आतंक

0
12

केही दिन
कतै कोही मरेन
कहीँ कसैले
कसैलाई मारेन
शान्त थियो
र,
म प्रतिद्वन्द्वीविहीन
एक्लो दौडमा थिएँ
निर्विकल्प विजेता म
सबै सिद्धिएर
आफ्नो मात्र एकछत्र शासनको
कोमल आसनमाथि
गजधम्म बसेर
अरु सबैलाई आफूभन्दा
पुड्का र होचा
देख्न थालेँ

एक दिन
एकाबिहानै कसैले
मेरो ढोका
ढकढक ढक्ढक्यायो
चुकुल खोलेर हेर्दा
उही आतंक पो मुस्कुराइरहेछ
जसलाई म
अर्काको बिरुद्ध काम लगाउँथेँ

म उसलाई
भित्र पस्ने निम्तो दिँदै
दिनभरि सत्कार गर्दै बसेँ
उसले
मेरा प्रतिद्वन्दीहरू समाप्तिको
एक–एक कथा
नबिराइ..–नबिसाइ सुनाउँदै गयो

साँझपख मैले
जब उसलाई आजको दिनको
अन्तिम सत्कार गर्न
केही बाँकी छ कि ?
सोधेको मात्र के थिएँ
उसले मलाई नै पो
झम्टेर आक्रमण गर्यो
मेरो प्रतिद्वन्द्वीको आदेशमा

आतंक
उसको भएन
मेरो आदेशमा
र मेरो पनि रहेन
उसको हुकुममा… ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here