बजेट बनाउन सुझाव संकलन गर्दै कचनकवल

0
5

बनियानी ।

झापाको दक्षिणी गाउँपालिका कचनकवलले आगामी आर्थिक वर्ष २०८१–०८२को नीति, कार्यक्रम र बजेटका लागि सरोकारवाला पक्षसँग छलफल शुरु गरेको छ ।

गाउँपालिकाले सोही सन्दर्भमा यहाँका युवासँग अन्तरसंवाद कार्यक्रममार्फत सुझाव संकलन थालेको छ । स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आगामी असार १० गतेभित्र गाउँसभामा पेश गरिसक्नुपर्ने छ ।

बजेट निर्माण अघि राय–सुझाव संकलनका लागि ‘जनतासँग जनप्रतिनिधि संवाद’ कार्यक्रममार्फत प्रत्येक वडाका गाउँ टोलका नागरिकहरुको सल्लाह र सुझाव लिएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए । बजेटलाई युवा, महिला, कृषकका आवश्यकता र माग अनुसार उपलब्ध स्रोत र साधनलाई प्रभावकारी बनाउन सुझाव माग गरिएको उनी बताउँछन् ।

गाउँपालिकाको नीति, कार्यक्रम र बजेटको पूर्व तयारीका लागि प्राथमिकताका विषय पहिचान, जनताको चाहना र भावना बुझ्दै बजेटलाई यथार्थपरक बनाउन सुझाव संकलन गरिरहेको कचनकवल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र सुमनले बताए ।

कृषि उत्पादन वृद्धि गरी स्वरोजगार सिर्जना गर्ने, गुणस्तरीय शिक्षा प्रदान गर्ने, भौतिक पूर्वाधारलाई पहुँच र गुणस्तर कायम गर्ने गरी पालिकाले सुझाव माग गर्दै जनतासँग संवाद कार्यक्रम गरेको भन्दै गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले भने– ‘कचनकवल गाउँपालिकाले मुख्यगरी आर्थिक क्रियाकलापमा जनतालाई जोड्ने, शिक्षा र स्वास्थ्यको गुणस्तर वृद्धि गर्ने जस्ता विषयलाई प्राथमिकता दिने लक्ष्य छ, यसैलाई आधार मानी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा राय सुझाव माग गरेका छौँ ।’

आर्थिक क्रियाकलापमा नागरिकलाई जोड्दै विकास निर्माणका कामलाईसमेत अघि बढाउने विषय प्राथमिकतामा पर्ने कचनकवल गाउँपालिकाका अध्यक्ष राजवंशी बताउँछन् । आगामी आव २०८१–०८२को बजेटमा युवालाई कृषि, पर्यटन, लघु उद्यमको माध्यमबाट आर्थिक क्रियाकलाप बृद्धि गर्ने, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यको गुणस्तरबृद्धि गर्ने खालका विषय प्राथमिकताका रुपमा रहने भएकोले निरन्तर जनतासँग संवाद गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here