उमेर

0
14

उमेर भन्नाले कुनै व्यक्ति वा प्राणी विशेषको जन्मेदेखि हालसम्मको वा मृत्यु नभएसम्मको अवस्थालाई बताउँछ । तँ कति वर्षको भइस् ? तिमी कति वर्षका भयौ ? तपाइँ कति वर्षको हुनुभयो ? हजुर कति वर्षको होइस्यो ? तेरो छोरा कति वर्षको भयो ? तेरी छोरी कति वर्षकी भई ? तेरो भाइ कति वर्षको भयो ? तेरी बहिनी कति वर्षकी भई ? आदि, इत्यादि । यो उमेर भन्ने कुरा यस्तो रहेछ । जसले आयु घटाउँदै लान्छ । आफैँमा उमेर बढ्दै जान्छ । उमेर घटाउन बढाउन सकिन्छ, तर आयु घटाउन सकिएला बढाउन सकिँदैन । सामान्यतः सामुहिक आयु औसतमा तोक्न सकिएला, तर कुनै व्यक्ति विशेषको आयु ठ्याक्कै यति हो भनेर तोक्न सकिन्न ।

संसारमा मानिस मात्र यस्तो प्राणी हो, जसले आफ्नो उमेर बढाउन चाहँदैन । बरू आयुुुुुुुुुुुुु घटाउला अरे कसैले तर उमेर घटाएर बताउन चाहँदैन । लाभदायक हिसाबले अपबादको रूपमा कसैले घटाउनु छुट्टै कुरा हो । तपाइँलाई एक, दुई त के दुई, चार वर्षले तपाइँभन्दा जेठो भए पनि तपाइँको उमेरको अन्दाज गरेर मात्र उत्तर दिन्छन् कि तपाइँभन्दा आफू एक दिनले भए पनि कान्छो ठहरिन सकियोस् । कोही बुढो हुन चाहँदैन । भर्खर कै हुन चाहन्छ । आफ्नो उमेर सही नबताउने बानी नै परिसक्यो । आफूलाई सधैँ युवा सम्झने बानी छ हामीमा ।
केश फुलेर छाला चाउरी परिसके पनि उसलाई बुढेसकालले छोयो भन्ने लाग्दैन । अझै उमेरदार नै छु भन्ने सम्झन्छ । बरू उल्टै मान्छे बूढो भएर के भो र मन बूढो भएको छैन भन्ने जस्ता टुक्का सुन्न पाइन्छ । अरूका के कुरा मैलाई धेरैले ढाँटेर म भन्दा जेठा पनि म भन्दा कान्छो बनेका उदाहरणहरू प्रशस्तै छन् । आफूभन्दा दुई, चार वर्षले जेठाहरू पनि दाइ भनेर बोलाउँछन् । दाइ भनेर सम्बोधन गरेपछि मुर्मुरिएर भए पनि भाइ त भन्नै प¥यो । कसैको उमेर एकिन गरेर हेर्नलाई उसका कागजात हेर्नैपर्ने हुन्छ । त्यसमा पनि कहाँ सही हँुदो रहेछ र त्यहाँ पनि कतिपयले त फरक विवरण पो दिएका हुँदा रहेछन् । कसैले विदेश जान उमेर नपुगेर उमेर बढाएका हुँदा रहेछन् । कसैले बढी भएर घटाएका हुँदा रहेछन् । कसैले जागिर खान उमेर नपुग्दा बढाएका हुँदा रहेछन् । कसैले जागिर खान उमेर घटाएका हुँदा रहेछन् । कसैले बिहे गर्न पनि उमेर घटाएको, बढाएको पाइन्छ । केटाको उमेर केटीको भन्दा धेरै वर्षले फरक वा बढी छ भने पनि केटाले आफ्नो उमेर केही वर्ष घटाएर केटीकै दामले वा सुहाउँदो बुझ्दो बनाएर बताउने गरेको र केटीको उमेर केटाको भन्दा बढी भए पनि त्यसरी नै केटीले पनि आफ्नो उमेर त्यसरी नै घटाएर केटाको उमेरसँग मिल्दोजुल्दो वा सुहाउँदोबुझ्दो बनाएर बताउने गरेको पाइन्छ । यो त फाइदा वा इमानको हिसाबले उमेर घटाएको वा बढाएको होला ।

यहाँ मैले उठाउन खोजेको कुरा सामान्यतयाः मानिस एकले अर्कोलाई आफ्नो सही उमेर बताउन किन हिचकिचाउँछ ? भन्ने हो । सामान्य भेटघाटमा मानिसले तिम्रो उमेर कति भयो भनेर सोध्ने भनेको एउटा प्रसङ्गबस वा कुनै काम विशेषले सोधिने कुरा हो । कसैले कसैलाई आफ्नो सही उमेर बताउँदा के नै बिग्रन्छ र ! न उसको उमेर कसैले खोसेर लगिदिन्छ । न कसैले थपघट नै गरिदिन्छ । मानिसले सत्य बोल्दा के हुन्छ ? प्रश्न यो हो । मैले धेरै इमान्दार मानिसहरूले पनि आफ्नो उमेरका बारेमा अरूहरूलाई बताउँदा ढाट्ने गरेको पाएको छु ।
मानिसले आफ्नो उमेर अर्कालाई ढाँटेर जित्ने भनेको आफू कम उमेरको वा युवा देखिन खोज्नु नै हो । मानिसलाई बुढो वा पाको हुन मन हुँदैन । सधैँ युवा नै देखिन पाए हुन्थ्यो । आफ्नो उमेरभन्दा शारीरिक रूपमा तन्दुरुस्त नै देखिन पाए हुन्थ्यो भन्ने हुँदोरहेछ । मैले बुझ्न नसकेको कुरा के भने मानिसले आफ्नो उमेर जति घटाएर बताए पनि आखिर उसको आयु त बढ्ने होइन । एकछिनलाई ढाँटे पनि उसले सधैँभरिलाई त ढाँट्न सक्दैन । ढाँटेको कुरा काटे मिल्दैन । एकदिन न एकदिन त कुनै न कुनै रूपमा यथार्थ त प्रष्टिन्छ नै । किन यसरी ढाँट्नु होला !

एकदिन बिर्तामोडबाट फिदिम जाँदै गर्दा एक जना अदबैँशेले सोधेँ– दाइ कहाँसम्म जाने हो ? मैले यसो नियालेर उत्तर दिएँ फिदिमसम्म हो दाइ । उनले पनि मलाई दाइ भनेर सम्बोधन गरे । उनले मेरो उमेर विचार गरेर दाइ भने वा त्यतिकै । मैले चाहिँ उनलाई राम्रोसँग नियालेर र उनको उमेर पनि राम्रोसँग विचार गरेर अन्दाजी दाइ भनेको थिएँ । उनले पहिले दाइ भनेर सम्बोधन गरेपछि मैले भाइ भन्नुपथ्र्याे । मैले भाइ नभनी दाइ नै भनेर सम्बोधन गरेँ । मैले उनको उमेर विचार गरेरै अन्दाज गरेको थिएँ । भरे गाडीभित्र पस्दा त हाम्रो सिटसँगै परेछ । उनले फेरि भनेँ– दाइ तपाइँ यतापट्टि बस्नुहोस् म झ्यालको छेउपट्टि बस्नुप¥यो । पहाडको बाटो फेरि यात्रा लामो छ । मलाई त बान्ता आउला जस्तो पो हुन्छ त ।

यो पटक मैले उनलाई नियालीरहिन् । बान्ता आउला जस्तो हुन्छ भनेपछि भरे लुगा पो बिगारिदिने हुन् कि भन्ने डरले चुपचाप झ्यालपट्टिको सिट उनलाई छोडिदिएँ । आ–आफ्नो सिटमा बसिसकेपछि गफ चल्न थाल्यो । म पनि गाडीमा बसिसकेपछि चुप लागेर बस्न नसक्ने । उनको पनि बानी त्यही रहेछ, गफ लाउन थाले । भरे गफ गर्दै र चिनापरिचय गर्दै जाँदा त उनी म भन्दा तीन–चार वर्षले जेठा रहेछन् । तै पनि गफ गर्दै जाँदा बेला–बेला मलाई उनी दाइ नै भनिरहन्थे ।

एक पटक धनकुटाबाट धरानतर्फ आउँदै थिएँ । मेरो छेउको सिट धनकुटाबाटै खाली थियो । बस्ने मान्छे नआएपछि मैले त्यो सिटमा मेरो झोला राखेको थिएँ । कोही मान्छे सिट सोध्दैखोज्दै आएछन् भने चाहिँ झोला झिकिदिउँला भनेर राखेको कोही आएन । सायद कसैले सिट रोकेर राखेको होला ठाने हुन् । धनकुटाबाट गाडी छुट्यो धरानका लागि । केही तल गुठीटार आएपछि एक जना बुढा मानिस गाडी चढे । उनलाई चढाएर गाडी विस्तारै दौडन थाल्यो । उनी हुरिँदै मेरो छेउमा आएर झोला राखेको सिटतिर हातको औँलाले देखाउँदै भने– भाइ यो झोला कसको हो ? यहाँ बस्न मिल्छ ?

मैले आफ्नो झोला सिटबाट झिकेर काखमा राख्दै उत्तर दिएँ– मिल्छ किन नमिल्नु बस्नुहोस् । त्यसपछि बुढा छेउमा बसे । बसिसकेपछि मैले उनलाई राम्रोसँग नियालेँ । भाइ भन्छन् बुढा मलाई ! यसो हेर्छु मैले दाइ भन्न नसुहाउने छन् । यिनलाई पनि आफू भर्खरकै छु जस्तो लाग्दो हो । सोध्न मन लाग्यो । भत्ता खाँदै हुनुहुन्छ त बुबा भनेर सोधेँ– खाइँदैछ । अरू उमेर पुगेर पनि खान पाउँदैनन् । मैले त एक वर्ष अघिदेखि नै पो खान थालेँ । बाउले कसो–कसो एक वर्ष बढाएर बनाइदेका रहेछन् नागरिकता । त्यति फाइदा भो । गफाडी रहेछन् बुढा । यताउता हेर्दै मस्कि–मस्कि बोल्छन् । गफ झिके । उर्लाबारी हिँडेको भाइ म छोरीको घर । त्यहाँ मेरा दुईवटी छोरी बिहे गरेर दिएको छु । गफ गर्दै जाँदा बताए बुढाले हाम्रा बुबासँगका रहेछन् । हाम्रो उमेर लगभग ४० वर्षको फरक रहेछ । नाती भने पनि फरक नपर्ने । बुढाले भाइ भन्न छोडेनन् ।

एक पटक त्यस्तै भयो । झापाको दमकबाट विराटनगर जान बस चढेको । गएर सिटमा बस्ने बित्तिकै छेउको सिटमा बसेको भाइले सोध्यो– अङ्कल काँसम्म जाने ? यसो हेर्छु आफ्नै दामले भन्न सुहाउनेछ अङ्कल भन्छ । के भन्नु । म विराटनगरसम्म जाने भाइ । अनि भाइ नि त कहाँसम्म जाने हो नि ? भनेर सोधेँ म इटहरीसम्म हो अङ्कल भन्यो । फेरि अङ्कल नै भन्छ । यसो हेर्छु भतिज भन्न सुहाउने केटो छैन । कुरा गर्दै जाँदा म भन्दा एक–दुई वर्षले मात्र कान्छो रहेछ । केको भतिज भन्न सुहाउनु ! ठानेँ उसलाई पनि आफू सानै छु जस्तो लाग्दो हो नि ।

मानवीय गुण नै हो कि के हो । मानिसले आफूलाई सधैँ कम उमेरको सम्झने । दारीजुँगाको रहर हुँदाहुँदै शारीरिक अङ्गप्रत्यङ्गको विकास हुँदै शरीरको छाला चाउरी परेर लठ्ठी टेक्ने बेला भइसक्दा पनि आफूलाई भर्खरकै उमेरको ठान्ने । मलाई चिन्ने जान्नेहरू कहिलेकाहीँ भेट्दा आधिसरो मेरो टाउकाको केश फुल्न थालेको देखेर कति वर्ष पुगिस् भनेर सोध्छन् । म यति वर्ष पुगेँ भनेर भन्दिन्छु । हेर हिजोअस्तिको मान्छे भनेर आश्चर्य चकित हुन्छन् । म आफ्नो उमेर नियाल्न थाल्छु । अनि उनीहरूसँग आफ्नो उमेर नाप्न थाल्छु ।

हामी पहाडमा हुँदै मैले चाल पाउँदा खसीको मासु चालीस रूपैयाँ धार्नी थियो । धान बीस रूपैयाँ पाथी बेचेको । मकै बाइस रूपैयाँ पाथी । दुई रूपैयाँ कप चिया पाइन्थ्यो । पन्ध्र रूपैयाँ लिटर मट्टितेल थियो । तीन रूपैयाँमा साबुन आउँथ्यो । आठआनामा सलाई आउँथ्यो । पन्ध्र रूपयाँ मानो घिउ । हजार, पन्ध्र सयमा बडाबडा खसी पाइँन्थे । दश, बाह्र हजारमा छानी–छानी राम्रा–राम्रा लैना भैँसी पाइन्थे । पाँच, सात हजारमा राम्रा रङ मिलेका हल गोरू पाइन्थे । पाँच, छ हजारमा राम्रो दुहुना गाई पाइन्थ्यो । पाँच रूपैयाँ पैसा लिएर बजार गयो भने एक जनाले खर्च खाइ सकिँदैनथ्यो । अहिले सम्झँदा त्यो त कहाँ हो कहाँ । अचम्म लागेर आउँछ । आफूलाई पनि बुढो भइए जस्तो त लाग्दैनथ्यो, तर आफ्नो पनि उमेरले डाँडो काटेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here