वैदेशिक रोजगार र पीडा

0
5

प्रत्येक दिन एक्काइस सयभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि विदेश जाँदैछन् । उनीहरु मध्ये अधिकांश युवाको गन्तव्य खाडी राष्ट्र र मलेसिया हुने गरेको छ । रोजगारी खोज्दै विदेश जानेमध्ये प्रत्येक दिन पाँच जना काठको बाकसमा नेपाल फर्किने गरेको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ । बोर्डको पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७७–२०७८ देखि २०७९–२०८० सम्म वैदेशिक रोजगारीमा गएकामध्ये चार हजार ३५ जना नेपाली श्रमिकको मृत्यु भएको छ । यही अवधिमा आठ सय ७० जनाको दुर्घटनामा परी अङ्गभङ्ग र बिरामी भएको बोर्डको तथ्यांक छ । वैदेशिक रोजगारको सन्दर्भमा गरिएको एक अध्ययनले पछिल्ला वर्षहरुको अङ्गभङ्ग तथा मृत्यु हुने दर बढेको देखाएको छ ।

रोजगारका लागि विदेश जाने युवाहरु नै हुन्छन् । १८ देखि ४४ वर्ष उमेर समूहका युवा ऊर्जाशील, उत्पादनशील र स्वस्थ नै हुन्छन् । अनि पनि रोजगारीमा जानुअघि उनीहरुको स्वास्थ्य परीक्षण गराइन्छ भने कतिपय रोजगारदाता संस्थाले आफैं स्वास्थ्य परीक्षण गराउँछन । त्यसरी गएका उत्पादनशील उमेरका युवाहरु दुर्घटनामा परी अङ्गभङ्ग हुनु, मृत्यु हुनु परिवारका लागि मात्रै होइन राष्ट्रकै लागि ठूलो क्षति हो । यद्यपि मरण अकाट्य सत्य हो, तर सबै स्वभाविक हुँदैनन् । त्यस्तोमा प्राकृतिक मृत्युवरण गरेका हुन् वा सवारी अथवा काम कै सिलसिलामा, आत्महत्या गरेका सबैको कारणको पहिचान गरिन्छ । परीक्षणमा आत्महत्या, हृदयघात, प्राकृतिक वा दुर्घटना जस्ता कारण देखाइन्छ, जो सबैका हकमा लागू नहुन सक्छ ।

वयस्क र ऊर्जावान उमेरका युवा बाकसमा फर्किनु अस्वभाविक र चिन्ताको विषय भएको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य गणेश गुरुङले बताएका छन् । गन्तव्यमा पुगेपछि रोजगारदाताले मेडिकल जाँच पास गरेका युवाको मृत्यु स्वभाविक हुन सक्दैन । त्यसकारण युवाको यस्तो पलायन रोक्न, व्यवस्थित गर्न र स्वदेशमै रोजगारको अवसर सृजना गर्न सरकारको ध्यान जानु पर्दछ । व्यक्तिगत रुपमै जान सकिने एक सय पचासभन्दा बढी देश छन् । त्यहाँ गएकामध्ये प्रत्येक वर्ष बढ्दै गएको मृत्युको तथ्यांकले मृत्युको कारणलाई स्पष्ट नपारिएको जानकारहरुको तर्क छ । रोजगारका लागि जाने भारत, बंगलादेशका नागरिकको मृत्यु त्यहाँको सरकार र राजनीतिमा चर्चाको विषय बन्छ । तर, हामी कहाँ चासो पनि देखाइँदैन । सरकारले समस्या र अवस्थाको अध्ययन गर्न समिति बनाउँछ । तर, त्यसको प्रतिवेदन सार्वजनिक नै गरिँदैन ।

युवाहरुको बढ्दो पलायनले निम्त्याएको मृत्युको भयावह चित्र देशका लागि दुर्भाग्यपूर्ण छ । यसले नेपालको सुदूरपूर्वको जीवनमा नकारात्मक प्रभाव पार्ने निश्चित छ । त्यसैले यसका कारण हुने मृत्यु वा दुर्घटना अथवा आत्महत्या जस्ता अनपेक्षित घटनालाई रोक्नेतर्फ सरकारको ध्यान जानु पर्दछ । त्यसका लागि स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने, युवालाई सिप, क्षमता र कुशलताका आधारमा काम गर्ने वातावरण निर्माण गर्नुपर्छ, होइन भने यसले दिने पीडाबाट मुक्ति पाइने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here