बहुउपयोगी वनस्पति विजयसाल संरक्षणमा जुट्दै स्थानीय

0
5

गोदावरी (कैलाली),

पछिल्लो समय बहुउपयोगी वनस्पतिका रूपमा रहेको विजयसालको संरक्षणमा स्थानीय जुट्न थालेका छन् ।

चुरे शृङ्खलाको फेद र भावर क्षेत्रमा पाइने विजयसाल जनचेतना अभावका कारण घाँस, दाउराका रूपमा प्रयोग हुँदै जान थालेपछि यसको संरक्षण गर्न स्थानीयले पहल थालेका हुन् ।

कैलालीको चुरे गाउँपालिका–४ बाजुरगाडास्थित समैजी सामुदायिक वन क्षेत्रमा विजयसाल पाइने जनाउँदै स्थानीयलाई यसको महत्व बुझाएर संरक्षण अभियान थालिएको सामुदायिक वनका अध्यक्ष हेमबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रको चार दशमलव पाँच हेक्टर क्षेत्रफलमा रहेको विजयसालको संरक्षण गर्ने उद्देश्यले घाँस, दाउराका रूपमा प्रयोग गर्न रोग लगाइएको हो ।

अध्यक्ष विष्टले सामदायिक वन क्षेत्रमा रहेको विजयसालको संरक्षण थालिएको बताउँदै वन क्षेत्र बाहिर संरक्षण गर्न नसकिएको उल्लेख गर्नुभयो । वन क्षेत्र बाहिर रहेका सबरुवा संरक्षणमा स्थानीयलाई सहभागी गराउन छलफल गरी यसको महत्व बुझाएर अगाडि बढ्ने उहाँको भनाइ छ ।

विजयसालको भाँडामा राखिएको पानी पिउँदा पेटसम्बन्धी विभिन्न रोग, मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने र हाडजोर्नी दुख्ने समस्या केही मात्रामा समाधान गर्न सकिने स्वास्थ्यकर्मी बताउँछन् ।

विजयसालका भाँडामा सधैँ पानी राख्दा माथिल्लो भाग नीलो, बीचको भाग रातो र पिँधको भागको रङ पहेँलो देखिने गर्दछ । यसको विजयसालको बोक्रा, खोटो र कलिला पातबाट निकालिएको रस औषधिका रुपमा प्रयोग गरिने स्थानीय प्रेम मगरले बताउनुभयो । साथै काठबाट गाग्री, ठेकी, कचौँरा, गिलास, लोटालगायत सामग्री बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय धनगढीका अनुसार जिल्लामा कूल ६० प्रतिशत विजयसाल समैजी सामुदायिक वन क्षेत्रमा पर्दछ । लोप हुने अवस्थामा पुगेको बहुउपयोगी वनस्पति विजयसाल संरक्षणका लागि डिभिजन वनले योजना बनाएर कार्यान्वयन गर्न सरोकार भएकासँग छलफल गरिरहेको डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

स्थानीयलाई जनचेतना जगाएर यसको महत्व बुझाउनुपर्ने भन्दै उहाँले खाली स्थानमा थप बिरुवा रोप्ने विषयमा पनि छलफल गरी काम गर्ने तयारी भइरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here