कर्णालीका खच्चड र श्रमजीवी

२९ जेष्ठ २०८१, मंगलवार मा प्रकाशित

केशव भट्टराई ।

कर्णाली नदीको झोलुङ्गे पुलमा तर्दै गरेका खच्चड एम्बुसमा परे झैं भए । पुलको मध्यभागमा अड्किएर उद्धारको पर्खाइमा बसे । सकुशल उद्धार सम्भव भएन । मानिसहरुले खच्चडलाई नदीमा झारे । दुईवटा मरे, अन्य केही खच्चड अशक्त अवस्थामा नदीबाट बाहिरिए । यो दुर्घटनामा परेका खच्चड मात्र जनावर थिएनन् ।

यिनीहरुको पिठ्युमा साहुमहाजनका भारी थिए । साहुमहाजनका सम्पत्तिका पोका थिए । सर्वसाधारण मानिसका जीवन जिउने आहारा थिए र समग्रमा मानिसका जीवनका आधारहरु पनि थिए ।यस मानेमा यी जनावर (खच्चड) श्रमिक थिए । श्रमजीवी थिए । मेहनती थिए । परिश्रमी थिए र पसिनाको कमाइ स्वरुप मालिकले खटाएर दिएको आहार खाएर साहुमहाजनको भारी बोकिरहेका थिए ।

खच्चडहरु आफ्ना रहरले कर्णालीको एम्बुसरुपी झोलुङ्गे तर्दै थिएनन् । उनीहरुको बाध्यता थियो त्यो नदी तर्नु । उनीहरु (खच्चडहरु) आफ्नो नियमित कर्ममा थिए । तर, तिनै खच्चडले कमाइदिएको सम्पत्ति उपभोग गर्नेहरु आफ्ना कर्तव्यबाट विमुख भए । फलस्वरुप नदी माथिको झोलुङ्गेको स्तरोन्नति गरेनन्, परिणामस्वरुप श्रमजीवी खच्चडहरु कर्णाली नदीमा झारिए ।

श्रमजीवीहरु (एकाध अपवाद बाहेक) आज पनि नेपालमा तिनै खच्चडको नियति भोगिरहेका छन् । जोेस, जाँगर, यौवन, निष्ठा र निरन्तरता दिइरहेका लाखौं श्रमजीवीहरु आजका दिनमा पनि असुरक्षित छन् । तिनका पसिना र मेहनत चुसेर मोटाएकाहरु कहिल्यै उनीहरु प्रति सहृदयी बन्न सकेनन् । उद्योग, व्यापार, सञ्चार, विशेषतः निजी क्षेत्र चाहे त्यो पसलको कामदार होस् या स्कूलको शिक्षक, कर्मचारी अथवा खेतीको कृषक होस् या यातायातको मजदुर कसैको पनि भविष्य सुखद् छैन । त्यसप्रति राज्यका जिम्मेवार व्यक्ति निकाय पनि अनुदार नै देखिन्छन् । विद्यालयको कर्मचारी चालिसौं वर्ष सेवा गरेर विश्राम लिँदै गर्दा रित्तो हात घर फर्किन्छ । चिया बगानको मजदुर शरीरले साथ दिएसम्म चियाकै बुट्टा र बगानको सौन्दर्य बढाउँछन् । साहुजीहरुका अनुहार उजिल्याउँछन् । वर्षैपिच्छे तलब र सुविधा वृद्धिको माग गर्छ । विडम्बना उसका माग कहिल्यै सम्बोधन हुन सक्दैनन् र निराश हुँदै फर्कन्छन् । निराशाको पारो यति धेरै हुन्छ कि कतिपय त कर्णाली नदीको गहिराइमा आफैंलाई समाहित पनि गर्न बाध्य बनेका छन् ।

राज्य संयन्त्रका सञ्चालक तिनै श्रमजीवी मजदुर, चियाबगानका कर्मचारी र परिश्रमी हातहरुलाई देखाउँछन् र भोट जित्छन् । एकपटक होइन तिनका विवशता र मागहरुलाई पटक–पटक देखाइरहन्छन् । आवाज उठाए जस्तो गरिरहन्छन् र भोट (चुनाव) जितिरहन्छन् । तिनका विवशताका, बाध्यताका, अभावका, अप्ठ्याराका चाङ्गमाथि चढेर हाम्रा नेताहरु चुनाव जित्न पल्किएका छन् । श्रमजीवी वर्ग प्रत्येक वर्ष नेताहरुको आश्वासन मात्रै खाइरहेका छन् ।

मुलुक परिवर्तन नभएको पनि होइन, भएको छ । तर, त्यो राजनीतिक परिवर्तन मात्रै भयो । यो परिवर्तनले एउटा परिवारबाट एउटा व्यक्तिबाट सत्तालाई परिवर्तन गरायो । जनताको प्रतिनिधि सत्ता सञ्चालनमा पुग्यो । यो गौरवको विषय हो, तर दुर्भाग्य चाहिँ म कसलाई टेकेर सत्ताको सञ्चालनमा पुगे ? भन्ने बिर्सनु हो । हामीले पठाएका, चुनेका अधिकांशले संघर्षको मैदान, धरातल र परिस्थितिलाई भुलिरहेका छन् यो बेला ।

नत्र त्यही कर्णालीको कहरलाई चुनावी नारा बनाएर सत्ताको स्वाद लिइरहेकाहरुले आज खच्चडहरु नदीमा गुहार मागिरहेको देख्नुपर्ने थिएन । तिनै खच्चड जस्तै पसिना बगाएर साहुमहाजनका भारी बोक्नेहरुको पारिश्रमिक लुटिएको हेर्नुपर्ने थिएन । काम गर्ने ठाउँमा श्रम र सीपको अपमान भएको सुन्नुपर्ने थिए । अनेकौं बहानामा मजदुर÷कर्मचारीको तलब सुविधा लुटिएको समाचार पढ्नुपर्ने थिए । तसर्थ आज पनि अर्को एउटा क्रान्तिको आवश्यकता छ । अर्को एउटा परिवर्तनको जरुरी छ । त्यो परिवर्तन वर्गीय परिवर्तन हुनेछ । श्रम र श्रमिकको सम्मानको परिवर्तन हुनेछ । समयानुकूल र सन्तोषजनक पारिश्रमिकको परिवर्तन हुनेछ ।

यदि राजनीतिक दल र नागरिक समाजका अगुवा यो चेतनाबाट विमुख हुने र थिचिएका, हेपिएका, श्रमिक र किसानको आवाजलाई नजरअन्दाज गर्छन् भने हामीले ल्याएको संसारकै सर्वोत्कृष्ट लोकतन्त्र निरश हुनेछ । तसर्थ, आर्थिक समृद्धि, श्रम, श्रमिक र तिनको समुचित पारिश्रमिक र जनजिविकाको सवालमा तत्काल कठोर कदम नचालिए यो नेतृत्व असफल त हुन्छ नै साथसाथै सबैभन्दा पहिला त्यो श्रमजीवी वर्ग कर्णालीको झोलुङ्गेमा अड्एिका खच्चडको झैं विकराल अवस्थामा पुग्नेछन् । तसर्थ, कर्णाली नदीहरुमाथि पुलहरु पनि मजबुत गरौं । परिश्रमी, श्रमजीवी र निष्ठापूर्वक आफ्ना कर्ममा निरन्तर लागीरहने त्यो वर्गलाई पनि दर्बिलो बनाऔं । जय होस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here