पर्यटन मन्त्रालयद्वारा विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली, मन्त्री पाण्डेद्वारा घटनास्थलको निरीक्षण

0
31

काठमाडौँ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विमान दुर्घटनाका सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै दुर्घटनामा घाइते हुनुभएका विमान चालक दलका सदस्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

काठमाडौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाइन एए–एएमइ कलसाईन रहेको १९ जना सवार (चालक दलसहित) विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको धावनमार्ग ०२ बाट उडान गर्ने वित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भई १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त वायुयान दुर्घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न सरकारले आजै पाँच सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुर्घटनाको खबर पाएलगत्तै घटनास्थल निरीक्षणका साथै आवश्यक जानकारी लिनुभएको थियो । उहाँले दुर्घटनाबाट आफू र मन्त्रालय परिवारलाई मर्माहत बनाएको बताउनुभएको थियो ।

यसैबीच खानेपानीमन्त्री प्रदीप यादवले पनि आज एक शोक विज्ञप्ति जारी गरी उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा दिवङ्गत हुनुभएका प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here