‘हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बन्यो’

0
20
काठमाडौँ,
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले हवाई दुर्घटनाका कारण मुलुकको साख नै कमजोर बनेको भन्दै त्यसको कारण पत्ता लगाएर तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकको विशेष समयमा सांसद शिशिर खनालले परीक्षणका लागि कास्कीको पोखरा लैजान खोजिएको सौर्य एयरलाइन्सको जहाजमा अप्राविधिक व्यक्ति किन चढाइएको हो भन्ने प्रश्न गर्नुभयो । उहाँले पछिल्ला दिनमा हवाई दुर्घटनामा वृद्धि भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदस्थ कर्मचारीलाई कुनै जिम्मेवार नबनाइएका आपत्ति प्रकट गर्नुभयो ।
सांसद धवलशम्सेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र सेवा प्रदायक नछुट्याउँदा समस्या पैदा भएको, मुलुक कालोसूचीमा परेको बताउनुभयो ।
राष्ट्रियसभाले पारित गरेको प्राधिकरणसँग सम्बन्धित विधेयक प्रतिनिधिसभामा पेस हुन नसक्नुको पछाडिको कारण पत्ता लगाउन उहाँको आग्रह थियो । सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका संलग्न उच्च प्रहरी अधिकारीलाई दुई महिना पनि नपुग्दै सरुवा गरिएका कारण के हो भन्ने प्रश्न गर्नुभयो ।
सांसद मेटमणि चौधरीले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गर्ने उद्योगले महसुल तिर्नैपर्ने बताउनुभयो । उहाँले ठूला व्यवसायीलाई सदासयता देखाउने र साना तथा कमजोरको लाइन काटिने अवस्थाको अन्त्य कहिले हुने होला भन्ने जिज्ञासा राख्नुभयो ।
सांसद रञ्जुकुमारी झाले सौर्य एयरलाइन्सको दुर्घटनाको निष्पक्ष छानबिनको माग गर्नुभयो । “मर्मत गर्नुपर्ने जहाजमा किन असम्बन्धित व्यक्तिलाई चढाइयो ?”, उहाँले प्रश्न गर्नुभयो ।
सांसद अब्दुल खानले पछिल्लो १५ दिनमा हृदय विदारक घटना भएको उल्लेख गर्दै सौर्य एयरलाइन्स र सिमलताल दुर्घटनामा परेका नागरिकप्रति सरकारले विभेद गरेकामा गुनासो गर्नुभयो ।
सांसदद्वय गंगाराम चौधरी र  राजकिशोर यादवले पनि बस दुर्घटना र हवाई दुर्घटनामा परेका नागरिकप्रति राज्यले नै विभेद गरेको बताउनुभयो । उहाँले मर्मत सम्भारमा जान लागेको जहाजमा महिला, बालबच्चा किन राखियो भन्ने प्रश्न गर्नुभयो ।
सांसद रामप्रकाश चौधरीले खेतीको समयमा किसानले यथेष्ट मात्रामा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै गुनासो गर्नुभयो । सांसद प्रेम सुवालले मुलुकका विभिन्न वेथिती मौलाएको भन्दै जिम्मेवारीमा रहेकालाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले डेडिकेटेड र ट्रङ्क लाइनबाट बिजुली प्रयोग गरेका उद्योगलाई कुनै पनि हालतमा छुट दिन नहुने बताउनुभयो ।
सांसद नारायणप्रसाद आचार्यले देशभर अलपत्र परेका विभिन्न विकास आयोजनाको शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा विकास निर्माणका आयोजना छनोट गर्ने र कार्यान्वयनमा लैजाने गरी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद दामोदर पौडेलले कास्कीको विभिन्न स्थानमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै प्रभावितलाई क्षतिपूर्ति र राहतको प्रबन्ध गर्न माग गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here