भूकम्पबाट छियाछिया भएको भूमिमा नबस्न आग्रह

0
3

काँक्रेविहार (सुर्खेत),

गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट छियाछिया भएको जमिन छोड्न आग्रह गरिएको छ ।

वर्षायाममा पहिरोको उच्च जोखिम रहेका दर्जनाँै ठाउँ छाडेर सुरक्षितस्थलतर्फ बस्न जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटले स्थानीयलाई आग्रह गरेको हो ।

सबैभन्दा बढी नलगाड नगरपालिकाका विभिन्न बस्ती बस्न योग्य नभएको भन्दै भूगर्भविद्ले सिफारिस गरेको आधारमा सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिनुभयो । भेरी नगरपालिकाका अधिकांश स्थान बस्न योग्य नभएको भौगर्भिक अध्ययनले देखाएको उहाँले बताउनुभयो ।

भूकम्पमा सबैभन्दा बढी नलगाड–१ को चिउरी, पुवाडाँडा, नलगाड–२ को चैतेकाफल, रुमाली, अयाना, वडा नं ४ को औलभारी बस्ती जोखिममा परेका भौगर्भिक अध्ययनले जनाएको नलगाड नगरप्रमुख डम्बर रावतले बताउनुभयो । उहाँका अनुसार भेरी–१ को मैदे, चौपानी, चौरलगायत ठाउँ बस्न जोखिमयुक्त छन् ।

बारेकोट गाउँपालिका–६ को नाउली निमयारी, वडा नं ९ को लैखम, वडा नं ५ को तोलखाना, छेडागाड नगरपालिका–२ को डेटकुले, वडा नं ३ को दलितबस्ती, लिवालबस्ती, वडा नं १२ को साँगाचौर बस्ती, वडा नं १३ को बगाहा र शिवालय गाउँपालिका–२ को दुनगारा, वडा नं ३ को सीमा, वडा नं ६ को लुपपाखा, वडा नं ७ को भिउस बस्ती रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा मङ्गलबार दर्जनौँ ठाउँमा बाढीपहिरोको जोखिम रहेको भन्दै जोखिमयुक्त ठाउँमा सजर्कता अपनाउन आग्रह गरिएको छ । भूकम्पबाट छियाछिया भएको जमिन बस्न सुरक्षित नभएकाले ती स्थानका स्थानीयलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको नगरप्रमुख रावतले बताउनुभयो । “पालिकामा फेरि विपद् आएमा राहत सामग्री छैन । यसअघिको भूकम्पमा खर्च भएको रकम अझैँ पालिकाले तिर्न सकेको छैन”, उहाँले भन्नुभयो ।

भूगर्भविद्ले जोखिम भनि औँल्याएका ठाउँबारे पालिकालाई अझैँ जानकारी नदिएको बैठकमा सहभागी जनप्रतिनिधिले गुनासो गरेका छन् । छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले भूकम्पमा अस्थायी टहरा निर्माणका क्रममा सङ्घीय र स्थानीय सरकारका फरकफरक निर्देशनका कारण काम गर्न समस्या भएको बताउनुभयो । उहाँका अनुसार अस्थायी टहराको दोस्रो किस्ता अझैँ स्थानीयबासीले पाउन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here