नेकपा माओवादी केन्द्रको अबको यात्रा कता ?

0
4

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विगत नौ वर्षयता पहिलोपटक संघीय र प्रदेश सरकारबाट बाहिररिनु पर्ने अवस्था सृजना भएको छ । सत्ता र शक्तिबाट यति चाँडै विमुख हुनुपर्ने होला भनी अनुमान लगाउन अप्ठ्यारो पनि थियोे । माओवादी केन्द्रका कार्यकर्ता तथा नेताका लागि र आमजनताका लागि पनि । अहिलेको अवस्थाले माओवादी केन्द्रका आम शुभचिन्तक र कार्यकर्तामा निराशा बढेको छ । धेरैलाई लाग्दो हो यो परिघटना व्यक्तिगत महत्वकांक्षा र पदप्रतिको आसक्तिको अन्त्य हो भनेर । सत्ताबाट बाहिरिनु पर्दा विपक्षीलाई विरोध गर्न सिद्धान्तको लेप लगाउन पनि शुरु भइसकेको छ ।

व्यक्तिगत महत्वकांक्षाबाट सृजित समस्यालाई सिद्धान्तको माला पहिराउने आमनेपाली कम्युनिष्टहरुको साझा रोग हो । गद्दार, अवसरवादी, मध्यपन्थी, सामन्तवादी, कठमुल्लावादी, दलाल जस्ता शब्दावलीहरूको विमतिमा पार्टी विभाजनको दुश्चक्र खेप्नु परेका दिनहरु बितेको पनि धेरै भएको छैन । फराकिलो रूपमा बुझ्दा हरेक अन्तरविरोध राजनीतिक र सैद्धान्तिक नै हुन्छन् । तथापि अहिले नेकपा माओवादीभित्रको निराशा र छटपटी विरोधीहरु विशेषतः नेकपा एमालेसँगको छिनाझप्टीलाई सैद्धान्तिकीकरण गरेबाट पुरानो रोगको पुनरावृत्ति भएको नै मान्न सकिन्छ । माओवादी केन्द्रको उद्भवलाई हेरौँ । तत्कालीन नेकपा (माओवादी)ले माक्र्सवाद, लेनिनवाद र माओवादको पथप्रदर्शनमा पददलित, भोकानाङ्गा, शोषितपीडित, राज्यको मूलधारबाट अलग्गिएका, विकासको प्रवाहबाट वञ्चितीमा परेका उत्पीडितहरूका आवाज बन्ने दाबीसहित २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धको शुरुवात गरेको थियो ।

जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, वर्गीय उत्पीडनमा परेका हेपिएका, दलिएका र विभेदको शिकार भई उपेक्षामा बाँचिरहेका जनतालाई मुक्ति दिलाउने उदघोषका साथ प्रारम्भ भएको माओवादी आन्दोलन यतिबेला शान्तिपूर्ण चुनावी प्रतिष्पर्धाको राजनीतिमा रूपान्तरित भएको छ । तर, पनि माओवादी केन्द्रका सुप्रिमो प्रचण्ड आफूमा जनयुद्धको ह्याङ्ओभर बाँकी नै रहेको जनाउ दिन्छन् । बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता कायम गर्दै संसदीय व्यवस्थाको माध्यमबाट आमूल परिवर्तन हुन सक्ने विचारका साथ अघि बढ्ने उद्देश्य बोकेको जनताको बहुदलीय जनवादलाई सैद्धान्तिक आधार मान्ने नेकपा एमालेको बाटोमा माओवादी केन्द्र आइपुगेको हो भने माओवादी केन्द्रको आफ्नो पहिचान खै ?

माओवादी सशस्त्र सङ्घर्षको लाइन छोडेर एमालेसँग गरेको एकता पनि फापेन । यसप्रति प्रचण्डमा संशय उब्जेर एकीकृत पार्टीभित्रको अन्तरविरोध तीव्र भएर पार्टी विभाजन भएको धेरै भएको छैन । यो बेलामा आफूले लिएको बाटोप्रति पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पनि अलमलमा छन् । उनलाई पश्चाताप र ग्लानि भएको हो ? नेपाली जनताको सुख–दुःखमा साथ दिने र अन्याय–अत्याचारको बिरुद्धमा सत्य र न्यायको पक्षमा दृढतापूर्वक अघि बढ्ने कसम खाएका थिए माओवादीले जनयुद्ध शुुरु गर्दा । उनीहरूले जनयुद्ध शुरु गर्दा माओवादी नेताका गुरु मानिने तर जनयुद्धका धुँवाधार विपक्षी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादीहरूलाई ‘क्यारिएरिस्ट’ अर्थात् पदमा पुग्न अवसर खोज्ने र पद प्राप्तिका लागि जस्तासुकै काम गर्न पनि तयार हुने भनेर आरोप लगाएका थिए ।

पार्टीभित्रको अव्यवस्था, माओवादीभित्र पन्पिएको दम्भ र माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओको आदर्शबाट अघि बढेको दावी गर्ने माओवादीको सादा जीवन र उच्च विचारको बद्ला सर्वसाधारण जनताभन्दा फरक ढङ्गको उच्च जीवन र व्यावहारिक पुष्ट्याइँबाट आफूले लिएको विचारलाई श्रेष्ठता प्रमाणित गर्न नसकेको माओवादीको अक्करिलो अवस्था कै कारणले माओवादी आन्दोलन परिमार्जनसहित विश्रामको निम्ति तयार भएको कटु सत्य हो । नेकपा (माओवादी केन्द्र) साङ्गठानिक रूपमा माओवादी आन्दोलनको मूल प्रवाह थियो । नेपाली कम्युनिस्ट आन्दोलन सारसङ्ग्रहवाद र संशोधनवादबाट आक्रान्त भएको निष्कर्षसहित सत्ता कब्जा गर्न शुरु गरिएको त्यो जनयुद्ध विद्रोहको मूल नेता प्रचण्ड कै शब्दमा माले वा एमाले र मोहनविक्रम सिंहको सुधारवादको बिरुद्धमा समेत थियो । उनले विर्सजनवादीको दर्जामा राखेको एमालेविरुद्ध समेत शुरु गरिएको अभियानले आज एक चक्र पूरा गरेको छ ।

नबुझेको कुरा के हो भने माओवादी आन्दोलन गलत थियो कि सही भन्ने प्रश्नको जवाफ दिन आज कसैलाई त्यति रुचिकर लाग्दैन । माओवादी केन्द्र आफैँ सारसङ्ग्रहवाद र संशोधनवाद तथा सुधारवादको चपेटामा परेको छ । वाममोर्चा र नेपाली काङ्ग्रेसको संयुक्त पहलमा सञ्चालित जनान्दोलनबाट पुनःस्थापित बहुदलीय व्यवस्थालाई साम्राज्यवादी बहुदल भनेको तत्कालीन नेकपा मोटो मशाल कालान्तरमा माओवादी हुँदै माओवादी केन्द्रमा रूपान्तरित भएको थियो । बहुदलीय प्रतिस्पर्धा र शान्तिपूर्ण आन्दोलनको बाटो अख्तियार गर्दै २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (एमाले)ले एकमना सरकार बनायो । तर, त्यही बेला पुष्पकमल दाहालको नेतृत्वमा उनको पार्टीले नेपालमा जनयुद्ध उठानको अपरिहार्यतालाई औँल्याउँदै पार्टीको समग्र सैन्य योजना तय गरेको थियो ।

प्रचण्डलाई प्रश्न छ– प्रतिक्रियावादी सत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न अग्रसर जनयुद्धको बाटो सफल भएको हो वा त्यो बाटो सही नभएर स्वाभाविक रूपमा शान्तिपूर्ण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीसम्म आइपुगेको हो ? माओवादीले शुरु गर्ने विद्रोह झापा विद्रोहको झिल्को जस्तो अल्पकालीन होइन, सम्पूर्ण राज्यसत्ता ध्वस्त पार्ने आगो जस्तो हुने घोषणा उनीहरूले गरेका थिए । दुई दशकपछि झापा विद्रोहीहरूले नेतृत्व गरेको एमालेसँग प्रचण्डहरूको एकता भयो । माओवादीको एमालेसँगको एकता दुई पार्टीबीचको साङ्गठानिक एकता बढी, वैचारिक एकता कम भएकै कारण विभाजनको शिकार हुनु परेको थियो । माओवादी पार्टीको अवस्था किन खस्किरहेको छ ? लोकतान्त्रिक धारमा अवतरित भएको मानिएकोमा प्रचण्ड आजको अवस्थामा पुगेका हुन् कि जनयुद्धको लाइन छोडेका कारण यो अवस्था सृजना भएको हो ?

नेकपा मालेका महासचिव जननेता मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलन र विशेषगरी नेपाली कम्युनिष्ट आन्दोलनको गहिरो संश्लेषण गरी कम्युनिष्ट आन्दोलनको मौलिक बाटोको खोजी शुरु गरेका थिए मालेको २०४६ सालमा सम्पन्न चौथो महाधिवेशनपछि ।

२०४९ सालको एमालेको पाँचौं महाधिवेशनमा त्यसलाई उनले जनताको बहुदलीय जनवादको रूपमा प्रस्तुत गरे । बहुदलीय प्रतिष्पर्धालाई स्वीकारी संसदीय व्यवस्थामा भाग लिएर क्रान्तिको सहजीकरणका लागि क्रान्तिपूर्व पनि कम्युनिष्टहरु सरकारमा जान सक्छन् भन्ने जबजको सार थियो । क्रान्ति पूर्व बनेका सरकारले सुधारका कामहरु गर्दै जनवादी क्रान्ति सम्पन्न गर्नुपर्छ र यसरी क्रान्ति सम्पन्न गर्ने सिलसिलामा प्रतिक्रान्तिकारीबाट हुने अवरोध हटाउन बल प्रयोग गर्नुपर्ने हुन्छ भन्ने भण्डारीको जबजको सार हो । कम्युनिष्ट आन्दोलनले धक्का खानुपर्ने मूल कारण सर्वहारा अधिनायकत्वप्रतिको गलत बुझाइ नै हो भन्ने उनको सोचाइ थियो । सर्वहारा अधिनायकत्वको प्रयोग गर्दा कम्युनिष्ट पार्टीको विपक्षमा कानूनतः कुनै शक्ति नहुनु र पार्टीभित्रको नेतृत्वको सोचाइको बिरुद्धमा उभिन सक्ने गरी अन्तरपार्टी जनवादको अति कम अभ्यास हुने परिपाटी हुनुले कम्युनिष्ट मुलुकमा व्यक्तिगत पूँजीवादको ठाउँमा राजकीय पूँजीवादको विकास हुने खतरालाई कमरेड मदनले रसिया, चीन र पूर्वी युरोपको उदाहरण दिँदै प्रष्ट पारेका थिए ।

प्रतिक्रान्तिको पक्षमा उभिएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई ध्वस्त गर्न चाहने विध्वंशकारी शक्ति बाहेक अन्य वर्ग र समुदाय माथि अधिनायकत्व लादेर मात्र क्रान्तिको निरन्तरता हुन सक्छ भनी ठान्नु विश्व कम्युनिष्ट आन्दोलनका इतिहासका भूलबाट सिक्न नचाहनु हो भन्ने उनको ठम्याइ थियो । माक्र्सवाद जडसूत्र होइन, लेनिनको भाषामा माक्र्सवाद गतिशील सृजनात्मक विज्ञान हो । माक्र्सवादले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सिकाउँछ । जर्मन कवि गोएथे भन्छन्– जीवनको रंग हरियो हुन्छ, सिद्धान्तको रंग खैरो हुन्छ । गोएथेको यो विचारलाई फ्रेडरिक एंगेल्सले आफ्ना रचनामा उदृत गरेका थिए । सिद्धान्त जीवनका लागि हो । तर, जीवन सिद्धान्तका लागि होइन ।

जीवन अघि बढ्दै जान्छ र त्यसलाई सिद्धान्तले पछ्याउँदै जान्छ । तर, माओवादीमा जीवन र सिद्धान्तबीचको यस प्रकारको अन्तरसम्बन्धको बुझाइमा स्पष्टता छैन । यो संसारभरका आम कम्युनिस्टमा हुने महारोग मध्ये एक हो । एमाले, माले लगायतका अन्य कम्युनिस्ट दलमा पनि यो रोग भेटिन्छ । संसदीय दलदलमा पस्ने हो भने निस्कन गा¥हो छ । सरकार गिराउने, पार्टी फुटाउने अभ्यास विगतमा कम्युनिष्टहरुले पनि गरिसकेकै हुन्, तर फल के पाए ? उही निराशा, उही पेलाइ र उही विसर्जन । ‘राज्यसत्ता बाहेक अरू सबै भ्रम हो’ कमरेड माओको उद्धरण आत्मसात गर्दै दीर्घकालीन सशस्त्र सङ्घर्षको थालनी गर्ने पुष्पकमल दाहाल नेतृत्वको पार्टीले नेपालमा माओवादको कुशलतापूर्वक अवतरण गरेको थियो । आफ्नो पार्टी बाहेक अस्तित्वमा रहेका अन्य सबै कम्युनिस्ट पार्टीलाई दक्षिणपन्थी अवसरवादको हिमायती ठहर गर्दै दुई दशकअघि प्रचण्डले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यसाथ दीर्घकालीन जनयुद्ध शुरु गरेका थिए । उनका लागि सत्ता सबैभन्दा बढी प्यारो छ ।

२०४३ को सेक्टर काण्डमा आफ्नै गुरु मोहन वैद्य किरणलाई पदच्युत गरेर नेकपा मोटो मशालको महामन्त्री बनेका प्रचण्ड त्यस यता २०८१ सालसम्म प्रमुख वा एक नम्बरको पदमा छन् । यसले उनको पदमोह देखाउँछ । अब प्रचण्डले के गर्ने ? माओले भने झैं प्रचण्डले आफ्नै टाउकोमा आगो झोस्ने हो । गरीबका बुकुरामा, रोल्पा, रुकुमका विकट बस्तीमा रुखासुखो खाएर जनतासँग बसेका दिनहरू केबल कथा भए आज प्रचण्ड र अन्य नेताका लागि । प्रचण्डले आफ्नै विगतका निष्कर्षहरूमा गम्भीर आत्मसमीक्षा गरी ‘कोर्स करेक्सन’ गर्न आवश्यक छ । नत्र केबल आडम्बर मात्र हुन्छन् उनका बोलीवचन र गतिविधिहरू ।तीतो लाग्न सक्छ– नयाँ संविधानको निर्माणपछि राजनीतिक रूपमा माओवादी आन्दोलनको औचित्य समाप्त भएको थियो ।

माओवादी केन्द्रका दोस्रो वरियताका नेता डा. बाबुराम भट्टराईले संविधान जारी हुने बित्तिकै माओवादी केन्द्रको औचित्य सकिएको भनेर दल त्याग गरेका थिए । तर, अहिलेलाई प्रचण्ड लगायत सबै प्रिय ‘क्रान्तिकारी’ नेताहरुले बुझ्नुपर्ने कुरा के हो भने मुलुकमा फेरि रक्तपात र हिंसाको शुरुवात हुनुहुँदैन र गर्न सजिलो पनि छैन । जातीय, क्षेत्रीय र पहिचानका नाराले फेरि सशस्त्र युद्धको भावभूमि तयार हुँदैन । हतियारको बलमा मात्र अबको क्रान्ति हुँदैन । बल प्रयोगको अनिवार्यतालाई अस्वीकार गर्न सकिँदैन, तर मात्र हतियारको बलमा राज्यसत्ता प्राप्त हुँदैन । यसमा शङ्का छैन । मुलुकलाई जातीय र क्षेत्रीय विभाजनको दुश्चक्रमा फँसाउने र मुलकलाई अस्थिरताको भुँवरीमा रुमलिन अभिषप्त पार्न त सकिएला, तर त्यसको नियति निश्चय नै राम्रो हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here