पूर्वको मुख्य गन्तव्य पाथीभरा

0
16

साविकको मेची अञ्चलको ताप्लेजुङ जिल्लास्थित पाथीभरा मन्दिर समस्त वैदिक सनातनी हिन्दू धर्मावलम्बीहरुको मुख्य तीर्थस्थल हो । यस धार्मिक स्थलमा पुग्नु नेपालका मात्र होइन भारत र भुटानका हिन्दू धर्मावलम्बीहरुको मुख्य आकांक्षा हुने गरेको छ । हिमालको काखमा रहेको पाथीभरा मन्दिर पुग्न भने सहज छैन । वरिपरि हिमाल, बीचमा थुम्का र चुलीसम्म भरिएको पाथी जस्तै डाँडा भएकाले यस ठाउँलाई पाथीभरा भनिएको हुन सक्छ । यहाँ बर्सेनि लाखौं भक्तजनहरु पाथीभरा माताको दर्शन गर्न आउँछन् । समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको यो मन्दिर मध्य हिउँद अर्थात् पुस, माघमा हिउँले परिएर सेताम्य भएको हुन्छ ।

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा र अर्को हिमाल कुम्भकर्ण पनि सहजै देख्न सकिने भएकाले प्राकृतिक सौन्दर्यमा रमाउनेहरुको समेत गन्तव्य रहँदै आएको छ । यी दुबै महŒव बोकेको पाथीभरा यसकारण पूर्वी नेपालको पर्यटनलाई उचाल्ने प्रमुख आधार पनि हो । जिल्लाको सदरमुकाम फुङ्लिङबाट १९.४ किमी पूर्व उत्तरतर्फ रहेको यो धार्मिक स्थल समस्त हिन्दू, बौद्ध तथा किराती धर्मावलम्बीहरुको साझा र मुख्य आस्थाको धरोहर नै हो । दर्शनार्थीको भीड बढेसँगै यहाँ संकलन हुने भेटी पनि बढ्दै गएपछि यस मन्दिरको व्यवस्थापन तथा दर्शनार्थीहरुको सुविधाका लागि समिति नै गठन गरिएको थियो । पाथीभरा क्षेत्र विकास समिति (गठन) आदेश २०५३–३ अनुसार गठन भएको समितिले मन्दिरको नित्य पूजा, व्यवस्थापन तथा भक्तजनको लागि विश्राम स्थल, खानेपानी तथा बासको व्यवस्थापनको समेत काम गर्दै आएको थियो । प्रति वर्ष करोडौं रुपैयाँ भेटी र देवीलाई चढाइएको गरगहनाको व्यवस्थापन सोही समितिले गर्दै आएको थियो ।

पाथीभरा मन्दिरको व्यवस्थापन अब कोशी प्रदेश सरकारले गर्ने भएको छ । संघीय सरकारको मातहतमा रहेको समिति अब प्रदेशको मातहत रहने गरी कोशी प्रदेश सरकारले उक्त क्षेत्रको सीमा निर्धारण गर्नुका साथ समिति गठनको प्रक्रियामा पनि परिवर्तन गरेको छ । प्रमुख जिल्ला अधिकारी सम्बन्धित पालिकाका प्रमुख, समाजसेवी, बुद्धिजीवी र प्रतिष्ठित व्यक्तिमध्येबाट तीन जना सदस्य रहने नयाँ व्यवस्था अनुसार मन्दिरको व्यवस्थापन अब कसरी गरिन्छ आउने दिनले देखाउला । अत्यन्त विकट भूगोल, प्रतिकूल मौसम तथा असाध्यै चिसो हुने मन्दिर परिसरमा पुग्न पैदल नै हिँड्नुपर्ने बाध्यतालाई नयाँ बन्ने समितिले कति सहज बनाउँछ ? संकलित भेटीको व्यवस्थापन तथा मन्दिर परिसरको स्तरोन्तति खानेपानी लगायतका आवश्यकताहरुको पहिचान गरी दर्शनार्थीहरुलाई सुविधा दिनसके पूर्वको धार्मिक पर्यटनलाई अझै माथि लान सकिन्छ । यसले अन्ततः देशकै गौरव बढाउन मद्दत पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here