विभिन्न कार्यक्रम गरी देशभर मनाइयो गाईजात्रा

0
2
काठमाडौँ,
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्व उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवङ्गत आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सीपल्ट जयबागेश्वरीमा रोपाइँजात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट जयवागेश्वरीमा खड्ग जात्रा मनाउने गरिएको छ । यसैगरी अन्य स्थानमा विभिन्न नामले गाईजात्रा मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने यो पर्व मल्लकालेखि शुरु भएको हो ।
एक वर्षयता दिवङ्गत भएका आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको छ ।
गाईजात्राका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी र साजसज्जाका साथ गाईको भेषमा बालबालिकाको ¥याली निकालिएको थियो । यस्तो झाँकी हेर्न सडकको नरनारीको उल्लेख्य उपस्थिति थियो ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ मनाइन्छ । मृत्यु भएकाको सम्झनामा नगरपरिक्रमा गर्नाले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको ऐतिहासिक तथ्य छ । त्यति गर्दा पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनकता हुन्छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।
जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय मानिन्छन् ।
आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गरिन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित हुने गरेको छ ।
यो पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा लगायतका शहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा  काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here