सभामुखद्वारा हात्ती आगमन सूचना प्रविधि केन्द्र उद्घाटन

0
6
झापा,
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मेचीनगर–४ स्थित बाहुनडाँगीमा हात्ती आगमन सूचना प्रविधि केन्द्रको आज उद्घाटन गर्नुभएको छ । केन्द्रमा ‘जिपिएस एप्स’को माध्यमबाट जानकारी सङ्कलन गरिन्छ ।
भारतबाट नेपाल प्रवेश गरेको हात्ती कुन गाउँमा डुलिरहेको छ भन्ने सूचना दिने प्रणाली सञ्चालनका लागि केन्द्र स्थापना गरिएको हो । बाहुनडाँगीस्थित छोटी भन्सारमा सो प्रविधि जडान गरिएको हो ।
सभामुख घिमिरेले डिजिटल माध्यमबाट केन्द्रको उद्घाटन गर्दै हात्ती छेक्न लगाइएको विद्युतीय घेरबारले मात्र हात्तीको क्षति रोक्न नसकिरहेका बेला यो प्रविधिको सहयोगले मानव–हात्ती द्वन्द्व न्यून गर्न सहयोग पुग्ने बताउनुभयो ।
विगतमा जस्तो हात्तीलाई तर्साउने, लखेट्ने र गोली हान्ने कार्यले नियन्त्रण नहुने प्रमाणित भइसकेको हुँदा सहअस्तित्वका आधारमा मानव–हात्ती द्वन्द्वको दिगो समाधान खोज्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
बर्दियाको ‘उज्यालो नेपाल’ र ‘समाजका लागि युवा सहकार्य’ धनगढीको सहयोगमा नेपालमै पहिलोपल्ट ‘लुना जिपिएस’ नामक मोबाइल एप्लिकेसनमार्फत हात्ती आगमनको सूचना सङ्कलन गर्ने प्रविधि झापामा भित्र्याइएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कुनै गाउँमा हात्ती प्रवेश गरेको भए सर्वसाधारणले उक्त एप्समार्फत घटनाको जानकारी दिन सक्छन् । एप्समा जानकारी राख्नासाथ कन्ट्रोल कक्षमा रहेको साइरन स्वतः बज्ने व्यवस्था मिलाइएको छ । एप्समा प्रविष्ट जिपिएस ठेगानाका आधारमा स्थानीय द्रुत उद्धार समूह (आरआरटी)का कार्यकर्ता स्थानीयवासीको सुरक्षाका लागि हात्ती रहेको गाउँमा पुग्ने व्यवस्था मिलाइएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
उज्यालो नेपालका विज्ञ रमेश थापाले हात्तीले गाउँमा पसेर मानवीय क्षति गर्न नपाओस् भनेर बेलैमा उद्धार टोलीसमक्ष जानकारी पुर्याउन लुना जिपिएस प्रभावकारी माध्यम बन्ने बताउनुभयो । इसिमोडले लुना जिपिएस एप्स निर्माणमा आर्थिक सहयोग पुर्याएको बताइएको छ ।
एप्स निर्माणमा रु १० लाख खर्च भएको वडाध्यक्ष कार्कीले बताउनुभयो । हात्ती मात्र नभएर कुनै पनि विपद्का बेला यो एप्स बढी उपयोगी हुने भन्दै उहाँले हाललाई परीक्षणका रुपमा हात्तीपीडित मेचीनगरवासीका लागि प्रयोगमा ल्याइएको बताउनुभयो ।
सर्वसाधारणले हात्ती गाउँ पसेको सूचना दिनासाथ घटनाको जानकारी नजिकको प्रहरीकहाँ समेत पुर्याइने भएकाले हात्तीबाट हुनसक्ने मानवीय वा भौतिक क्षति न्यून गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । हात्ती आगमन सूचना प्रविधि जडान गरिएको बाहुनडाँगी क्षेत्र भारतबाट नेपालमा हात्तीको बथान प्रवेश गर्ने मुख्य गौडा हो । यहाँबाट एकैपटक एक सयसम्म जङ्गली हात्ती नेपाल प्रवेश गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here