समीकरण स्वार्थ केन्द्रित नहोस्

0
4

देशको अस्थिर राजनीतिका कारण दलहरुप्रतिको जनविश्वास र भरोसा टुट्दै गएको छ । संघीय संसदका प्रमुख दुई ठूला दलहरु बीच भएको सत्ता समीकरणको नयाँ सहमतिले ठूला दलहरुप्रतिको आशा, अपेक्षा र भरोसा टुट्दै गएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी ओली निवास पुगेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लामो संवाद गर्दै सत्ता समीकरणका लागि प्रस्ताव गरेका थिए । संविधान संशोधन लगायतका कार्यसूचीमा सहमत भएका ठूला दलहरु कांग्रेस र एमाले आलोपालो सरकारको नेतृत्व गर्न सहमत भएका हुन् । राजनीतिक स्थायित्वका लागि भन्दै उनीहरुका बीच भएको सहमति अन्ततः सत्ता बिमुख हुन नसक्ने चरित्रको प्रकटीकरण नठहरियोस् ।

राजनीतिमा मुख्य प्रतिद्वन्द्विता कांग्रेस र एमालेका बीचको समीकरण ‘स्वार्थ केन्द्रीत रहेको’ राजनीतिशास्त्रीहरुको ठम्याइ छ । प्राध्यापक कृष्ण खनालले दलहरुले जतिसुकै राजनीतिक सुधारको कुरा भने गरिरहेको भए पनि नयाँ गठबन्धन राजनीतिक अवसरवाद र उपयोगको खेल भएको बताएका छन् । उनका विचारमा यो गठबन्धन ढुक्क भएर बाँकी समय सत्ता चलाउनुभन्दा अन्य कुनै प्रयोजनका लागि भएको होइन । यद्यपि विश्लेषक तथा राजनीतिशास्त्री मिश्रित निर्वाचन प्रणालीमा गठबन्धन बन्नु अस्वभाविक नभएको बताउँछन् । राजनीतिशास्त्री कृष्ण पोखरेल पनि कांग्रेस र एमाले एकअर्काका मुख्य प्रतिष्पर्धी भएको बताउँदै उनीहरुकै बीचमा भएको सत्ता समीकरण राजनीतिक स्वार्थका लागि भएको दाबी गर्छन् । हाम्रो देशमा अभ्यासमा ल्याइएको निर्वाचन प्रणालीमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । अब संसदमा बलियो प्रतिपक्ष रहने सम्भावना देखिएको छैन, जसले गैरराजनीतिक श्रृंखलालाई बढावा दिने भय रहन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनको सरकार विश्वासको मतको सामना गर्ने पक्षमा छ । पूरा कार्यकाल यही समीकरण रहन्छ भनेर नथाक्ने नेताहरुमा देखिएको सत्ता लिप्साको यो चरित्र नक्कली शरणार्थी र सुन तस्करी प्रकरणको उपज भएको पनि ठानिँदैछ । अझ गिरीबन्धु टी इस्टेटको हदबन्दी जग्गा प्रकरणको विवादले पनि अहिलेको राजनीति तरंगित भएको ठान्नेहरुको पनि कमी छैन । त्यसै पनि विगत तीन दशकदेखि भ्रष्टाचारका काण्डहरु एकपछि अर्को सार्वजनिक भइरहेका छन् । मुद्दा उठेर पनि दोषीहरु दण्डित हुँदैनन् । त्यसकै निरन्तरताका लागि नयाँ समीकरण भएको आरोप खण्डन गर्न सफल नभए यसको औचित्य पुष्टि हुने छैन । त्यसैले व्यवस्था, राजनीतिक प्रणाली र त्यसको प्रवद्र्धन गर्दै राजनीतिक स्थायित्व, सुशासन र सम्पूर्ण विकासका निम्ति समीकरण प्रतिबद्ध रहनुपर्छ । अनि मात्र जनविश्वास जोगाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here