामा दुःख दिने गर्दा भारतीय पर्यटकहरु बढ्न नसकेको रेवान पोखराका अध्यक्ष नरेश भट्टराई बताउँछन् ।

‘ठाउँ–ठाउँमा प्रहरी र ट्राफिक प्रहरीले अनेक बाहनामा भारतीय पर्यटकलाई पटक–पटक दःख दिन्छ,’ उनी भन्छन्, ‘एक ठाउँबाट प्रक्रिया पूरा गरेर आएका पर्यटकलाई चेकिङका नाममा दुःख दिने काम बन्द हुनुपर्छ ।’

तस्वीर : सरोज अधिकारी/अनलाइनखबर । यो समाचार अनलाइनखबर बाट साभार गरिएको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here