जनताका मुद्दा सम्बोधन गर्न सङ्घर्ष जरूरी छ : अध्यक्ष यादव

0
6
काठमाडौँ,
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनचाहनालाई सम्बोधन गर्न पार्टीले सङ्घर्ष गर्ने बताउनुभएको छ  ।
पार्टीको बागमती प्रदेश समितिले आज यहाँ आयोजना गरेको जनतासँग जसपा नेपाल अभियान अभिमुखीकरणको उद्घाटन गर्नुहुँदै उहाँले अभियानको समापनसँगै जनतालाई साथमा लिएर सडक सङ्घर्षमा जाने उल्लेख गर्नुभयो । “जनतालाई अधिकार सम्पन्न बनाउन पुनः जनताका मुद्दा लिएर घरदैलोमा पुग्छौँ, परिवर्तनको सङ्घर्षमा होमिन अपिल गर्छौं”, उहाँले भन्नुभयो ।
अध्यक्ष यादवले सङ्गठनलाई चुस्तदुरुस्त र बलियो बनाउन, उत्पीडित समुदायको हक अधिकारको पैरवी गर्ने उद्देश्यले अभियान सुरू गर्न लागिएको जानकारी दिनुभयो । यसैगरी उहाँले संविधानलाई समयसापेक्ष परिमार्जन गर्न अपरिहार्य रहेको र सबै राजनीतिक दलको समझदारीबाटै त्यसलाई अगाडि बढाइनुपर्ने धारणा राख्नुभयो । क्षेत्र, जनसङ्ख्याको आधारमा राज्यका निकायमा सहभागी गराउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा कार्यकारिणी समिति सदस्य राजकिशोर यादव, गोविन्द चौधरी, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, लीला सिटौलालगायतले आफ्नो धारणा राख्नुुभएको थियो ।
जसपा नेपालले आजबाट सङ्गठन विस्तारको चार महिने अभियान शुभारम्भ गरेको छ । पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्ने लक्ष्यसहित आगामी मङ्सिर मसान्तसम्म आधारभूत सङ्गठन निर्माण अभियान सुरू गरिएको जसपाले जनाएको छ । चार महिने सङ्गठन निर्माण अभियानका लागि केन्द्रीय सदस्यलाई सम्बन्धित क्षेत्रमा खटाइएको छ । अभियान सञ्चालन गर्न समयावधि निर्धारण गरी केन्द्रीय सदस्यलाई प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा, बुथलगायत स्थानीयस्तरमा अभियान सञ्चालन गरिनेछ ।
प्रदेशस्तरीय अभियान तालिकानुसार भदौ १५ मा जनकपुर, १६ मा वीरगञ्ज, १८ मा विराटनगर, १९ गते पोखरा, २३ गते भैरहवा, २४ गते नेपालगञ्ज र २५ गते धनगढीमा कार्यक्रम हुनेछ । प्रदेशस्तरीय कार्यक्रम सकेर स्थानीयस्तरको कार्यक्रम सञ्चालन हुनेछ । देशव्यापी रूपमा हुने जनपरिचालन अभियानमा सदस्यता वितरण, सङ्गठन निर्माण र परिचालन, प्रशिक्षण, सेमिनार, गोष्ठी, जनसभालगायत आवश्यक कार्यक्रम तय भएको जसपा नेपालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here