बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ

0
1

जानकी (बाँके),

जिल्लाबाट चित्तलको मासुसहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार निकुञ्जको महादेवा पोष्टको करिब दुई सय मिटर उत्तरतर्फ निकुञ्जको कोर क्षेत्रबाट थारू पक्राउ परेका हुन् । थारूसँगै वन्यजन्तुको सिकारमा सम्लग्न अन्य फरार रहेका जनाउँदै उनीहरुको खोजी भइरहेको उहाँले बताउनुभयो ।

“चोरी–सिकारी गर्ने टोलीले निकुञ्जभित्र एक राउन्ड हवाई फायर गरेका थिए । निकुञ्जभित्र गोली चलेको आवाज सुनेपछि प्रहरीको गस्ती टोली त्यहाँ पुगेको थियो”, साहले भन्नुभयो, “गस्ती टोली आएको थाहा पाएर तीनजना भागेका थिए । मोहन थारू भने चित्तलको मासुसहित पक्राउ परेका हुन् ।”

पक्राउ परेका थारूका साथबाट एक थान भरुवा बन्दुक, दुई ठाउँमा गोली लागेको ६० केजीको मृत वयस्क चित्तल र अन्य बन्दोबस्तीका सामान फेला परेको अधिकृत साहले जानकारी दिनुभयो । उहाँले अन्य सिकारीहरु घटनास्थलबाट फरार भएकाले खोजी भइरहेको बताउँदै वन्यजन्तु सिकार गर्नेहरु सबैलाई नियमानुसार कारबाही गरिने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here