बिर्तामोडबाट एक जना थुनुवा हतकडी फुस्काई फरार भएपछि…

0
46

बिर्तामोड ।

झापाको बिर्तामोडबाट लागूऔषध मुद्धामा पक्राउ परेका एक थुनुवा फरार भएका छन् ।

उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएका थुनुवा हतकडी फुस्काई फरार भएका हुन् ।

पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री भई हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय बिशाल राई हतकडी फुस्काई फरार भएका हुन् ।

हातमा कसिलो भयो थोरै खुकुलो बनााईदिनुहोस् भन्दै उनले प्रहरीलाई आग्रह गरेका थिए । उनको आग्रह अनुसार हतकडी खुकुलो बनाएपछि उनले हात निकाल्न सजिलो भएको जनाइएको छ ।

लागूऔषध मुद्धामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टको कमाण्डमा खोजतलास भइरहेको जनाइएको छ । हतकडीसहित थुनुवा फरार हुँदा समेत प्रहरीले सुइँको नपाउँदा बिर्तामोड प्रहरीको सुरक्षा ब्यवस्थामाथि नै प्रश्न खडा भएको छ ।

गत भदौ २ गते बिर्तामोड–१ पश्चिम बसस्टेन्डमा शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनको साथबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

पाँच दिन म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको थियो । बिर्तामोडमा पछिल्लो समय चोरी तथा लागूऔषधका घटनामा वृद्धि भएको छ ।

बिर्तामोडमा भइरहेको अपराधका विषयमा प्रहरी संवेदनशील नबन्ने गरेको जनगुनासो बढ्दै गएका बेला अस्पतालबाटै हतकडी फुस्काई फरार हुँदा समेत प्रहरीले सुँईको नपाएको भन्दै प्रहरी नायब उपरीक्षक विष्टको आलोचना शुरु भएको छ ।

बिर्तामोडबाट थुनुवा फरार भए लगत्तै जिल्लाभर खोजी कार्यलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here