भद्रपुर मिनी म्याराथन: महिलातर्फ समीक्षा र पुरुषतर्फ करण प्रथम

0
9

झापा ।

भद्रपुर तेस्रो खुल्ला यूथ मिनी म्याराथनमा महिलातर्फ समीक्षा शेर्मा र पुरुषतर्फ करण राउत प्रथम भएका छन् ।

स्थानीय पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुर नगर युवा परिषद्ले सोमबार बिहान आयोजना गरेको मिनी म्याराथनमा नेपाली सेनाकी समीक्षाले १० किलोमिटर दौड ३६ मिनेट २४ सेकेन्डमा र राष्ट्रियस्तरको एथलेटिक्स खेलाडी करणले १५ किलोमिटर दौड १ घण्टा ५ मिनेटमा पूरा गरेका थिए ।

त्यस्तै प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी धनकुमारी मगर द्वितीय, पुष्पा लिम्बु तृतीय र आकृति लिम्बु चौथो भएकी थिइन् । त्यसैगरी पुरुषतर्फ सरोज सिंह द्वितीय, नेपाली सेनाका अञ्जन राई तृतीय र सुदिप लुम्बा चौथो भएका छन् ।

प्रथम, द्वितीय, तृतीय र चौथो हुनेहरूलाई क्रमशः ११ हजार, ७ हजार, ५ हजार र ३ हजारले पुरस्कृत गरिएको थियो । साथै उत्कृष्ट हुने खेलाडीहरूलाई चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह र ज्येष्ठ नागरिक समूहले पनि सम्मान गरेका थिए ।

दौडमा सहभागी १०८ जनालाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । नगर युवा परिषद्ले यस पटक पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि किचकबधदेखि चन्द्रगढसम्म केन्द्रबिन्दु बनाएर दौड गराएका थिए । पुरुषहरूले किचक बध सुरु गरेको दौड सूर्यनगर, चारआली, सगरमाथा चोक, ज्ञानेचोक, झापाचोक, भानुचोक, अस्पताल मोड, क्याम्पस मोड, ट्रेड युनियन चोकबाट धनुष मोड हुँदै चन्द्रगढी सामुदायिक उपभोक्ता वन समूहको कार्यालय अगाडि पुगेर समापन गरेका थिए ।

त्यस्तै महिलाहरूको दौड झापा चोकबाट सुरु भई सोही रुट अनुसार उपभोक्ता वन समूहको कार्यालय अगाडि पुगेर समापन भएको थियो । कार्यक्रममा बोल्दै नगर युवा परिषद्का अध्यक्ष तथा नगर प्रमुख गणेश पोखरेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्थानीय पर्यटकीय स्थलहरूको प्रवर्द्धनका लागि मिनी म्याराथनको आयोजना गरिएको बताए ।

‘यहाँका ऐतिहासिक पर्यटकीय स्थलहरू नै नगरको पहिचान हो,’ नगर प्रमुख पोखरेलले भने, ‘यसको प्रवर्द्धन र संरक्षण हामी सबैको दायित्य हो ।’

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, भद्रपुर झापा गोल्डकपमा अध्यक्ष दीपेश ढकाल, चन्द्रगढी सामुदायिक उपभोक्ता वन समूहका अध्यक्ष दुर्गा भट्टराई, प्रहरी कार्यालय झापाका एसपी मिलन केसी, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी कवीन्द्र राई लगायतको सहभागिता रहेको नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here