ठगका अनेक जुक्तिः धितो पास गर्ने जग्गा राजीनामा पास, घटनामा संलग्न मधुकर पक्राउ गर्न प्रहरी सफल

0
70

झापा ।

बिर्तामोड नगरपालिका – ५ धर्मकाटा रोड निवासी मधुकर बस्नेतले बैंकका कर्मचारी र घरजग्गा कारोवारीहरुसंँगको मिलेमत्तोमा ठगी गर्ने गरेको खुलेको छ ।

अनुचित लेनदेन सम्वन्धि कसूरमा पक्राउ परेका बस्नेतमाथि गरिएको अनुसन्धानका क्रममा यस्तो रहस्य खुलेको हो । ललितपुरको महालक्ष्मी नगरपालिका –६ टीकाथली स्थायी घर भएका बस्नेतले केही वर्षयता झापा, मोरङ र सुनसरीका विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर ठगी गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्ण चन्दले जानकारी दिए ।

ऋण दिने वहानामा पछिल्लो समय अर्जुनधारा –६ निवासी ६० वर्षीय कृष्णप्रसाद शिवाकोटीलाई झुक्याएर बुद्धशान्ति –३ मा रहेको दुई कठ्ठा जग्गा हत्याउन सफल बस्नेतलाई प्रहरीले पक्राउ गरेसँंगै गरिएको अनुसन्धानका क्रममा उनले गरेका ठगी धन्दा सतहमा आएको हो । बस्नेतले आफ्नो उठिबास लगाएको शिवाकोटीले बताए । उनले भने– प्रहरीले ठगी गर्नेलाई पक्राउ गरेको अब चाँहि न्याय पाउने आशा पलाएको छ ।

बस्नेतले धितो पास गर्ने शर्तमा शिवाकोटीमार्फत लिएको जग्गा जालझेल पूर्ण तरिकाले राजीनामा पास गराएको प्रहरीले गरेको अनुसन्धानका क्रममा खुलेको छ । बस्नेतले ३१ लाख ९० हजार रुपैयाँमा दुई कठ्ठा जग्गा शिवाकोटीमार्फत धितो पास गर्ने शर्तमा लिएका थिए । तर, बस्नेतले सो जग्गा धितो पास गर्नुको सट्टा शिवाकोटीमार्फत राजीनामा पास गराउँदै फिर्ती कागज ४३ लाख ४० हजार र थैली ८० लाखको बनाएका थिए ।

बस्नेतलाई जग्गा पास गरिदिने शिवाकोटीले जग्गा फिर्ता गर्ने भाका आउन एक महिना अगाबै उनको खोजी गरेपनि उनी सम्पर्क विहीन भएको र बस्नेतले सो जग्गा चारपानेमा शाखा कार्यालय रहेको एनआईसी एशिया बैंकमा धितोमा राख्दै ५५ लाख २० हजार र सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –५ बाट पनि १० लाख रुपैयाँ ऋण लिएर फरार भएको खुलेको हो ।

यसअघि सोही जग्गा एनआईसी एशिया बैंकमा शिवाकोटीले धितोमा राखेर ऋण लिन खोजेका थिए । तर, बैंकले उनलाई २५ लाख रुपैयाँ मात्रै ऋण दिनसक्ने बताएको थियो । तर, सोही जग्गा धितो राखेर एनआईसी एशिया बैंकबाट नै बस्नेतले ५५ लाख रुपैयाँ निकालेसँंगै बैंकका कर्मचारी र बस्नेतको मिलेमत्तो रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पीडत शिवाकोटीले बस्नेतलाई पास गरिदिएको २ कठ्ठा १.७५ धुर जग्गा फिर्ता पाउनका लागि अर्जुनधारा– ६ मा रहेको आफ्नो घर धितो बन्धक राखी गीता लिम्बूबाट ऋण लिएर उक्त रकम फिर्ता गरेको र सुमन नेम्वाङले समेत लगेको रकम नदिएका कारण घर र जग्गा दुबै माफियाको कारण अन्यको कब्जामा हुँदा शिवाकोटीको उठिवास लागेको हो ।

सुमन नेम्वाङ घरजग्गा कारोवार गर्ने ब्यवसायी हुन् । उनैले बस्नेतसंँग चारआलीमा भेट गराउँदै बस्नेत र शिवाकोटी बीचको सम्वन्ध स्थापित गराई दिएका थिए । जिल्ला वन कार्यालय झापामा रेञ्जर पदमा कार्यरत् रहँदा शिवाकोटीलाई अवकासपछि जग्गामा रकम लगानी गर्दा मनग्य आम्दानी हुने भन्दै नेम्वाङले शिवाकोटीलाई उक्साएका थिए ।

नेम्वाङकै सल्लाह अनुसार शिवाकोटी अवकासपछि जग्गाको कारोवारमा होमिन जग्गा धितो राखेर ऋण लिँदै ब्यावसायी बन्ने सपना देखे । तर, बैंकले सोचे अनुरुप शिवाकोटीलाई ऋण नदिएपछि उनी बस्नेतसँंग ठोकिन पुगे । बस्नेतले जग्गा धितो पास गर्ने र पछि धितो फिर्ता गर्ने सर्तमा शिवाकोटीको जग्जा लिए ।

तर, बस्नेतले शिवाकोटीलाई थाहा नै नदिई धितो पास गराउनुको सट्टा राजीनामा पास गराउँदै सोही जग्गा बैंक तथा सहकारीमा राखेर बस्नेत फरार भए । बस्नेतबाट ३१ लाख ९० हजार रुपैयाँ लिएका शिवाकोटीले २०७८ साल फागुन ६ गते बस्नेतलाई ८० लाखको थैली सहित उक्त जग्गा पास गरेका थिए । सोही क्रममा उनले २०७९ साल फागुन २८ गते सम्ममा लिएको रकम चुक्ता गर्ने सर्तमा ४३ लाख ४० हजार रुपैयाँको सर्तनामा काजग गरिदिएका थिए । तर, सो मिति आउन एक महिना अगाबै बस्नेत फरार भएपछि शिवाकोटीको उठिवास लागेको हो ।

बस्नेतबाट लिएको रकम जग्गामा लगानी गर्नु पर्छ भन्दै सुमन नेम्वाङले नै कागज गरेर लगेको र अन्य थप रकम गरी ४८ लाख ५० हजार शिवाकोटीले नेम्वाङलाई दिएका थिए । तर, नेम्वाङले समेत उक्त रकम फिर्ता नगरेपछि शिवाकोटी घरको न घाटको बनेका हुन् ।

आश्चर्यको कुरा त के छ भने – बस्नेतसँंग लिएको ३१ लाख ९० हजार रुपैयाँसहित ४८ लाख ५० हजार नेम्वाङले लानु र बस्नेतलाई पनि पटक –पटक गरी ६४ लाख ३० हजार रुपैयाँ बुझाउँदा समेत शिवाकोटीले आफ्नो जग्गा फिर्ता गर्न सकेका छैनन् । जग्गा फिर्ताका लागि वडा कार्यालयमा फिर्ती कागज गरेपनि बस्नेतले जग्गा फिर्ता गरिदिने आश्वासन देखाउँदै ६४ लाख ३० हजार रुपैयाँ लगेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको हो ।

घर जग्गाविहीन बनेका शिवाकोटीले बस्नेतविरुद्ध २०८० साल पुस ११ गते जिल्ला प्रहरी कार्यालय झापामा अनुचित लेनदेन कसूरमा मुद्दा दर्ता गराएका थिए । उनकै जाहेरीकै आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय इटहरीको टोलीले बस्नेतलाई २०८१ साल साउन १६ गते इटहरीको पशुपति गेष्ट हाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

लेनदेनमा सहभागी सुमन नेम्वाङलाई समेत ठगी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता भएसंँगै २०८० साल चैत २१ गते पक्राउ गरिएको थियो । हिरासतमा रहँदा नेम्वाङले आफू राजनीतिकर्मी समेत भएकाले घटना मिलाउन पीडित शिवाकोटीलाई प्रश्ताव गरेको र सोही अनुरुप मञ्जुर भएर नेम्वाङका आफन्तहरुले उनकी श्रीमती मेनुका तामाङ नेम्वाङको ५० लाखको चेक र मेचीनगरपालिका –१४ फुलवासा खोलाको किनारमा रहेको ६ कठ्ठा जग्गा (कमसल मूल्य पर्ने) पास गरिदिने सहमतिसँंगै नेम्वाङ हिरासत मुक्त भएका थिए । नेम्वाङकी श्रीमती मेनुकाको नामबाट दिएको चेक नसाटिएको पिडित शिवाकोटीले बताए ।

बस्नेतको बठ्याई

झापा, मोरङ र सुनसरीका विभिन्न जग्गा कारोवारीहरुसंँग साँठगाठ गरी जग्गा हत्याउने र सो जग्गालाई बैंकमा धितो राखी ऋण लिने र अर्कै यक्तिलाई धितो बन्धकका नाममा रजिष्टे«सन पास गराई मिटर ब्यजामा पैसा लगाउने गरेका बस्नेतले धेरै मानिसलाई घरको न घाटको बनाई आत्महत्या गर्ने सम्मको स्थितिमा पु¥याएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको हो ।

बस्नेतले आफूले प्रयोग गर्ने गरेको फोन पटक–पटक परिवर्तन गर्दै प्रहरीलाई लामो समयदेखि झुक्याउँदै आएका थिए । बस्नेतले काठमाडौंमा प्रयोग गरेका मोवाइलहरु मोरङको केरावारीमा आफ्नी श्रीमतीलाई पठाई लोकेसन परिर्वतन गराउँदै प्रहरीलाई नै झुक्याउँदै आएको बताइएको छ ।

आफू पक्राउ पर्ने भयले हावइजहाजको यात्रामा समेत अन्य ब्यक्तिको नाममा टिकट काट्ने र यात्रा गर्ने गरेको खुलेको हो । ठगी कार्यमा माहिर रहेका बस्नेतले मुद्दाका बखतमा आँफू उम्कने प्रकारका कागजात बनाउने गरेको खुलेको प्रहरी अनुसन्धानका क्रममा पाइएको हो ।

जग्गा किनबेच तथा लेनदेनको मुद्दा सतही रुपमा देखिएपनि बैंकका कर्मचारी, मालपोतका कर्मचारीको भूमिका समेत शंकास्प्रद रहेको भन्दै उनीहरुमाथि समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here