एउटै उद्देश्य लक्ष्य र सपना बोकेका हामी चार युवाको अगुवाईमा खोलिएको व्यवसायिक कम्पनीको योजनालाई सार्थकता दिन र साथीहरुबीच थप आत्मीयता बढाउने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङ्गको यात्रा गर्ने तय भयो । तर, एक साथीलाई मनाउन भने हामी तीनलाई निक्कै मेहनत गर्नु पर्यो तर मन नमिल्ने कुरै भएन मिति २०८० जेष्ठ ९ गते साझ ७ बजे हामी गन्तब्यको लागि काठमाडौंबाट निस्कियौं । प्राइभेट विद्युतीय गाडीमा पोखरासम्मको यात्रा गर्ने त्यसपछि मुस्ताङ्ग यात्राको लागि अर्को गाडीको व्यवस्था फोन मार्फत नै गरिएको थियो । यात्रा शुरु भयो तितामिठा गफ गदै शुरु भएको यात्रा गाडीमा निदाउँदै मिठा गफ गर्दै गाडीको रफ्तारमा राति १२ बजेतिर साथीले चिनेको रेष्टुरेन्टमा खाना खायौं । पैसा तिरेर खाना खाए पनि हामीले राम्रो आतिथ्यता पायौं ।
रातिको ३ बेज पोखरा पुगियो । पोखराको नाइट लाइफ नेहेरी निन्दै लागेन र लाउन्ज गइयो । केही समय बिताएर होटल आएर सुतेको एक घण्टापछि नै मुस्ताङ्गको लागि हिँडीयो । पाको उमेरका अनुभवी सवारी चालक हरि ढकालको साथमा हामी बाग्लुङ बजार ठूलो रहेछ गाडीबाट नै घुमियो । बाग्लुङ भगवतीको दर्शनले मन आनन्दित बनायो । ठूलो आस्था रहेछ, त्यहाँका बासिन्दामा । मैले पहाडी क्षेत्रमा त्यत्रो व्यवस्थासहितको प्रबन्ध देखेको थिइन् । भरपुर दर्शन गरियो । साथै गलेश्वर महादेवको दर्शन गर्दै बेनी नजिकै होटल कालीगण्डकी एण्ड थकाली भान्छाघरमा खाना खायौं । बेनीबाट मुक्तिनाथ जाँदा बाटोमा तातोपानी रहेछ । फर्किदा त्यहाँ बस्ने योजना साथ हामी अगाडि बढ्यौं । बाटोमा लोकल दही, लोकल केरा खादै हाम्रो यात्रा अगाडि बढ्यो ।
रमाइलो गफ कहिले संस्थागत र व्यवसायिकताको कुरा गर्दै यात्रा अगाडि बढ्यो । बाटोको दृश्य हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो । तिब्बतबाट निस्किएर आएको कालीगण्डकी नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोचबाट दक्षिणतर्फ बगेको रहेछ । नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोँचबाट दक्षिणतर्फ बगेको रहेछ ।
कालीगण्डकीको प्रवाह र त्यो दृश्यले हामीलाई रोमाञ्चित बनायो । हिमाली क्षेत्र चिसो स्वभाविकै थियो । कालीगण्डकीको किनारैकिनार मोटर बाटो सिँधै उत्तर । बीच–बीचमा सानातिना खोलाहरु हान्निएर कालीगण्डकीमा समाहित भएको देख्न पाइन्थ्यो । दृश्यहरु अत्यन्त लोभलाग्दा थिए । ठाउँ–ठाउँमा आकाश साँघुरिएको देखिन्थ्यो । हिमाली बाटो ठूला–ठूला चट्टानी पर्वतलाई छिचोल्दै गएको छ । अजगंका ती पहाडहरु कुम्भकर्ण झैं चीरनिद्रामा छन् ।
काठमाडौं आसपासमा झैं खानी सञ्चालनको नाममा जताततै चिथोरिएका छैनन् । अनन्त सौन्दर्य पस्किरहेका छन् । पहाडको छाति चिरेर निस्किएका झरनाले पीडाभन्दा आनन्द दिइरहेका छन् । त्यसका केही दृश्य क्यामरा र मनमा कैद गर्दै हामी अघि बढ्यौं । साथमा मिठा जोक र रमाइलो कुराकानी त छदै थियो । रुप्से झरनाले हाम्रो यात्रालाई थप ऊर्जा दियो । माथिबाट हामीलाई भेट्न आतुर भएर बगेको सेतो पानीको दाना शरीरमा पर्दा तरंग उत्पन्न हुन्थ्यो । झण्डै ३० मिटर अग्लो रुप्सेलाई हामीले पनि चुनौति दिए जस्तै उसको तस्वीरहरु चोरिरह्यौं । तस्वीर खिच्नुभन्दा उसैलाई हेरिराख्नु हाम्रो यात्राको अर्काे रमाइलो क्षण बन्यो । झरनालाई छोडेर थोरै माथिपुग्दा त्यहाँ बगेको एक मिटर चौडा र अत्यधिक गहिराइको कालिगण्डकी पनि सुतेर बगेकी झरना जस्तै लाग्थ्यो । नजिकै पुगेपछि हिमालको घरमै प्रवेश गरे जस्तो भान हुन थाल्यो, हिमालले आफैं नजिक बनिदिए जस्तै ग¥यो र थकित बनेका आँखामा निश्चल ऊर्जाहरु भरिदियो ।
टुकुचे, मार्फामा केही समय हामी घुम्यौं, टिकटक बनायौं र यात्रा जोमसोममा गएर रोकियो । मुस्ताङ्गको सदरमुकाम जोमसम भए पनि ठूलो रहेनछ । सेवाग्राही कमै होलान् । सरकारी अड्डा धाउनेभन्दा आफ्नो व्यवसाय राम्रोसँगले चले त भै गयो नी । गरेकै छन् । लोडसेडिङ्ग रहेनछ । हामी त्यही बस्ने र भोलिपल्ट मुक्तिनाथ दर्शन गर्ने योजना बनायौं । साँझ मुस्ताङ्ग जिल्ला घरपझोङ्ग गाउँपालिकामा कार्यरत मित्र राजन कँडेल र आशिष भण्डारीले गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गर्दा कसो होला भन्ने प्रस्ताव आयो । त्यो अवसरलाई हामीले गुमाउन चाहेनौं भोलिपल्ट (जेष्ठ ११) गते कार्यक्रम गर्ने र त्यासको चाजोँपाजो गर्ने जिम्मा प्रदिप जीलाई दिइयो । राति मिठो मुस्ताङ्गे खानाको स्वादसँगै भोलि मुक्तिनाथ दर्शन गर्ने मनोकान्छा बोकेर निन्द्रादेवीको सरणमा गइयो ।
भोलि बिहानै सबैर यात्रा शुरु गरियो । किनकि मन्दीर र दर्शन गरेर हामीले कार्यक्रम सकेर उपल्लो मुस्ताङ्गको पनि यात्रा गर्नु थियो । निलगिरी र धौलागिरी हाम्रो दक्षिणमा थिए । त्यहाँ धौलागिरी र निलगिरी हिमालहरूको सुन्दर दृश्य हामीले हेर्न पायौं । धौलागिरी दूधले धोए झैं सेतो थियो भने निलगिरी आकाश झैं निलो थियो । हामी मुक्तिनाथ पुग्यौं । मुक्तिनाथ हाम्रो गन्तव्यको शिखर । भगवान नारायणको बासस्थान । त्यो सुन्दरताको वर्णन गरेर साध्य छैन, अत्यन्त सुन्दर । त्यसैले होला माहात्मा, साधुसन्त, भक्त प्रशासक, राजनीतिज्ञ, उद्योगी, व्यापारी, कलाकार, सर्वसाधारण सबैको आस्थाको पुञ्ज ।
मन्दिर दर्शन गर्न धेरै भारतीय तीर्थालु आएका थिए । माथिसम्म जान नसक्नेहरूका लागि घोडा र स्ट्रेचरको सुविधा पनि थियो । हामी माथिसम्म नै हिँडेर जान तयार थियौं । स–साना पाइला चाल्दै हामी माथि पुग्यौं । धेरै भारतीय तीर्थालु आफूलाई मानिसको काँधमा बोक्न लगाएर मन्दिर दर्शन गर्न गइरहेका थिए । मन्दिरअघि दुईवटा कुण्ड थिए । मन्दिर पछाडि १०८ धारा थिए । हामीले पनि दौडेर पूरा ग¥यौ त्यो कार्य । टाउको खाने चिसो रहेछ । त्यसपछि कुण्डमा डुबुल्की मार्नु पर्ने अरे, चिसोको पर्वाह नगरी मारियो । मुक्तिधाम अगाडिको कुण्डमा डुबेर पैसा निकाल्ने प्रचलनको नक्कल हामीले पनि ग¥यौं । पूजा कार्य भक्ति र पे्रमभावले आ–आफ्नो मूल्य, मान्यता र स्वधर्म अनुसार सम्पन्न गरियो । धेरै फोटो खिचियो ।
कति धेरै–धेरै प्रकृतिलाई जिस्क्याउने भोक थियो । फेरि आइपुग्ने नपुग्ने संयोग मात्र भएकोले धितमरुन्जे भगवानको समीपमा बसियो । नारायणको मन्दिर माथि, तल कालीगण्डकीले अविच्छिन्न शालीग्राम पस्कँदै प्रवाहित हुनु संयोग मात्र कहाँ हुन्थ्यो र ? सत्य थियो, त्यो लीला होइन भक्तलाई कृपा थियो भगवानको । भित्रदेखि नै आनन्द लागेर आयो । त्यही सेवा गरेर बस्न पाए हुन्थ्यो भन्ने पनि कहिलेकाही मनमा आउँथ्यो । प्रकृतिको त्यो अनन्त स्वादपान गरेर । हामीले त्यहाँ भरपुर आनन्द अनुभूत ग¥यौ । ३८१० मीटरको उचाईमा रहेको यो मन्दीरको वर्णन गरेर नसकिने रहेछ । मुक्तिनाथ दर्शनपछि युद्ध जितेको अनूभूति थियो । मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो, धार्मिक आस्थाको एउटा आँगन हो । जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझा थलो पनि हो ।’