सादगीका अनुपम उदाहरण काका हो–चि–मिन्ह

0
9

कुनै पनि मुलुकको वर्तमान र भविष्य सुन्दर बनाउन सबल, सक्षम र सबैलाई डो¥याएर लैजाने पथप्रदर्शक नेतृत्वको खाँचो पर्छ । असल नेतृत्वको लसबैभन्दा महŒवपूर्ण गुण भनेको आदर्शवान चरित्र पनि हो । राज्यस्रोत दोहन गरेर अकूत सम्पत्ति कमाउने र राज्यकोषलाई बपौती सम्झने नेपाली शासकका लागि अर्ति, उपदेश र असल दृष्टान्तले खासै अर्थ राख्दैन । तर, संसारमा कैयौं आदर्श व्यक्तित्वहरूले इतिहासमा आदर्श र इमान्दारिताका अमिट इतिहास कायम गरेर गएका छन्, जसबाट हामीले नैतिक पाठ ग्रहण गर्न सकछँैं ।

सादा जीवनशैली र महान सोचका अब्बल अनुकरणीय व्यक्तित्वका रूपमा विश्वभर प्रसिद्धि कमाएका हो–चि–मिन्ह भियतनामी कम्युनिस्ट पार्टीका नेता, भियतनामी जनक्रान्तिका प्रणेता थिए । उनी कम्युनिस्ट क्रान्तिकारी, राष्ट्रवादी र अन्तर्राष्ट्रवादी थिए । हो ची मिन्ह को हुन् भन्ने प्रश्न इतिहासको एक महŒवपूर्ण बन्न सफल भएको छ । किनकि उनको व्यक्तित्वले विश्वको ध्यानाकर्षण गराउँछ । उनको नाम स्वतन्त्रताको लागि सङ्घर्ष गर्ने र निरन्तर सङ्घर्ष गर्ने प्रेरक व्यक्तित्वको रूपमा स्थापित भएको छ । उनको सोचमा जबसम्म स्वतन्त्रता प्राप्त हुन्न, तबसम्म सङ्घर्ष जारी रहनुपर्छ । हो ची मिन्हको रहस्यमय व्यक्तित्वलाई उनले पछाडि छोडेको असाधारण विरासतले उजागर गर्न सफल भएको छ ।

राष्ट्रपति हो ची मिन्ह भियतनामी स्वतन्त्रताको लागि अटल नेतृत्व, लचिलोपन र समर्पणको प्रतिमाको रूपमा खडा छन् । तसर्थ, भियतनामीहरूलाई हो ची मिन्ह को हुन् र उनले के गरे भनी प्रश्न सोधेमा सर्वसाधारण जनताले पनि सहजै जवाफ दिनेछन् । हो ची मिन्ह औपनिवेशिक शक्तिहरूको बिरूद्ध भियतनामको सङ्घर्ष र राष्ट्रको पुनर्मिलनको वास्तुकार थिए र स्वतन्त्र भियतनामका सर्वोपरि व्यक्तित्व थिए । ऐतिहासिक व्यक्तित्वहरू र प्रभावशाली नेताहरूले भरिएको संसारमा भियतनामको सबैभन्दा ठूलो राजनीतिक व्यक्तित्वका रूपमा स्थापित हुँदै हो ची मिन्हको व्यक्तित्व भियतनामको सीमा पार गरेर विश्वव्यापी छाप छोड्न सफल भएको छ ।

सम्पूर्ण राष्ट्रका नागरिक जीवन, स्वतन्त्रता र खुशीको खोजी चाहन्छन् । यो अमर कथन १७७६ सन्मा संयुक्त राज्य अमेरिकाको स्वतन्त्रताको घोषणामा गरिएको थियो । व्यापक अर्थमा, यसको अर्थ पृथ्वीमा सबै मानिसहरू जन्मदेखि समान छन्, सबै मानिसहरूलाई बाँच्ने, खुशी हुने अधिकार छ । सन् १७९१ मा भएको फ्रान्सेली क्रान्तिको मानव अधिकार र नागरिकको अधिकारको घोषणामा पनि भनिएको छ– सबै मानिसहरू स्वतन्त्र र समान अधिकारका साथ जन्मेका छन् र सधैँ सबैलाई स्वतन्त्रता र समान अधिकारहरू प्राप्त हुनुपर्छ ।
हो चि मिन्ह स्वतन्त्रताका पक्षपाती थिए । उनको वास्तविक नाम ङुयेन टाट थान्ह थियो । भियतनामी जनताले उनलाई काका हो भन्ने गर्थे । मध्य भियतनामको अनामको किमलियन भन्ने गाउँमा निम्न वैतनिक कर्मचारीको परिवारमा १९ मे, १८९० मा जन्मेका हो चि मिन्ह भियतनाममा वर्षौंदेखि जारी रहेको फ्रान्सेली उपनिवेश विरोधी स्वतन्त्रता सङ्ग्रामका अग्रणी नायक थिए । जनवादी गणतन्त्र भियतनामको स्थापनाका मुख्य योजनाकार र नेतृत्वकर्ता नै उनै थिए ।

उनी भियतनामी जनताका आँखाका तारा थिए । उनी भियतनाम स्वतन्त्र भएदेखि सन् १९६५ सम्म राजकीय पदमा रहे, तर उनमा कहिले पनि व्यक्तिगत महŒवाकांक्षा र लोभलालसाले सताएन । सरल जीवन र उच्च विचारका उनी सच्चा उदाहरण थिए । सरलताका लागि महात्मा गान्धी र भी.आई.लेनिनसँगै होको पनि नाम लिइन्छ । उनको देहावसान ७९ वर्षको उमेरमा हृदयाघातबाट २ सेप्टेम्बर, १९६९ मा भयो ।

सन् १९४५, सेप्टेम्बर २ मा सम्राट बाओ डाइको गद्दी त्याग पछि हो–चि–मिन्हले भियतनाम स्वतन्त्रताको घोषणापत्र पढे, जनताले उनलाई नयाँ गणतन्त्रको राष्ट्रपति बनाए, जसको बिरुद्धमा फ्रान्स उभियो, फलस्वरुप भियतनामी फौज र फ्रान्सेली फौजको बीचमा हिंसात्मक झडप शुरु भयो । उपनिवेश लाद्ने मुलुकहरूले आफ्ना जनतालाई स्वतन्त्र भएको देख्न चाहेनन् र मार्शल लको घोषणा गरे भने क्रान्तिकारीहरुले आम हड्तालको आह्वान गरे । यही बेलामा दुई लाखभन्दा बढी चिनियाँ फौज हनोइ आइपुगेकोले होले बाध्य भएर फ्रान्सेली युनियन अन्तर्गत रहने गरी फ्रान्ससँग सम्झौता गर्नुप¥यो । सम्झौता अनुरूप फ्रान्सले चिनियाँ फौजलाई फिर्ता पठाउनुपर्ने थियो । चिनियाँ फौजले उत्तरी भियतनाम छोड्ने बित्तिकै युद्ध भड्कियो । युद्धमा जनतालाई उतार्न होले हौस्याएका थिए । उनले भनेका थिए– ‘उपनिवेशवाद मर्दैछ । एसियाबाट उनीहरूको शासन सकिदैछ ।’

उनको योगदानको मूल्याङ्कन गर्दै सन् १९५७ मा आफ्ना सदस्य राष्ट्रहरुलाई युनेस्कोले विविध कार्यक्रमका साथ हो चि मिन्हको जन्म शताब्दी भव्यताका साथ मनाउन आह्वान गरेको थियो । राष्ट्रपति होको स्मृतिमा श्रद्धा व्यक्त गर्न युनेस्कोले त्यो आव्हान गरेको थियो । संस्कृति, शिक्षा र कलाको क्षेत्रमा होले पु¥याएको योगदान र भियतनामी जनताको मुक्तिको लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरी खेलेको अत्युच्च भूमिकाका साथै संसारका सबैका लागि उनले शान्ति, राष्ट्रिय स्वतन्त्रता, लोकतन्त्र र सामाजिक विकासका लागि उनको देनको स्मरण गर्नु आवश्यक रहेको युनेस्कोको भनाइ थियो । फ्रान्सेली उपनिवेशी शासनबिरुद्ध संघर्षको मुख्य रणनीतिकार हो नै थिए ।

जीवनमा शिक्षक, भान्से, जहाजको सहयोगी जस्ता सबै प्रकारका काम गरेका हो वास्तविक रूपमा श्रमिक वर्गका प्रतिनिधि थिए । सानैदेखि कुनै न कुनै प्रकारका क्रान्तिकारी गतिविधिमा लागेर उनले आफ्नो मातृभूमिको मुक्तिको लागि काम गर्ने अठोट लिएका थिए । उनी अमेरिका, रुस, बेलायत, फ्रान्स, हङकङ, थाइलैण्ड आदि देशमा जीवन यापनका क्रममा र क्रान्ति अगाडि बढाउने सिलसिलामा भ्रमण गरेका थिए । भियतनामीहरुले हो–चि–मिन्हको नेतृत्वमा फ्रान्सेली सेनाको बिरुद्धमा भियतनामका पहाड र धानका खेतहरूमा गुरिल्ला युद्ध लडे र अन्त्यमा सफल पनि भए ।

उनी भियतनाममा कम्युनिष्ट पार्टी र साम्यवादी शासन स्थापनाका मुख्य योजनाकार मात्र होइन, भियतनामी स्वतन्त्रता सङ्ग्रामका विशिष्ट पहलकर्ता पनि थिए । हो चि मिन्हका समर्थक र प्रशंसक संसारभरि नै थिए र आज पनि उनलाई श्रद्धाका साथ स्मरण गरिन्छ । नेपालमा पनि उनलाई अति आदरका साथ एक असल मानवका रूपमा स्मरण गर्ने क्रम जारी छ । नेपाली भाषाका सर्वप्रिय आधुनिक कवि भूपि शेरचनले हो–चि–मिन्ह भियतनामी जनताका मात्र नभएर विश्वकै न्यायप्रेमी जनताका लागि हिमाल जत्तिकै महान थिए भनेका थिए । कवि भूपि एक कवितामा हो चि मिन्हको योगदानको कदर गर्दै यसरी प्रशंसाका पद्य सृजना गर्छन्–

आशीर्वाद जस्तो सिरानीमा उभिएको
माछापुच्छ्रे हिमालको छायाँमा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा हिमाल मानेर ।
हो–चि–मिन्हलाई चिठीरभूपि शेरचन
(‘घुम्ने मेचमाथि अन्धो मान्छे’बाट)

बहुभाषाका ज्ञाता, बुद्धिमान लेखक, पत्रकार र शिक्षकको व्यावहारिक छबि बनाएका हो चि मिन्ह अत्यन्तै दयालु मानिस थिए ।
‘हो–चि–मिन्हलाई चिठी’ कवितामा भियतनामी जनता र हो चि मिन्हको विजयप्रति सुनिश्चित बन्दै कवि भूपि लेख्छन्–
आशीर्वाद जस्तो सिरानीमा उभिएको
माछापुच्छ«ेको छायाँमा उभिएर
प्रतिज्ञा जस्तो वरिपरि दृढ उभिएका पहाडहरूलाई
हातेमालो गरेर
म किरिया हाल्ने सामथ्र्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोङ्गी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ ।

नेपालमा केही पार्टी नेता यस्ता पनि छन्, जो व्यक्तिवादलाई हटाउन असमर्थ भएकोले हठी र घमण्डी छन् । साथै आफ्नो खुबीको तारिफ गरिरहन्छन् । उनीहरु अरुको आलोचना गर्छन् । तर, अरुले आफ्नो आलोचना गरेको भने मन पराउँदैनन् । उनीहरु आत्मालोचनालाई हटाउँछन् र विना इमान्दारी र बिना गम्भीरताले त्यसलाई व्यवहारमा प्रयोग गर्छन् । तिनीहरु आफ्नो मुख रातो होला र आफ्नो बेइज्जत होला भनेर डराउँछन् । तिनीहरुले जनताको रायप्रति ध्यान दिँदैनन् र अरुलाई हेला गर्छन् । तिनीहरु के बुझ्दैनन् भने आफ्नो काममा कुनै गल्ती नै नगर्नु गाह्रो छ । सम्भव गर्नबाट जोगिनुपर्छ, बरू त्यसलाई दृढतापूर्वक सच्याउन नसकिएला कि भनी डराउनुपर्छ । मपाईंत्व व्यक्तिवादको अनिवार्य परिणाम हो ।

मजदुर वर्ग र श्रमजीवी जनताका शक्तिहरु विशाल र असीमित छन् । तर, यदि उनीहरुले विजय प्राप्त गर्ने हो भने नेताले उनीहरुको नेतृत्व गर्नुपर्छ । त्यसका साथै यदि क्रान्तिमा विजय प्राप्त गर्ने हो भने पार्टी आम जनताको नजिक रहनुपर्छ र त्यसैले उनीहरुको दक्षतापूर्वक सङ्गठन र नेतृत्व गर्नुपर्छ क्रान्तिकारी नैतिकताको विकास गर्नुभन्दा सुख र गौरवको ठूलो स्रोतहरु के हुन सक्छ, जसले गर्दा समाजवादको निर्माण र मानव जातिको मुक्तिको लागि उचित योगदान गर्न सकियोस् । हाम्रो मुलुकका नेताहरु नोकरशाही र हुकुमवादबाट आक्रान्त छन् । राजनीतिक दल वा समुदायलाई असल बाटो देखाउने व्यक्ति, समाजमा नेतृत्व दिन सक्ने व्यक्ति, अगुवा, नाइके, बाटो देखाउने व्यक्ति नेता हो । नेताहरुले नीति बनाउने भएकाले उनीहरुको ठूलो महत्व हुन्छ । उक्त नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्छ । त्यसैले राजनीतिक नेतृत्वले सामाजिक परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ ।

यतिबेला देशमा भरोसा गर्न योग्य नेता र नेतृत्वको अभाव महसुस भैरहेको छ । भियतनामी राष्ट्रपति हो ची मिन्हका उपलब्धिहरू बहुआयामिक र दूरगामी छन् । उनले फ्रान्सेली औपनिवेशिक शासनबाट स्वतन्त्रताको घोषणा गर्दै भियतनामको लोकतान्त्रिक गणतन्त्रको स्थापनामा निर्णायक भूमिका खेलेका थिए । उनका सरलता, इमान्दारिता, देशप्रेम र दृढ अठोट जस्ता व्यक्तिगत सद्गुणका कारण आज पनि उनी सबैका लागि प्रेरणाका स्रोत बनेका छन् । नेपालका कम्युनिष्ट र गैरकम्युनिष्ट सबै नेताहरुले हो–चि–मिन्हबाट सिक्ने हो भने सङ्क्रमणबाट गुज्रिरहेको हाम्रो मुलुकले निकास पाएर उन्नतिको सत्मार्गमा लाग्न सक्नेथियो । सादा जीवन र उच्च विचारमा होचिमिन्ह भारतका सर्वश्रेष्ठ अनुकरणीय व्यक्तित्वका छबि बनाएका महात्मा गान्धीजस्तै थिए । गान्धी जस्तै सरल, क्रान्तिप्रति प्रतिबद्ध, देशभक्त, महान् सोचका धनी हो चि मिन्ह सबैका लागि प्रेरणाका अनुशरणीय स्रोत हुन् र अझ विश्व कम्युनिस्ट आन्दोलनका अग्रणी व्यक्तित्व हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here