‘हाम्रो लभ स्टोरीपछि छोराछोरीलाई कथा जस्तै लाग्छ होला’

0
11

निश्चल र सगुन बाल्यकाल देखिका साथी हुन् । उनीहरु सानोमा एउटै टोलमा जन्मिए–हुर्किए । बाल्यकालमा तोते बोली बोल्दादेखि उनिहरु सङ्गै खेल्ने र कुद्ने गर्थे । उनीहरु अबोध बालापनमा मस्त थिए । उनीहरुलाई कहिले काहिँ भाँडाकुटी खेल्न, गीत गाउन, नाच्न र एक अर्का झगडा गरी आमालाई पोल सुनाउन अत्यन्त रमाईलो मान्थे ।

‘तिमीहरु झगडा नगरी मिलेर खेल’ आमा भन्ने गर्नुहुन्थ्यो । सानोमा उनीहरुले के चाहिँ गरेनन् होला । कहिले साईंला बाको पेन्टमा पुछर बनाइदिन्थे । कहिले जुत्ताको लेस बाँधेर घरमा आउने पाहुनालाई लडाउन तयार हुन्थे । कहिले हिलाम्मे खाल्डामा उफ्री–उफ्री कपडा फोहोर बनाउँथे । कहिले सङ्गै बसी खाजा एउटै थालीमा खाने गर्थे । उनीहरु सबै सपना सङ्गसङ्गै देख्ने गर्थे । कसैले के गर्ने भनी सोध्दा दुबैजना एकै साथ जवाफ दिन्थे ‘हामी डाक्टर बन्ने ।’

उनीहरु सानैमा सङ्गै खेलेको देखेर गाउँ टोलमा सबैले जिस्काउने गर्दथे । ‘सगुन र निश्चल कहिले छुटदैनन् पछि विवाह गर्छन क्या हो ?’ हाम्रो समाजले सिकाएको अबोध बाल मस्तिष्कमा भरिदिएको पहिलो शिक्षा । तर, उनीहरुलाई यो सबै वास्ता थिएन किन कि उनीहरु स्वतन्त्र थिए र कुनै अभिलाषा थिएन । निश्चल जिस्काउने गथ्र्याे मीठो बोलीमा ‘सगुन हामी पछि विवाह गर्ने है ?।’ सगुन पनि अबोध थिई बा–आमालाई देखेर भन्ने गर्थी ‘तिमी अफिस जानू म खाना पकाएर घरमा बस्छु नि है ।’

निश्चल पढाइमा अलिक लद्धु थियो । सगुन भने पढ्न तेज थिई । निश्चल सगुनबिना होमवर्क नगर्ने बानी बनाईसकेको थियो । उनीहरु सङ्गै स्कुल जान्थे । एउटै बेन्चमा बस्थे, टिफिन बाढेर खान्थे । अरुले जिस्क्याउँदा पनि उनीहरुलाई वास्ता लाग्दैन थियो किन भने उनीहरु प्राथमिक तहमा थिए ।

समय बित्दै गयो उनीहरु पनि हुर्किंदै गए । उनीहरुसङ्गै विभिन्न विचारहरुको जन्म हुँदै गयो । उनिहरुमा माया, प्रेम, भौतिक जगत, उमेर, रसरङ्ग, शिक्षा आदि विषयमा जानकारी बढ्दै गयो । उनीहरु माध्यमिक तहमा पढ्न थाले । उनीहरुको टीनएज भर्खरै शुरु हुँदै थियो । उनीहरु ठूला भइसकेको कारण अलिकति सामाजिक दुरी कायम हुँदै थियो । निश्चल र सगुनको मित्रतामा कुनै कमी नआए पनि उनिहरु एक अर्का सङ्ग खेल्न र सङ्गै हिँड्न छाडिसकेका थिए । अटल र असल मित्रता भने कायम भइरहेको थियो ।

उनीहरुको बारेमा टोलका महिलाहरुमा चर्चो चल्न थाल्यो ‘अब त यिनिहरु भागलान् । बा आमा पनि कति छाडा छोड्न सकेको होला?।’ तर उनीहरुलाई पनि अलिक अफ्टेरो र सकस हुन थालेको थियो । कति जनालाई उत्तर दिनु ? कतिलाई सम्झाउनु ? आफ्नो मनमा पाप नहुँदा पनि कति सहनु ? समाजले जे जानेको छ उनीहरु पढेर ठीक बेठीक छुट्याउन सक्षम थिए । त्यसैले पनि उनीहरुबीच कहिले गलत नजर र गलत प्रभाव परेन । उनीहरु खुशी साथ अघि बढे अनि सङ्गै फस्ट डिभिजनमा एसएलसी पास गरे । उनिहरु कलेजमा एडमिसन हुँदा भने साथ छुटेको हुन्छ । निश्चल आइएलटिएस (क्ष्भ्ीत्क्) तयार गर्छ र पढाइको शिलशिलामा अष्ट्रेलिया जान्छ । सगुन भने काठमाडौँ व्यवस्थापन पढ्नका लागि जान्छे । उनिहरु दैनिक घण्टौँ फोनमा बोलिरहेका हुन्थे । सायद टाढा भएर होला उनीहरुबीच मनमा कताकता माया पलाउन थाल्छ । केही दिनपछि उनिहरुको सानोको असल मित्रता गहिरो प्रेममा परिणत हुन पुग्छ ।

हुनपनि उनीहरुले एक अर्कालाई जति बुझेका थिए अन्य मा त्यो समझदारी कहाँ पाइन्थ्यो र? उनीहरुलाई साथीको भावना, दुःख–सुख सबै थाहा थियो त्यसैले पनि गफ गर्दै जाँदा एक अर्काको समीप हुन पुगेका थिए । निश्चलले शुरुमा प्रेम प्रस्ताव राख्दा सगुन छाङ्गोबाट खसेझै भएकी थिइ । तर, मनको अन्तरकुनामा उ पनि निश्चललाई माया गर्थी त्यसैले नाई भन्न सकिन । निश्चल नेपाल आएर बिहे गर्छ । अनि उनीहरुलाई सानोमा जिस्काएको अहिले सत्य भएको सम्झी सबै छिमेकिलाई धन्यवाद दिन्छन् । सानोमा निश्चलले नजानी भनेको ‘सगुन हामी पछि विवाह गर्ने नि’ वास्तवमा साँचो हुन्छ । उसको बोली प्रेम बाण सिद्ध हुन्छ । प्रेम साँचो हुन्छ र सफल हुन्छ ।

निश्चल भन्ने गर्छ ‘हाम्रो लभ स्टोरी पछि छोराछोरीलाई कथा जस्तै लाग्छ होला ।’ सगुन घोप्टिएर लजाएझैँ हुन्छे । अनि फिस्स हाँस्छे । निश्चल सबै प्रोसेस मिलाएर सगुनलाई लिएर अस्ट्रेलिया जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here