जलवायु परिवर्तनका दुष्प्रभाव र नेपाल

२८ जेष्ठ २०८१, सोमबार मा प्रकाशित

जलवायु परिवर्तन नेपालको लागि पेचिलो मुद्दा बन्दै गएको छ । जलवायु परिवर्तन भन्नाले हावापानीमा आउने सामान्य फेरबदललाई बुझिने गरिएको भ्रान्त धारणा छ । जलवायुले औसत जलवायुमा देखिने अल्पकालीन फेरबदल भन्ने जनाउँदछ भने जलवायु परिवर्तनले जलवायुका कैयौँ पक्षलाई प्रभावित तुल्याउँछ, जस्तै वर्षाको सही पूर्वानुमान गर्न सकिँदैन, ऋतुजन्य मौसमको ढाँचा बदलिदिन्छ, विषम् प्रकृतिका मौसमजन्य घटना (जस्तै भारी हिमपात हुनु, सुख्खा खडेरी पर्नु, उष्ण र ठण्डी वायुभाटा पैदा हुनु र अचानक हिमताल फुट्नु) आदिको सम्भावना बढाइदिन्छ । विश्वको औसत तापक्रम वृद्धिभन्दा नेपालको ऋतुजन्य तापक्रम द्रुत गतिमा बढ्दो छ र यो प्रवृत्तिको निरन्तरता कायम हुने सम्भावना छ ।

वार्षिक औसत तापक्रम सन् २००० लाई पूर्वाधार रेखा मान्दा सन् २०३० सम्म १.२ सेल्सियसका दरले, सन् २०५० सम्म १.७ सेल्सियसका दरले र सन् २१०० सम्म ३ सेल्सियसका दरले बढ्ने अनुमान प्रक्षेपण गरिएको छ । नेपालमा जलवायु परिवर्तनका प्रभावलाई विभिन्न कारकतत्वहरूको संयोजनले नराम्रोसँग गाँजेको छ । ती कारक तत्त्वहरू हुन्– प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहनबाट वन विनाश र वन क्षयीकरण, दिगोपनरहित खेती प्रणालीको प्रयोग, जथाभावी तवरले निर्माण गरिएको पूर्वाधार, द्रूत शहरीकरण, गरिबी, प्रदुषण र ऊर्जाशक्तिको मागमा उच्च वृद्धि । मानव जाति आजको स्वार्थमा केन्द्रित छ । भविष्यको चिन्ता छैन । आजको स्वार्थकेन्द्रित गतिविधि र व्यवहारले सन्तानका भोलिका सुन्दर सपना अप्ठेरोमा पर्दै जान्छन् भन्ने हेक्का राखेको पाइँदैन ।

हाम्रै जीवनकालमा जलवायु परिवर्तनका दुष्प्रभाव महसुस गर्न थालिसकेका छौं भने यो क्रम घट्दै जानुको सट्टा दिन दुगुना र रात चौगुना बढ्दै गएको देखिन्छ । राज्य सञ्चालक तथा सरकार प्रमुख र सरकारका सहयोगीहरूले जलवायु परिवर्तनका समस्त पहलुका बारेमा बुझ्न जरुरी छ । जलवायु परिवर्तनलाई सामान्य मौसममा आएको बदलावका रूपमा ग्रहण गरिएमा यसका दुष्परिणामहरू बढ्दै जानेछन् । राष्ट्रिय मञ्चहरूमा कमजोरी रहेको मुलुकको अन्तर्राष्ट्रिय बैठक, गोष्ठी र मञ्चमा कमजोर प्रस्तुति रहनेमा सन्देह छैन । जलवायु परिवर्तनको मुद्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै मुद्दा हो । कुनै पनि देशको एकल प्रयासबाट निराकरण हुन सम्भव छैन । अन्तर्राष्ट्रिय स्तरको सहकार्य र समझदारीबाट मात्र संयुक्त, केन्द्रीकृत र ठोस काम हुन सक्छ ।

नेपालको न्यून गतिमा रहेको मानव विकास सूचकाङ्क दर र जटिल भूबनोटले पनि जलवायु परिवर्तनबाट भएको सङ्कटापन्नतामा नराम्रो प्रभाव पारेको छ । हाल विद्यमान रहेका तथा प्रक्षेपण गरिएका जलवायु परिवर्तनको कारणले देखा पर्ने तमाम प्रभावले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रभाव पार्दछ । वनजङ्गल र जैविक विविधता प्रभावित हुने बढी सम्भावना छ । त्यसैगरी कृषि क्षेत्र, खाद्य सुरक्षा, जल र ऊर्जा, स्वास्थ्य एवम् शहरी र ग्रामीण पूर्वाधार निर्माणमा पनि प्रभाव पर्दछ । यस्तो परिवर्तनले जलवायुबाट उत्पन्न हुने प्राकृतिक प्रकोप पनि बढाउँछ । विभिन्न लिङ्ग, जाति र जनजाति समूह पनि यो परिवर्तनको अत्यधिक मारमा पर्दछन् ।

जलवायु परिवर्तनका बहुआयामिक दुष्प्रभाव छन् । मानवीय जीवनका सम्पूर्ण पक्षमा यसले असर पु¥याउँछ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी यसका समय सम्बन्धी फरक–फरक प्रभाव पनि रहने गर्छन् । अति विकसित देशहरूले उत्सर्जन गरेका कार्बनडाइअक्साइड, कार्बनमनोक्साइड लगायतका ग्याँसले तीव्रगतिमा जलवायु परिवर्तनलाई बढाइरहेको छ र त्यसको प्रत्यक्ष मार अल्पविकसित र अविकसित देशले भोग्नु परिरहेको छ ।

जलवायु परिवर्तनको सीमा हुँदैन । देश छुट्याएर वा अन्तर्राष्ट्रिय सीमारेखाका आधारमा जलवायु परिवर्तनका असरलाई मूल्याङ्कन गर्न सकिँदैन । जलवायु परिवर्तनका प्रभाव जसरी विस्तार भएको छ, त्यसरी नै यसको प्रभावको न्यूनीकरणका लागि बहुआयामिक, अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना, कार्यक्रम र कार्ययोजना बनाउन आवश्यक छ । जलवायु परिवर्तन जसरी र जुन रफ्तारमा फैलिँदोछ, त्यसरी नै यसका प्रभाव र अवयव नियन्त्रण र निरूपण गर्न राज्य तथा सरकारहरूले सोही मुताविकका कार्य गर्न जरुरी छ ।

केही महनिाअघि नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसका विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्य लगायत मुख्य एजेन्डा थिए । महासचिव गुटरेस मार्फत जलवायु परिवर्तनका कारण अल्पविकसित र विकासोन्मुख मुलुकहरूले भोग्नु परेको सास्ती र नोक्सानीका लागि क्षतिपूर्तिको माग उठाइएको छ । नेपालले चाहे जसरी यो मुद्दा अन्तर्राष्ट्रियकरण हुन सकेमा नेपालले त्राणको महसुस गर्नेमा विश्वास गर्न सकिन्छ । जलवायु परिवर्तनका नकारात्मक प्रभावको अल्पीकरण गर्दै अन्य देशका कारण सिर्जित प्रतिकूल परिस्थितिलाई अनुकूलतामा बदल्न नेपालले योजनाबद्ध रूपमा लाग्न आवश्यक छ । हामी नेपाली प्राथमिकतामा कमजोर छौं ।

हामीलाई लाग्न सक्छ–जलवायु परिवर्तन ठूलो सबाल होइन, तर गाँस, बास र कपासजस्तै जलवायु परिवर्तन पनि ज्वलन्त सबाल हो हाम्रा लागि । सरकार तथा राज्यहरूले जलवायु परिवर्तनका दुष्प्रभावलाई विचार गरी अत्यन्तै सजगकताका साथ योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक छ । जलवायु परिवर्तन नेपालका लागि दूर भविष्यमा आइपर्ने चुनौती होइन, यो वर्तमानमा आइपरेको आसन्न खतरा हो । यसको बहुपक्षीय प्रभाव छ । यसले पार्ने आर्थिक प्रभाव सर्वत्र महशुस भइरहेको छ । यो जलवायु विभिन्नताभन्दा फरक छ । जलवायु विभिन्नता भन्नाले फरक भूगोलमा हुने विविध प्राकृतिक अवस्था हो ।

हरियो मल, कम्पोस्ट मल, प्राङ्गारिक मल तथा जैविक कीटनाशक तथा रोगनाशक औषधिको प्रयोगलाई बढावा दिनसकेमा जमिनको उर्वराशक्ति जोगाउन सकिन्थ्यो । प्राकृतिक वातावरण रक्षा अब सबैको अहम् कर्तव्य बनेको छ । जलवायु परिवर्तनका लागि मानवजाति जिम्मेवार छ भने यसबाट दीर्घकालीन मुक्ति र अल्पकालीन सहजताका लागि मानवजाति नै अग्रसर हुन जरुरी छ । यो प्यारो पृथ्वीको रक्षाका लागि हामी सबै लाग्न आवश्यक छ । विकासोन्मुख मुलुकको रूपमा रहेको नेपालले अझ बढी सजग र सतर्क हुन जरुरी छ । कार्बनडाइअक्साइड र कार्बन मनोअक्साइड उत्सर्जनमा कटौती गर्न विद्युतको खपत बढाउन आवश्यक हुन्छ भने ठूलो मात्रामा वृक्षरोपण अभियानलाई अघि बढाउन आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here