अर्जुनधारा जलेश्वर धाम र किच्चकबध क्षेत्रको प्रबद्र्धन गर्न भ्रमण

0
6

अमित खम्बू
अर्जुनधारा ।

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाम व्यवस्थापन समितिको आयोजनामा बिहीबार एक दिने धार्मिक एवम् पर्यटकीय स्थल अवलोकन भ्रमण सम्पन्न भएको छ ।

समितिका सचिव कृष्णप्रसाद भट्टराई, कोषाध्यक्ष मनोज जोशी र धामका मूलअर्चक अग्निप्रसाद सिग्देल नेतृत्वको टोलीले झापाको भद्रपुर–२ र ३स्थित धार्मिक एवम् ऐतिहासिक क्षेत्र किच्चकबध र देशकै होचो ठाँउ कचनकवल–४स्थित कचनकवल स्तम्भ क्षेत्र (समुन्द्र सतहबाट ५८ मिटर)को अवलोकन गरेको थियो ।

महाभारतकालिन इतिहाससँगै जोडिएको अर्जुनधारा जलेश्वर धाम र किच्चकबध क्षेत्रको महत्वलाई प्रबद्र्धन गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको धामका मूलअर्चक सिग्देलले जानकारी दिए । “दुवै क्षेत्रमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि अनिवार्य रुपमा दुवै क्षेत्रको भ्रमण गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न पनि हामीले यो भ्रमणको संकल्प गरेका हौं ।”–उनले थप स्पष्ट पारे ।

यता अर्जुनधारा जलेश्वर धामलाई मुख्य केन्द्रविन्दुमा राखेर अर्जुनधारा नगरपालिकाभित्रका विभिन्न धार्मिक तीर्थस्थलहरुलाई जोड्न धाम व्यवस्थापन समितिले शुरु गरेको ‘धार्मिक सर्किट’लाई पनि यस प्रकारको भ्रमणले सहयोग पुग्ने समितिका कोषाध्यक्ष जोशी दावी गर्छन् ।

समितिका सदस्य भूपेन्द्र शिवाकोटी, धाम अन्र्तगत रहेको अर्जुनधारा संस्कृत विद्यापीठका ध्यान शिक्षक चिरञ्जिवी ढुंगाना, पतञ्जली योग समिति अर्जुनधाराका अध्यक्ष भानु जोशी, पातञ्जल योग समिति अर्जुनधाराकी उपाध्यक्ष चन्दा तामाङ ढुंगेल, धामका कार्यालय सचिव विष्णु भट्टराईलगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी टोलीमा पतञ्जली योग समिति र पातञ्जल योग समितिका पदाधिकारी तथा सदस्यहरुसँगै धामका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो । टोलीले बा¥हदशी–६ साधुकुटीस्थित गौरीशंकर शिवालय मन्दिरको पनि अवलोकन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here