राष्ट्रिय समृद्धिका संवाहक युवा

0
8

युवा राष्ट्रका सम्पत्ति हुन् । परिवर्तनका संवाहक हुन् । उनीहरुको सहभागिताबिना कुनै पनि प्रकारका सामाजिक, आर्थिक, राजनीतिक तथा भौतिक विकास र परिवर्तन असम्भव हुन्छ । त्यसैले उनीहरुलाई सबल, सक्षम, आत्मनिर्भर र प्रतिष्पर्धी बनाउँदै न्यायपूर्ण, समतामूलक र समृद्ध नेपाल निर्माण गर्न युवाशक्ति अनिवार्य हुन्छ । त्यसका लागि युवा लक्षित शिक्षा, सिप आजको आवश्यकता हो । जसले युवालाई सक्षम, आत्मनिर्भर बनाउन सहयोग गर्छ ।

युवा देशका अभिन्न अङ्ग हुन् र सम्पूर्ण विकासका आधार हुन् । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका युवालाई सम्बोधन गर्दै उनीहरुको ऊर्जा सिर्जनशीलता र सिपलाई प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको छ । युवाशक्तिलाई पूर्ण र उचित उपयोग गर्न सकिए कुनै पनि देशको द्रुत विकास गर्न सकिन्छ भनेरै नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिएको हो । तर, त्यसका लागि सरकारको नीति, कार्यक्रम आवश्यक हुन्छ जसले युवालाई विदेश पलायन हुनबाट रोक्न सकियोस् ।

युवा दिवस मनाइरहँदा हाम्रो देशबाट युवाहरुको पलायनको चित्र कहालीलाग्दो छ । उचित शिक्षा, अवसर तथा रोजगारीको अभावमा प्रत्येक वर्ष लाखौं युवाशक्ति पलायन भइरहेका छन् । यतिबेला ग्रामीण क्षेत्रहरु युवाविहीन छन् । जन्ती, मलामी नभेटिने अवस्थामा पुगेको हाम्रो समाजमा उनीहरुलाई देशमै रोक्न सरकारले विशेष अभियान नै सञ्चालन गर्नुपर्छ । शिक्षा र रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमै रोकी उनीहरुलाई रोजगारीको अवसर सृजना गरिनु पर्दछ । प्रविधियुक्त शिक्षा, सिप प्रदान गर्दै क्षमता अनुसारको रोजगारीको प्रत्याभूति गरिनु पर्दछ । त्यसो भएमात्र युवाशक्ति, जोश र सृजनशीलतालाई देश विकासमा उपयोग गर्न सकिन्छ । अनि मात्र देशमा युगान्तकारी परिवर्तन सम्भव हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here