सोचको शक्ति :घोचेर होइन, सोचेर बोल्ने कला

0
2

 

मानव जीवनमा बोलीको महत्व अपार छ । हाम्रा शब्दहरूले मात्र हाम्रो विचार र भावनाहरू व्यक्त गर्दैनन्, तिनीहरूले अरू मानिसहरूको मनमा गहिरो प्रभाव पार्न सक्छन् । प्राचीन कालदेखि नै समाजले बोलीको शक्ति र प्रभावलाई महत्व दिएको छ । भनिन्छ– ‘घोचेर होइन सोचेर बोल्नुपर्छ’ भन्ने उक्ति जीवनको अमूल्य सत्य हो । बोल्नेले चाहे बिर्से पनि सुन्नेले सदैव सम्झिरहन्छ ।

घोच्ने बोलीको प्रभाव

कहिलेकाहीँ तात्कालिक क्रोध, रिस वा निराशाको आवेगमा हामी नसोची बोल्ने गर्छौं । यस्ता शब्दहरूले हामीलाई क्षणिक राहत दिन सक्छन् । तर, तिनीले अरूको मनमा गहिरो घाउ पार्न सक्छन् । घोच्ने शब्दहरूले अरूको आत्मसम्मानमा गहिरो ठेस पु¥याउँछ र सम्बन्धहरूमा दरार ल्याउँछ । घोच्ने बोलीले नकारात्मकता फैलाउँछ र सामाजिक तथा व्यक्तिगत सम्बन्धहरूलाई समेत कमजोर बनाउँदै लैजान्छ ।

सोचेर बोल्ने महत्व

सोचेर बोल्नु भनेको हरेक शब्दलाई विचापूर्वक छनोट गर्नु हो । सोचेर बोलेका शब्दहरूले अरूलाई प्रोत्साहित गर्न, प्रेरित गर्न र उत्साहित गर्न सक्छन् । सोचविचार गरेर बोल्दा, हामी अरूको मन र भावनाहरूको कदर गर्छौं र तिनीहरूको दृष्टिकोणलाई समझने प्रयास गर्छौं । यसले हाम्रो बोलीलाई सकारात्मक र रचनात्मक बनाउँछ । जब हामी सोचेर बोल्छौं, हामीले अरूको भावना र स्थितिलाई ध्यानमा राखेर शब्दहरू प्रयोग गर्छौं। जसले गर्दा तिनीहरूलाई सम्मान दिन्छौं ।

बोलीको दीर्घकालीन प्रभाव

हाम्रा शब्दहरूका प्रभावहरू कहिलेकाहीँ हाम्रो सोचभन्दा परसम्म पुग्न सक्छन् । हामीले बोलेका शब्दहरू अरूको मनमा लामो समयसम्म घाउ बनेर रहिरहन्छन् । सकारात्मक शब्दहरूले तिनीहरूको आत्मविश्वास बढाउन सक्छ, प्रेरणा दिन सक्छ र जीवनलाई नयाँ दिशातर्फ लैजान सक्छ । तर, नकारात्मक शब्दहरूले तिनीहरूको आत्मसम्मान घटाउँदै जान्छ । निराशा फैलाउँदै जान्छ र जीवनमा असफलता निम्त्याउन सक्छ । बोल्नेले चाहे बिर्से पनि सुन्नेले ती शब्दहरू कहिल्यै बिर्सदैनन् ।

सोचेर बोल्न सिक्नु

सोचेर बोल्ने कला सजिलो छैन । यसका लागि आत्मसंयम, धैर्य र समझदारी आवश्यक पर्छ । हरेक पटक बोल्नुअघि हामीले ती शब्दहरूको प्रभावबारे सोच्नुपर्छ । के ती शब्दहरूले अरूलाई चोट पु¥याउँछन् ? के तिनीहरूले सम्बन्ध सुधार्छन् वा बिगार्छन् ? यस्ता प्रश्नहरूलाई मनमा राखेर बोल्दा हामीले सोचविचार गरेर बोल्न सक्छौं । हामीले अरूको दृष्टिकोण र भावना बुझ्न प्रयास गर्नुपर्छ र हाम्रो बोलीलाई सन्तुलित बनाउनुपर्छ ।

निष्कर्ष

घोचेर होइन सोचेर बोल्नुपर्छ भन्ने सिद्धान्तले हामीलाई सजग बनाउँछ । सोचेर बोल्दा हामीले अरूलाई सम्मान गर्छौं, उनीहरूको भावना र दृष्टिकोणको कदर गर्छौं र सकारात्मक प्रभाव पार्न सक्छौं । यसले न केवल अरूलाई तर हामीलाई पनि आत्मसन्तुष्टि र आनन्द दिन्छ । सोचेर बोल्ने कला अपनाएर हामी हाम्रो जीवनलाई र अरूको जीवनलाई पनि सुन्दर र सुखमय बनाउन सक्छौं ।

यदि हामीले सधैँ सोचेर बोल्ने अभ्यास गर्यौं भने हाम्रो बोलीले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । त्यसैले हरेक पटक बोल्नुअघि एकपटक सोचौं । सोचेर बोलेका शब्दहरूले हाम्रो जीवनलाई सजिलो मात्र बनाउँदैनन्, बरु अरूको जीवनमा पनि सुखद प्रभाव पार्छन् । जीवनमा सफल र सुखी बन्न चाहने प्रत्येक व्यक्तिले यो सिद्धान्तलाई आत्मसात् गर्नुपर्छ– ‘बन्दुकबाट निक्लेको गोली अनि मान्छेको मुखबाट निक्लेको बोली फर्किन सक्दैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here