असामान्य भुल

0
8

अभिसाइले हाँस्दै भन्यो– नेपालीलाई केही थाहा छैन ? किन यस्ता कुरा थाहा नभएको ? म एकछिन घोरिएँ । नेपालीलाई थाहा नभएको त्यस्तो कुरा के रहेछ ! अनि फेरि उसको अनुहारतिर हेरेँ । उसको अनुहारमा खिसिटेउडीको हाँसो अझै बाँकी थियो । नभनेसम्म थाहा हुने कुरा भएन । मैले आफैँलाई नियालेँ । आफैँप्रति लक्षित पो छ कि उसको भनाइ भन्ने पनि लाग्यो । अभिसाई एउटा ठूलो इजरायली कृषक थियो । ऊ एक्लैका आठ–नौ वटा ठूला–ठूला ग्रीन हाउस थिए । फिल्डमा पनि उसले मार्बा, रोजमेरिन, कोरोनेत जस्ता जडिबुटी जन्य वस्तुको ठूलो मात्रामा खेती लाएको थियो । थाइलान्दी, इजरायलीहरू थाई कामदारलाई थाइलान्दी भन्छन् । त्यस्तै रूसीलाई रूसिया भन्छन् । नेपाली र अरबी गरि हामी कामदार निक्कै थियौँ । मैले लख काटेँ । यो घटना उसको घरको होइन । इजरायलमा त्यो बेला केयरगिभरमा काम गर्ने भनेको कि त फिलिपिना कि त रूसी नभए नेपाली हुन्थे ।

२००४/००५ तिरको कुरा हो । अभिसाइको घरमा मेतापेलेत थिएन । हिब्रु भाषामा मेतापेलेत भनेको केयर गिभरमा काम गर्ने मानिस हो । बालबाइत जस्तो मानिससँग कामको बेलामा कुरा गरी बस्ने कुरा पनि भएन । केही कुरा कहिलेकाहीँ भए पनि कामको बारेमा दुई–चार कुरा हुन्थे । अभिसाई फेरि व्यस्त मानिस थियो । आफ्नो व्यवसाय त छँदै थियो । म देख्थेँ । घर–व्यवहारले पनि उसलाई फुर्सद थिएन । बा–आमासँगै बसेको वा एउटै घर सङ्गोलमा बसेको परिवार मैले इजरायलमा अभिसाइको परिवार मात्र देखेँ । हिब्रु भाषामा बालबाइत भनेको काम दिने वा घरको मालिक हो । हामीलाई काम दिने कम्पनीको मालिक थियो ऊ । सेतो वर्ण, अग्लो कदको खुब हँसिलो–रसिलो मानिस थियो ऊ । ऊ कहिलेकाहीँ कामदार भए पनि हामीसँग पनि खुब हसी–मजाक गथ्र्यो । टाउकोमा किपा कहिल्यै नछुटाउने ऊ एउटा कट्टर यहुदी समुदायको मानिस थियो । किपा भनेको हिब्रु भाषामा टोपी हो ।

अभिसाइको कम्पनीमा मैले १७÷१८ महिना जति बसेर काम गरेँ । यतिको समय बस्दा पनि मैले उसलाई एक दिन फुर्सद देखिनँ । इजरायलीहरू आफ्नो व्यवसायप्रति झोडेर लागि पर्छन् । यस्तो लाग्छ ताल परे यिनले ढुङ्गामा पनि फूल फुलाउँछन् । माटो त यिनले गन्धले चिन्छन् । काम गर्ने मान्छे कामदार चिन्न यिनलाई काम हेर्नु पर्दैन । हात हेर्दै चिन्छन् । अझ भनौँ हिँडाइ हेर्दै चिन्छन् । देशप्रतिको माया भन्नै पर्दैन । घरमा पनि देशको झण्डा । सवारीसाधनमा पनि देशकै झण्डा राखेको हुन्छ । आफ्नो खाइजिविका, व्यवसायप्रतिको लगावमा यिनलाई हामीले एकछेउ पनि भेट्दैनौँ ।
एक पटक इजरायल पुगेको मानिसलाई थाहा भएको हुनुपर्छ देशको माया कस्तो हुन्छ भनेर । संसारमा सच्चा देशभक्त खोज्नु प¥यो भने लाग्छ एक नम्बरमा इजरायली नै हुन् । हामीमा त्यो स्तरको देशभक्ति रहे जस्तो लाग्दैन । देश प्रेमका लागि मैले इजरायलीहरूलाई सम्झी–सम्झी धेरै पटक स्यालुट गरेको छु ।

त्यतिबेला मैले अभिसाइको कुरालाई त्यति गहिरो गर लिइनँ । खासमा बेला–बेला ऊ हँसी–मजाक पनि गर्ने भएकोले । केही समयपछि तेलअभीभ गएको बेला मैले सुनेँ यो कुरा । पहिले त त्यति विश्वास लागेन । विस्तारै सोच्दै लाँदा हुन पनि सक्छ भन्ने लाग्यो । विदेशीको नजरमा जो कोही नेपाली तल पर्नु भनेको आफू पनि तल पर्नु नै हो । पहिले त कतिपय नेपालीहरू फोन चलाउन समेत नजान्ने पनि थिए । नहोला भन्न सकिएन । मेरै कुरा गर्दा पनि पहिलो पटक मेरो हातमा फोन परेको इजरायल पुगेपछि नै हो ।

त्यतिबेला नेपालमा सबै नेपालीहरूको हात–हातमा मोबाइल फोन पुगिसकेकै थिएन । एक–दुई पुग्नेहरूको पनि सिम कार्ड नपाएर बिजोग थियो । इजरायलमा पुगेर पनि कतिले त धेरैपछि मात्र जोडे मोबाइल । इजरायलमा भने नेपालमा जस्तो सिम कार्ड लिन कठिनाइ थिएन । नयाँ ठाउँ त्यहाँको वातावरण, रहनसहन र भेषभुषा बुझ्न पनि समय लाग्थ्यो । विकसित र सम्पन्न देशमा अविकसित र विपन्न मुलुकको मान्छेका लागि आश्चर्यजनक र नयाँ कुरा धेरै हुन्छन् । सानातिना र झिना–मसिना कुरामा पनि अल्मलिनु पर्ने थुप्रै विषय हुँदा रहेछन् । आफ्नै हकमा आफू पनि दुई–चार ठाउँमा अड्किएर हाँसोको पात्र नभएको भने होइन ।

त्यतिमात्र होइन । त्यतिले गर्दा खेप्नसम्मको हैरान पनि खेप्नु नपरेको होइन । छुट्टीमा मात्र होइन । दुई–चार जना साथीभाइ भेट भएपछि त्यही कुरा निस्कन्थ्यो । एकछिन् हाँसोको विषय भए पनि पछि हामी निकै गम्भीर हुन्थ्यौँ । कस्ती मान्छे होलिन् ! त्यति सानो कुरामा पनि विचार पु¥याउन नसक्ने । आफूलाई थाहा नभएको कुरा साथीसँग शेयर गरेर पनि बुझ्न सकिन्छ । सोध्न सकिन्छ । यसो एक बेला बाहिर निस्कियो । एउटाले एउटा कुरा गर्छ । अर्कोले अर्को कुरा । यसरी पनि आफूलाई थाहा नभएका धेरै कुरा थाहा हुन सक्छ । एउटाले पागल भनेपछि अर्कोले पागल भन्छ । अर्कोले पागल भनेपछि अर्कोले पनि त्यसै भन्छ भन्दाभन्दै सबैले पागल भन्न थालेपछि त्यो मान्छे पागल हुन के बेर । त्यही घटनालाई लिएर बालबाइतले उनलाई पागलको संज्ञा दिएछ । त्यही टचरले केही समय त पागल जस्तै बनिन् रे तिनी ।

२००५/००६ को कुरा । त्यतिबेला नेपालमा सब कोहीको घरमा फ्रिज हुने कुरा पनि भएन । इजरायलमा फ्रिज, लुगा धुने, खाना तताउने मेसिन, एसी आदि नभएको घर हुँदैन । नेपालमा पनि कुन दूरदराज गाउँ–ठाउँकी मान्छे हुन् । यस्ता मेशिनरी सामान चलाउनु त के सायद देखेको पनि थिएन रहेछ । इजरायलको यो घटनाले नेपालीबीच पनि निकै ठूलो खैलाबैला मच्चायो । कुन्ताको सानो देश इजरायल त नहल्लने कुरै भएन । सायद त्यहाँका पत्रपत्रिकाको अगाडि पेजमै आयो, यो घटना खबर बनेर नत्र कहाँको कुरा कसरी अभिसाइसम्म आइपुग्थ्यो र उसले मलाई बताओस् ।

केही समयपछि यसो बुझ्दा यो घटना थाहा नभएर नै भएको रहेछ । यद्यपि घटनाको प्रकृति पनि थाहा नभएर नै हुनेखालको छ । त्यतिबेला हामी सबै नेपालीको घर–घरमा फ्रिज हुने कुरा पनि भएन । १५÷१६ वर्ष पहिलेको कुरा हो । त्यो बेला सबै नेपालीको घर–घरमा केहोस फ्रिज । के हुन् मेशिनरी चिज । उपल्लो पहाड दूर–दराजकी महिला । त्यो पनि इजरायल पुग्ने बित्तिकैको कुरा । सबैलाई सबै कुराको ज्ञान एक पटक के होस् । त्यही घटनाले गर्दा उनले त्यो घरबाट काम छोडेर हिँड्नु प¥यो । नेपालबाट जाने बित्तिकैको यो नै उनले काम गर्ने पहिलो घर थियो । उनलाई त्यो असमान्य काम गरेवापत पागलपनको आक्षेप लगाएर त्यो घरमा काम नदिएर निकालिएको रहेछ । त्यसपछि उनी फ्रस्टेशनको रोगी जस्ती भइन् । कामप्रति उदासिन । एकदम नर्मस । नेपाल फर्कन पनि एजेन्सीलाई बुझाएको मोटो रकम डुब्ने डर ।

कति दिन त काममै गइनन् । आफैँ भए पनि अन्त काम खोजेर वा एजेन्सीलाई भनेर काममा जानुपथ्र्यो । नगई अपार्टमै बसिन् । सबै साथीभाइले सम्झाइबुझाइ गरेपछि मात्र केही समय पछिदेखि उनी काममा जान राजी भइन् । त्यसपछि भने गर्दै भन्दै जाँदा भाषा पनि जान्न थालिन् । कामको पनि अनुभव बटुल्दै लगिन् । कुनै समस्या भएन । खुरूखुरू काम गर्न थालिन् । उनले त्यस्तो ठूलो कुनै गल्ती गरेको त होइन । एउटा असमान्य भूल भने गरेकी रहिछन् । त्यो भुल के थियो भने फ्रिजलाई दराज ठानेर उनले फ्रिजभित्र जुत्ता राखेकी रहिछन् । यसरी उनी फ्रिजभित्र जुत्ता राख्ने गर्दी रहिछन् । बालबाइत आएर फ्रिज खोल्दा एकदिन उसले फ्रिजभित्र जुत्ता देख्यो । त्यो बेलासम्म उनलाई फ्रिज बारे केही ज्ञान रहेनछ ! त्यति फ्रिजभित्र जुत्ता राख्नाले उनले त्यो कामबाट निस्कनु परेको थियो । त्यसैले सामान्यतः हरेक नेपाली युवायुवतीहरूले मोटामोटी रूपमा आफू विदेश जानुभन्दा पहिले आफू जाने देश, आफू त्यहाँ गएर आफूले गर्ने काम र पाउने तलब आदिका बारेमा राम्रोसँग बुझेर मात्र जानु पर्छ ।

इजरायल पुगेर काम गर्न थालेको केही दिनमै काम गरेको पहिलो घर छोड्नु पर्दाको पीडाले जुन दिन उनी अपार्टमा रोइरहेकी थिइन् । केयरगिभरमा जानेले घरको सम्पूर्ण कामको बारेमा ज्ञान राख्नु पथ्र्यो । त्यो नगर्नाले उनले त्यहाँसम्मको हविगत व्यहोर्नु परेको थियो । उनले त्यो घरकी बुढी मान्छेको स्याहारसुसार गर्नुप¥थ्यो । उनले हेर्ने ती बुढी मान्छे ओछ्यानको ओछ्यान भएको वर्षौैंवर्ष भएको थियो । आफ्ना अभिभावकको स्याहारसुसार गर्न राखेको मान्छेको त्यस्तो कियर लेस देखेपछि जसलाई पनि लाग्न सक्छ कि जुत्ता त फ्रिजभित्र राख्ने मान्छेले के आफ्ना बाउ–आमाको राम्रोसँग हेरचाह गरिदेला । सायद तिनका छोराछोरीलाई त्यही लाग्यो । त्यसैले उनलाई कामबाटै निकाली दिए । विदेशमा मान्छे होइन, काम प्यारो हुने हो । कामले नै तिनको मन जित्ने हो ।

इजरायलीहरू सङ्गोलमा बस्दैनन् । बुढाबुढी भएका आफ्ना बाउ–आमालाई हेरचाह गर्ने मान्छे राखिदिएर आफूहरू अलग्गै बसेका हुन्छन् । कहिलेकाहीँ आउँने वा हप्तामा एकदिन शुक्रबार एकछिन् आएर रेखदेख गर्ने । आवश्यक वस्तुहरू किनिदिने । खर्र्च दिने र एकछिनमा फर्कने गर्छन् । उनीहरूको छुट्टै घर–व्यवहार र घर–संसार हुन्छ । बाँकी काम सबै तिनको हेरचाह गर्ने मान्छेले नै गर्ने हो । जसले आफ्नै बाउ–आमालाई जस्तै गरेर राम्रोसँग स्याहारसुसार गर्नुपर्छ । अर्काकै जीवनमा घटेको घटना भए पनि यो पनि मेरो जीवनको एउटा अविस्मरणीय क्षण नै बन्यो । आजभोलि पनि म विदेश जाने युवायुवतीको लर्को देख्दा यस्ता सानातिना भुल वा गल्तिले गर्दा कामबाटै निस्कनु परेको त्यो बेलाको तिनको त्यो क्षण सम्झने गर्छु । चिन्ता लागेर आउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here