प्यारागन एकाडेमीमा कक्षा ११ शुरु हुने

0
128

सुरुङ्गा ।

कनकाई नगरपािलका–३ सुरुङ्गास्थित प्यारागन एकाडेमीले यो सालदेखि कक्षा ११ शुरु गर्ने भएको छ ।

सोमबार विद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत प्यारागनले व्यवस्थापन समूहमा कक्षा ११ शुरु गर्न लागिएको जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्पा खनाल (सुवेदी) ले कक्षा ११ मा कम्प्युटर विज्ञान र गणितसहित व्यवस्थापन विषय अध्यापन गर्न लागिएको बताइन् ।

व्यवस्थापन समूहमा अङ्ग्रेजी, नेपाली, अर्थशास्त्र र लेखा अनिवार्य विषय रहने छन् भने गणित वा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये कुनै एक र व्यावसायिक अध्ययन अथवा कम्प्युटर विज्ञान मध्ये कुनै एक छनोट गरेर विद्यार्थीले अध्ययन गर्न सक्ने उनले जनाइन् ।

प्रारम्भमा २०५७ मा भद्रपुरमा शुरु गरिएको र २०६४ सालमा सुरुङ्गामा स्थानान्तरण गरिएको प्यारागन एकाडेमीले यस क्षेत्रको शैक्षिक क्षेत्रमा ट्रयाक रेकर्डसहितको गौरवशाली विगतको लामो यात्रा तय गरेको उनले बताइन् ।

सचेत अभिभावकको आकांक्षा अनुरूप गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रगामी, भरपर्दो र किफायती संस्था स्थापना गर्ने पवित्र सपना बोकेर शिक्षासेवी स्वर्गीय लक्ष्मण सुवेदीको पहलमा यस विद्यालयको स्थापना भएको हो । झापाको मध्यभाग भएर बहने पवित्र कनकाई नदीको पूर्वी तटमा अवस्थित, सबै प्रकारका हडतालबाट मुक्त र शिक्षाको केन्द्रको रूपमा विकास हुँदै गरेको सुरुङ्गा नगरीमा अभिभावकको विश्वास कायम राख्दै प्यारागन एकाडेमी अघि बढिरहेको अध्यक्ष खनालको भनाइ छ ।

प्यारागन एकाडेमीका विद्यार्थीहरू २०६७ सालदेखि एसएलसीमा सहभागी भएका र त्यसयता प्यारागन स्तरीय कीर्तिमान कायम गर्दै आएको छ । अभिभावक र शुभेच्छुकहरूको निरन्तरको व्यापक मागसँगै विद्यालयलाई स्तरोन्नति गर्ने निर्णय गरिएको र स्थानीय सरकार कनकाई नगरपालिकाबाट अनुमति लिइएको विद्यालयका प्रिन्सिपल दीपक भट्टराई जानकारी दिए । प्रिन्सिपल भट्टराईले भने, ‘विभिन्न उतार चढाव पार गर्दै हाम्रोले आफ्नो शैक्षिक उत्कृष्टताका लागि आफ्नो यात्रा जारी राखेको छ ।

यो स्थापित संस्थागत विद्यालयको रूपमा परिचित छ । विद्यालयको समग्र विकासमा कर्तव्यनिष्ठ र जिम्मेवार शिक्षकहरू भएमा अन्य विद्यालयहरूसँग सजिलै प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरामा हामी विश्वास गर्दछौं ।’ प्रिन्सिपल भट्टराईले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि ३.६० जीपीए र सोभन्दा माथि प्राप्त गर्नेलाई मासिक शुल्कमा ७५% छुट र ३.२० जीपीए र सोमाथि प्राप्त गर्नेलाई मासिक शुल्कमा १०% छुटको व्यवस्था भएको जानकारी दिए ।

यस विद्यालयको प्रभावकारी व्यवस्थापन, उच्च गुणस्तरीय शिक्षा र समर्पित शिक्षकहरूका कारण यसले विभिन्न विधामा उत्कृष्ट हुने गौरव प्राप्त गरेको इतिहास रहेको विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले बताए । उनले ब्रिटिश काउन्सिलले प्यारागन एकाडेमीलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (आईएसए) प्रमाणपत्र प्रदान गरेको जानकारी दिए । यो साल एसईईमा ५८ जना विद्यार्थी सहभागी भएका र उत्कृष्ट नतिजा आउने सिटौलाले आशा व्यक्त गरे ।

विद्यालयका शैक्षिक संयोजक सी.एन. भण्डारीले विद्यालयले दिनानुदिन गुणस्तरीय शिक्षा प्रदान गर्ने लोकप्रिय शैक्षिक संस्थाको रूपमा प्रगति गर्दै गएको र कक्षा ११–१२ मा पनि सोही इतिहासलाई कायम राख्ने प्रतिबद्धता जनाए ।

पत्रकार भेटघाटमा सोही विद्यालयमा बिहानी सत्रमा सञ्चालन भइरहेको युनिक बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख युवराज अधिकारीले दुई वटा संस्था अलगअलग भए पनि प्राज्ञिक क्षेत्रमा सहकार्य गरेर अघि बढ्ने बताएका थिए । पत्रकार भेटघाट कार्यक्रममा शिक्षकहरू गुरुप्रसाद पौडेल, विष्णुकुमार रिजाल लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here