दूग्ध उत्पादन निर्यातमा जोड देऊ

0
8

कुनै पनि देशको समृद्धि उसको उत्पादन र आत्मनिर्भरताले मात्र सम्भव हुन्छ । हाम्रो देशको अर्थतन्त्रको मूल आधार भनिएको कृषि व्यवस्थाको पछिल्लो अवस्थाले हामी समृद्धिभन्दा परनिर्भरताको चक्रमा पर्दै गएको भान हुन्छ । नेपाललाई कृषि प्रधान देश भन्दै, पढ्दै र सुन्दै आएका नेपालीका लागि यो अवस्था दुर्भाग्यपूर्ण हो, जहाँ कृषि उत्पादनकै लागि अरु देशहरुको मुख ताक्नुपर्ने भएको छ । नेपालले प्रत्येक वर्ष खर्बौं रुपैयाँ बराबरको कृषि उत्पादन आयात गरिरहेको छ भने यहाँ उत्पादित कृषि वस्तुले मूल्य नपाएर, बजार नभएर र राज्यको यथोचित ध्यान नपुगेर परनिर्भरतालाई मलजल गरिरहेको छ । राज्य अर्थात् सरकारका तर्फबाट अभिभावकीय भूमिका निर्वाह नगरेकै कारण हाम्रा तीस लाखभन्दा बढी दूध उत्पादक किसान अमृत सरहको दूध सडकमा पोख्न बाध्य भएका छन् ।

बिक्री भएको दूधको पैसा नपाएको भन्दै पटक–पटक आन्दोलित भएका किसान दूग्ध विकास संस्थान र सरकारप्रति आक्रोशित भइरहनु समग्र अर्थव्यवस्थाका लागि सुखद् विषय होइन । देशमा रोजगारको अवसर नपाएर विदेशिने लाखौं युवाहरुलाई देशमै रोक्ने र टिकाउने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । तर, सरकार त्यतातर्फ संवेदनशील रहेको पाइएको छैन । अहिले कै परिस्थितिमा पनि कतिपय युवा स्वेदशमा उद्यमी बन्ने योजनाका साथ कृषि कर्ममै लागेका पनि छन् । तर, उनीहरुलाई प्रोत्साहित गर्ने काम सरकारले नगरेको गुनासो प्रकट भइरहेको छ । भूगोल, हावापानी, वातावरण लगायतका कारणले दूग्ध उत्पादनलाई व्यावसायिकता दिन संगठीत भएका कृषकहरुले हाल दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन गरिरहेका छन् । यस हिसाबले वार्षिक २५ लाख ७० हजार मेट्रिक टन दूध उत्पादन हुने गरेको तथ्यांक छ ।

किसानहरुले उत्पादन गरेको दूधको करिब पचास प्रतिशत बजारमा खपत हुन्छ । त्यसको ठूलो हिस्सा खरिद गर्ने दूग्ध विकास संस्थान हो । संस्थानको भण्डारमा झण्डै दुई अर्बको उत्पादन थन्किएको बताइएको छ । जसका कारण उसले किसानलाई भुक्तानी दिन सकेको छैन भने किसानलाई व्यावसायिक गाईपालक बन्न बाधा पु¥याइरहेको छ । किसानलाई समृद्ध बनाउन व्यावसायिक बनाउनुपर्छ, त्यसका लागि दूधमा आत्मनिर्भर भएर मात्र पुग्दैन । किसानको मुहारमा खुशी ल्याउन र देशलाई नै समृद्ध बनाउन दूग्धजन्य उत्पादन विदेश निर्यात पनि गर्नुपर्छ । अनि मात्र समृद्धि र विकासको नाराले आकार लिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here