शिक्षिका सावित्रादेवीको पहिराले पुरिएर मृत्यु

0
4
खोटाङ,
रावाबेँसी गाउँपालिका–३ लामीडाँडामा सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी नेवारको पहिराले पुरिएर मृत्यु भएको छ । लामीडाँडास्थित आफ्नै घरबाट विद्यालय जाने क्रममा वडा कार्यालय नजिकै सडकमाथिबाट झरेको पहिराले पुरिनुभएकी ५७ वर्षीया शिक्षिका सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको हो ।
विद्यालय पुग्न करिब एक सय ५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिराले पुरिनुभएकी शिक्षिका सावित्रादेवीलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गर्नेक्रममा डेढ घण्टापछि मृत फेला पारेको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनुभयो । “घटना भएको ठाउँमा निरन्तर पहिरो झरिरहन्थ्यो । उहाँ (शिक्षिका सावित्रादेवी नेवार) त्यही सडक भएर विद्यालय आवतजावत गर्नुहुन्थ्यो ।
आज उहाँ विद्यालय जाँदै गर्दा सडकमाथिबाट झरेको पहिराले पुरिनुभएको रहेछ”, उहाँले भन्नुभयो, “घटना भए लगत्तै स्थानीय बासिन्दा र प्रहरी उद्धारमा खटाइयो । तर, उहाँलाई जीवितै उद्धार गर्ने प्रयास सफ भएन । डेढ घण्टापछि पहिरो पन्छाएर उहाँको मृत शरीर फेला पा¥यौँ ।”
पहिरामा शिक्षिका सावित्रादेवीभन्दा अगाडि पछाडि सँगसँगै यात्रामा रहेका भागेर ज्यान बचाउन सफल भएको प्रत्यक्षदर्शीले बताएका छन् । वडा कार्यालयभन्दा उत्तरतर्फ लामीडाँडा विमानस्थल र रभुँवाघाट जाने दुई वडा सडकमध्ये लामीडाँडा विमानस्थल जाने सडकमुनिबाट झरेको पहिराले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।
विद्यालय जाँदै गर्नुभएकी शिक्षिका सावित्रादेवीको पहिराले परिएर मृत्यु भएपछि पठनपाठन अवरुद्ध भएको छ । पहिराले पुरिएर ज्यान गुमाउनुभएकी शिक्षिका सावित्रादेवीको शव सर्जमिन मुचुल्का गरेर परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।
विसं २०५७ देखि त्यस विद्यालयमा कार्यरत शिक्षिका सावित्रादेवी केही महिनापछि अनिवार्य अवकास हुने तयारीमा हुनुहुन्थ्यो । एक छोराकी आमा शिक्षिका सावित्रादेवी आफ्नै घरमा नातिनीसँग बसेर उक्त विद्यालयमा शिक्षण गर्दै आउनुभएको थियो ।
लाडीडाँडाका अकलबहादुर मगरसँग प्रेम विवाह गर्नुभएकी शिक्षिका साबित्रादेवीको छोरा रविन मगर चार महिनाअघि शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहमा नाम निकालेर शिक्षण पेसामै आबद्ध हुनुहुन्छ । शिक्षिका सावित्रादेवीको श्रीमान् अकलबहादुरको भने निजामती सेवाअन्तर्गत नायब सुब्बा पदबाट अनिवार्य अवकाश हुनुभएको केही वर्षपछि क्यान्सर रोगका कारण मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here