सडक निर्माण ढिलासुस्तीको विरोधमा प्रदर्शनः ‘केपी शर्मा ओली, विश्वप्रकाश शर्मा र राजेन्द्र लिङ्देन लापता !’

0
40

झापा ।

झापा जिल्लाको सदरमुकाम जोड्ने मुख्य सडक निर्माणमा चरम लापरबाही भएको भन्दै स्थानीय युवाहरूले शीर्ष नेताहरु लापता भएको तस्वीर राखेर विरोध प्रदर्शन गरेका छन् ।

बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तरगत चन्द्रगढीस्थित लेखनाथ चोकमा युवाहरूले झापाबाट निर्वाचित ‘हेविवेट’ नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको तस्वीरमा ‘लापता’ लेखेर बिरोध प्रदर्शन गरेका हुन् ।

सडक निर्माणमा ढिलासुस्ती भएको क्षेत्रबाटै शर्मा र लिङ्देन निर्वाचित भएका छन् । युवाहरूले शनिबार मात्रै लेखनाथ चोकमा धान रोपेर बिरोध जनाएका थिए । युवाहरूले विरोध जनाएपछि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल आइतबार दिउँसो बिरोध स्थलमा पुगेर सडक मर्मत सम्भारका कार्य हुने भनी आश्वासन दिएका थिए ।

सडक निर्माणका लागि शान्तिपूर्ण रुपमा दबाबमूलक कार्यक्रम गर्नुपर्ने अवस्था आएको भन्दै उनले यो सडक बनाउन भद्रपुर नगरपालिका युवाहरूको साथमा रहेको बताए ।

चार लेनको सडक निर्माणमा ढिलासुस्ती हुँदा हिउँदमा धुलो र अहिले हिलाम्मे सडकका कारण जनताले सास्ती झेल्दै आइरहेका छन् । सो सडक अन्तर्गत भद्रपुरको देउनियाँ पुलदेखि लेखनाथ चोक हुँदै भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागे पनि अझै काम सुचारु भएको छैन ।

सो सडक निर्माणको ठेक्का काठमाडौँको कन्टेक प्रालिले करिब ६० करोड रुपैयाँमा लिएको छ । २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने थियो । सो अवधिमा कम्पनीले बिर्तामोड क्षेत्रमा मात्र काम गरिरहेको छ ।

दुईपटक म्याद थप गरिसकेको निर्माण कम्पनीले ४० प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here