प्रकृति

0
34

जीवन पनि त प्रकृति हो ।
त्यो सन्नाटा अनि त्यसपछिको आँधीबेहेरी
सुनसान, शान्त अनि
त्यसपछिको कोलाहल र हावा हुण्डरी
सबैलाई थर्काउँदै आएको त्यो खहरे खोला
कति सपनाहरु उडाएर लान्छ ।
कति जीवनहरु बगाएर लान्छ ।
कति आशाहरु उज्यालो नभई
अन्धकारमै बिलाएर जान्छ ।
कोही आफ्नै कर्ममा अडिग चट्टान जस्तै
निरन्तर समयपालक सूर्य जस्तै
अविरल बग्ने नादे जस्तै
हाम्रा जीवनका संघर्षहरु
हाम्रा हारहरु, जीतहरु
दुःखहरु, खुशीहरु
जीवनले नाम पाएदेखि
जीवनम सास भएसम्म चलिरहन्छ
किनकि यो जीवन पनि त प्रकृति हो ।
एउटै जीवन
कहिले फूल जस्तो कोमल
कहिले चट्टान जस्तो कठोर
त्यसैले त,
जीवनका रंगहरू पनि
जीवनका सम्बन्धहरु पनि
परिवर्तनशील छन्,
गतिशिल र चलायमान छन् ।
कहिले उल्टो चल्छन्, कहिले सुल्टो हिँड्छन्
रुखका पातहरु झैं
कहिले वसन्तमा लटरम्म भएका
कहिले उजाडिएर नाङ्गेझार भएका
चक्रिय प्रणाली त रहेछ जीवन ।
पात झैं, मौसम झैं, नदी झैं
हावा र त्यसको बेंग झैं
हाम्रो जीवनका भोगाइहरु पनि त
परिवर्तनशील छन् ।
यही गहिरो प्रेम छ ।
यदि विष झैं द्वेष छ ।
यही तिम्रो रिसराग गर्नेहरु
यही साथ, माया, हौसला दिनेहरू
यही राम्राहरु, यदि नराम्राहरु
यही टाढिएका आफन्तहरु,
यही नजिकिएका पराईहरु,
यही कोही फूल जस्ता
यही कोही त्यही फूलको काँडा जस्ता
कसैलाई उकालो चढेर जित्नुछ ।
कसैलाई ओरालो झरेर जिउनुछ ।
समयले बनाएका सम्बन्धहरू
रगतले बनेका नाताहरू
विश्वासले बनेका मित्रहरु
मायाका सिर्जनाहरू
सबैले रूप, रंग र व्यवहार फेरिरहन्छन्
आवश्यकताले, अवसरले, उन्मादले परिस्थितिले
त्यसैले त जीवन गतिशिल छ ।
त्यसैले त जीवन बहुरङ्गी छ, बहुरुपी छ ।
प्रकृतिका कति कुरा स्थिर भए पनि
हाम्रो जीवन त चलायमान छ ।
अस्थिर छ, तर अमूल्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here